राप्रपाः नयाँ कार्यसमितिका लागि मतदान सुरु

राप्रपाः नयाँ कार्यसमितिका लागि मतदान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतदान सुरु भएको छ । यही मङ्सिर १५ देखि सुरु भएको महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । सभागृहमा शुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिनुभएको छ । बाँकी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्ने व्यवस्था छ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला हुनुपर्ने व्यवस्था गरिएको छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । निर्वाचनका लागि देशभरबाट करिब चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् ।

पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो पक्षको नेतृत्व चयनका लागि मतदातासँग आग्रह गरेका छन् । निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मतदानको व्यवस्था छ । अध्यक्ष पदको परिणाम आउन केही समय लाग्ने भए पनि विद्युतीय मतदानको परिणाम आजै रातिसम्म आउने अपेक्षा गरिएको छ ।

यो पनि – पशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष प्रदर्शन

पशुपतिनाथको भण्डारमा रहेको भगवान्को कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, शङ्खलगायत पुरातात्विक महत्वका सामग्री पशुपति क्षेत्रमा सर्वसाधारणका लागि देखाइएको छ ।भण्डारमा रहने यी सामग्री प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन एक दिनमात्र हेर्न इच्छुक सर्वसाधारणलाई देखाइन्छ । अनादिकालदेखिका यी सामग्री बाला चतुर्दशीको भोलिपल्ट अर्थात् औँसीका दिन देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न आएका काठमाडौँ उपत्यका बाहिरका भक्तजन बाला चतुर्दशीका दिन बिहान शतबीज छरेर औँसीका दिन बिहान धार्मिक, पुरातात्विक एवं ऐतिहासिक र सांस्कृतिक महत्वका यी सामग्री हेरेरमात्र फर्कने हुँदा त्रयोदशीदेखि औँसीसम्म नै पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्छ ।पशुपतिनाथ मूल मन्दिरको पश्चिम मूलढोका अगाडि राखिएका ती सामग्री सुरक्षा निकाय एवं कोषका कर्मचारीको सहयोगमा दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । दर्शन गराएपछि आजै ती सामग्री भण्डारमा राखिन्छ ।