नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश कार्यसमितिका लागि आज भएको निर्वाचनमा एक हजार १४६ मत खसेको छ । प्रदेश अधिवेशनका लागि कूल एक हजार १६५ मतदाता रहेकामा एक हजार १४६ मत खसेको र १९ जना अनुपस्थित भएको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिनुभयो । निर्वाचनमा सभापतिमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीबीच प्रतिस्पर्धा छ ।
त्यस्तै कार्यसमितिको उपसभापति दुई पदका लागि मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीले प्रतिस्पर्धा गर्नुभएको छ । महामन्त्री दुई पदका लागि कुमार खड्का, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने, सहमहामन्त्री एक जना महिलामा ओमकला गौतम र कोपिला रानाभाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।निर्वाचनको मतगणना पोखरास्थित उद्योग वाणिज्य सङ्घको हलमा सुरु भएको र आइतबार बिहानसम्म सबै पदको नतिजा आउने भुजेलले जानकारी दिनुभयो ।
यो पनि – एकीकृत समाजवादी बैतडीका छ पालिकामा नेतृत्व चयन
नेकपा (एकीकृत समाजवादी)ले यहाँ सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म छ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष महादेव भट्टले जानकारी दिनुभयो ।
हालसम्म दोगडाकेदार, सुर्नया गाउँपालिका तथा पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको जनाइएको छ । पाटनको अध्यक्षमा लोकेन्द्र विष्टसहित ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१ र मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।
गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मङ्सिरभित्र नेतृत्व चयन गरिने सो पार्टीले जनाएको छ । एमालेसँग विभाजन भएपछि सो पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने जनाइएको छ । मङ्सिरमा सबै पालिकामा सङ्गठन विस्तार गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष दिनेश ठगुन्नाले बताउनुभयो ।
एमाले रहँदा यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित गरिएको थियो । जिल्ला अध्यक्ष भट्ट रहेको १५१ सदस्यीय उक्त समानान्तर कमिटी समाजवादीमा समाहित गरिएको हो ।



प्रतिक्रिया