पशुपतिनाथको भण्डारमा रहेको भगवान्को कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, शङ्खलगायत पुरातात्विक महत्वका सामग्री पशुपति क्षेत्रमा सर्वसाधारणका लागि देखाइएको छ ।भण्डारमा रहने यी सामग्री प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन एक दिनमात्र हेर्न इच्छुक सर्वसाधारणलाई देखाइन्छ । अनादिकालदेखिका यी सामग्री बाला चतुर्दशीको भोलिपल्ट अर्थात् औँसीका दिन देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।
त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न आएका काठमाडौँ उपत्यका बाहिरका भक्तजन बाला चतुर्दशीका दिन बिहान शतबीज छरेर औँसीका दिन बिहान धार्मिक, पुरातात्विक एवं ऐतिहासिक र सांस्कृतिक महत्वका यी सामग्री हेरेरमात्र फर्कने हुँदा त्रयोदशीदेखि औँसीसम्म नै पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्छ ।पशुपतिनाथ मूल मन्दिरको पश्चिम मूलढोका अगाडि राखिएका ती सामग्री सुरक्षा निकाय एवं कोषका कर्मचारीको सहयोगमा दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । दर्शन गराएपछि आजै ती सामग्री भण्डारमा राखिन्छ ।
यो पनि – मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया
नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । काठमाडौँको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्रलगायत विभिन्न संस्थाको सहयोगमा मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।
कावासोती–१६ मा रहेको मध्यबिन्दु जिल्ला अस्पतालमा चार दिनसम्म सञ्चालन गरिएको शिविरबाट मोतियाबिन्दुका बिरामी लाभान्वित भएका रोटरी क्लब अफ कावासोतीका अध्यक्ष जीवन सापकोटाले जानकारी दिनुभयो । जिल्लाको आठवटै स्थानीय तहबाट आएका आँखाको बिरामीको परीक्षण गर्दा मोतियाबिन्दु भेटिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको सापकोटाले बताउनुभयो । आँखाको परीक्षण गर्न आएका एक हजारभन्दा बढीको बिरामीमध्ये करिब २०० मा मोतियाबिन्दुको समस्या देखिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
“शिविरमा आँखा परीक्षण गर्न आउँदा मोतियाबिन्दु देखिएका सबै बिरामीको शल्यक्रिया गर्न सकिएन”, अध्यक्ष सापकोटाले भन्नुभयो, “उहाँहरुको स्वास्थ्य समस्याका कारण हाललाई शल्यक्रिया गर्न नसकिएको हो ।” तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका लिना बज्राचार्यको नेतृत्वमा आएको नेत्र रोग विशेषज्ञ डा अनिमा देसार, डा क्षितिज जङ्गलगायत १५ को समूहले बिरामीको आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया गरेको थियो । रोटरी क्लबले आउँदा वर्षहरुमा पनि निःशुल्क आँखा परीक्षण र मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया कार्यक्रमलाई निरन्तरता दिनका लागि तिलगङ्गा आँखा प्रतिष्ठानसँग प्रस्तावसमेत गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।
आँखा परीक्षणका लागि पुगेका बिरामीको निःशुल्करुपमा मधुमेह परीक्षण, रक्तचाप परीक्षण, कोभिड–१९ को परीक्षण तथा आवश्यकताअनुसार निःशुल्करुपमा औषधि तथा चस्मा पनि प्रदान गरिएको थियो । आँखा शिविरको उद्घाटन कार्यक्रम रोटरी डिष्ट्रिक ३२९२ का पूर्वगभर्नर रवीन्द्र पियाले मानवीय अङ्गमध्ये आँखा संवेदनशील भएकाले यसको सुरक्षाको लागि सचते हुनुपर्ने बताउनुभयो । आँखामा केही समस्या देखिएमा जथाभावी औषधिको प्रयोग गर्न नहुने भन्दै पियाले तुरुन्तै आँखा रोग विशेषज्ञलाई देखाउनुपर्ने बताउनुभयो ।
–––



प्रतिक्रिया