राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि भएको मतदानमा ५० प्रतिशत मत सङ्कलन भएको छ । आज भएको विद्युतीय मतदान प्रक्रियाप्रति मतदाताले राम्ररी जानकारी प्राप्त नगरेकाले पनि समय धेरै लागेको छ । उक्त प्रक्रियामा प्रतिव्यक्ति मतदाताले करिब २० मिनेट पर्खनुपर्ने भएकाले पनि प्रक्रिया लम्बिने देखिएको छ । नेता सुन्दर पाण्डेका अनुसार देशभरबाट छनोट भएका चार हजारभन्दा बढी प्रतिनिधिले साँझ ५ बजेसम्म निर्धारण गरिएको समयमा मतदान नसक्ने भएपछि रातिसम्म समय थप गरी प्रक्रिया टुङ्ग्याउने व्यवस्था भएको छ ।

यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा जारी महाधिवेशनअन्तर्गत अध्यक्ष पदको निर्वाचनमा मतपत्र प्रयोग गरिएकाले छिटो र छरितो मतदान भएको छ । नयाँ कार्यसमितिका लागि २६६ उम्मेदवारले उम्मेदवारी दिएका छन् । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन गरिएको छ । मतदान केन्द्रमा मतदातालाई मतदान गर्नु अगाडि विद्युतीय मतदानका प्रक्रिया तथा विधि प्रयोग गरी सिकाइएको छ ।
अर्का नेता ध्रुवबहादुर प्रधानले निर्वाचनका लागि ८६ विद्युतीय यन्त्रको व्यवस्था गरिएको भए पनि त्यसको प्रयोगमा समय लागेकाले मतदातालाई केही समस्या भएको जानकारी दिनुभयो । यसपटक अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दिएसँगै नेतृत्वका लागि कडा प्रतिस्पर्धा देखिएको छ । पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीका साथमा अध्यक्ष पदका प्रत्यासी लिङ्देनले मतदान गरिसक्नुभएको छ । अर्का प्रत्यासी थापाले मतदान गर्न बाँकी छ ।
करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि पहिलोपटक भएको अधिवेशनमा उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ । पार्टीका नेता तथा कार्यकर्ताले अन्तिम समयसम्म पनि लामबद्ध मतदातालाई आफ्नो पक्षमा मतदानका लागि आग्रह गरेका छन् ।
यो पनि – कांग्रेस बागमती प्रदेशको मतदान सुरु
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनमा मतदान आज अपराह्न ४ बजे सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा तोकिएको भन्दा केही ढिलो मतदान सुरु भएको हो । सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले निर्वाचन सुरु भएको एक घण्टापछि मतदान गर्नुभएको छ ।
त्यस्तै सभापति पदका उम्मेदवार जगदीश्वरनरसिंह केसी र भीमसेन दास प्रधान पनि मतदानस्थलमा पुगिसक्नुभएको छ । उहाँहरूले केहीबेरमा मतदान गर्ने जनाइएको छ । मतदान चाँडै सम्पन्न गर्न १० वटा केन्द्रको स्थापना गरिएको छ । कम मतदाता भएका तीन जिल्लाका लागि एउटा, काठमाडौँका लागि तीन र अन्य जिल्लाका लागि एक÷एक मतदान केन्द्र स्थापना गरिएको हो ।
मतदानस्थल वरपर टाँसिएका उम्मेदवारका प्रचार सामग्री हटाइएको छ । अधिवेशनमा एक हजार २४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा दुई हजार १३७ जनाले नयाँ नेतृत्व चयनका लागि सहभागिता जनाउँदै छन् ।
प्रतिक्रिया