वाग्मती, १८ मङ्सिर (रासस) : जिल्ला प्रशासन कार्यालय मकवानपुरले बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्पनीका व्यवस्थापक र एक सप्लायर्सलाई प्रचलित कानून बमोजिम जनही रु १० हजार जरिवाना गराउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
कम्पनीले म्याद नाघेको सिटिसी नाम उल्लेख र अन्य नाममा चिया प्रशोधन गरी ‘रेड लेवल व्राण्ड’का रुपमा बजारमा बिक्री गर्ने तयारीको चिया भण्डारण गरेर राखेको थियो । प्रशासनले सो जानकारी प्राप्त गर्ना साथ कम्पनीमा अनुगमन गरी शिलबन्दी गरेको थियो । प्रशासनका अनुसार सन् २०१९ मा उत्पादित चियापत्तिको उपभोग्य अवधि सन् २०२० को जुन महिनासम्म मात्र थियो । गतभदौ १५ गते जिप्रकाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रहरीसहितको टोलीले सो चियापत्ति नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरेको थियो ।
यो पनि – झापामा डेङ्गुका नौ बिरामी फेला
झापा, १८ मङ्सिर (रासस) : विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना डेङ्गुका बिरामी फेला परेका छन् । विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चार जना फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा देखिएको छ । हाल उनीहरु विर्तामोडमा रहेको विर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन् । मनमोहन अस्पतालका डा शुवेश शौरवले दश दिनको अन्तरालमा अस्पतालमा १० डेङ्गु रोगीको उपचार भएको जानकारीदिनुभयो ।
विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका डेङ्गु रोग फोकल पर्सन तुलसी पोखरेलका अनुसार वडा नम्बर ४ को रमाइलो टोलस्थित सिदार्थ होटल आसपास क्षेत्रमा बढी डेङ्गुको सङ्क्रमण देखिएको छ । उहाँले विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदुरमा डेङ्गुको सङ्क्रमण देखिएको बताउनुभयो । डेङ्गु रोगी देखिए लगत्तै घरदैलोमार्फत नगर क्षेत्रमा डेङ्गु रोग लाग्ने लार्भा फेला नष्ट गर्ने अभियानमा स्वास्थकर्मी र जनप्रतिनिधि सक्रिय रुपमा लागि परेको बताउनुभयो ।
मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा मात्र चार जना डेङ्गुका बिरामी फेला परेको छ । पालिकाको स्वास्थ्य शाखाकी डेङ्गु फोकल पर्सन सविता सापकोटाले छिटफुटमा डेङ्गुका सङ्क्रमित देखिएँसगै नगरपालिकाले लामखुट्टेबाट हुने डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनासहितको अभियान धमाधम गरिरहेको बताउनुभयो ।
उहाँले विगतमा भदौ असोज महिनामा मात्र देखिने यो रोग यसपालि मङ्सिर महिनामा बढी देखिएको बताउनुभयो । पोथी जातका लामखुट्टेले ससाना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । सो जमेको पानीको पहिचान गर्दै सबै पालिकाकाले डेङ्गुको लार्भा नष्ट गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका र कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिकामा अभियान सञ्चालन भइरहेको छ । उहाँले तराईको जिल्ला भएका कारण झापा डेङ्गु रोगको उच्च जोखिममा पर्ने बताउनुभयो । उहाँले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यसम्बन्धी काम गर्ने अख्तियारी प्रदान गरेकाले हाल आवश्यक परेको बेला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग मात्र गर्ने सक्ने बताउनुभयो ।
कार्यालयसँगै डेङ्गु रोगीको तथ्याङ्क नभएको बुझिएको छ । उहाँले भन्नुभयो, “पालिकामै बजेट आउँछ, सचेतनामूलक कार्यक्रम पालिकले नै गर्छन् । उनीहरुले दिएको विवरणको आधारमा कार्यालयमा तथ्याङ्क राखिन्छ । ठ्याक्कै भन्न सकिन ।”
जिल्लामा दुई वर्षअघि डेङ्गु रोगकै कारण ५०० बिरामी भएका थिए भने आधा दर्जन बढीको मृत्यु जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ । ड्रम, फुलदानी, गमला, कुलर, पानीका ट्याङ्कीमा डेङ्गुको लार्भा भेटिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको स्थानमा गएर लार्भा नष्ट गर्न काम पालिकाले गरिरहेको उहाँको भनाइ छ ।



प्रतिक्रिया