कांग्रेस बागमती प्रदेशको मतदान सुरु

कांग्रेस बागमती प्रदेशको मतदान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनमा मतदान आज अपराह्न ४ बजे सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा तोकिएको भन्दा केही ढिलो मतदान सुरु भएको हो । सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले निर्वाचन सुरु भएको एक घण्टापछि मतदान गर्नुभएको छ ।

त्यस्तै सभापति पदका उम्मेदवार जगदीश्वरनरसिंह केसी र भीमसेन दास प्रधान पनि मतदानस्थलमा पुगिसक्नुभएको छ । उहाँहरूले केहीबेरमा मतदान गर्ने जनाइएको छ । मतदान चाँडै सम्पन्न गर्न १० वटा केन्द्रको स्थापना गरिएको छ । कम मतदाता भएका तीन जिल्लाका लागि एउटा, काठमाडौँका लागि तीन र अन्य जिल्लाका लागि एक÷एक मतदान केन्द्र स्थापना गरिएको हो ।

मतदानस्तल वरपर टाँसिएका उम्मेदवारका प्रचार सामग्री हटाइएको छ । अधिवेशनमा एक हजार २४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा दुई हजार १३७ जनाले नयाँ नेतृत्व चयनका लागि सहभागिता जनाउँदै छन् ।

यो पनि – राप्रपाः नयाँ कार्यसमितिका लागि मतदान सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतदान सुरु भएको छ । यही मङ्सिर १५ देखि सुरु भएको महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । सभागृहमा शुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिनुभएको छ । बाँकी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्ने व्यवस्था छ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला हुनुपर्ने व्यवस्था गरिएको छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । निर्वाचनका लागि देशभरबाट करिब चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् ।

पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो पक्षको नेतृत्व चयनका लागि मतदातासँग आग्रह गरेका छन् । निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मतदानको व्यवस्था छ । अध्यक्ष पदको परिणाम आउन केही समय लाग्ने भए पनि विद्युतीय मतदानको परिणाम आजै रातिसम्म आउने अपेक्षा गरिएको छ ।