प्याराग्लाइडिङ तथा अल्ट्रालाइटहरूको व्यावसायिक संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले आफ्नो २०औँ स्थापना दिवसको अवसर पारेर आज ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाका पदाधिकारी र सदस्यसहितको एक टोलीले पोखरा महानगरपालिका–१७ महतगौडास्थित पोखरा वृद्धाश्रम पुगेर न्यानो कपडा वितरण गरेको संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । “जाडो बढेको छ, विभिन्न परिस्थितिका कारण वृद्धाश्रम बस्नुभएका बुवाआमका लागि न्यानो मायाका रूपमा न्यानो कपडा वितरण गरेका हौँ”, उहाँले भन्नुभयो ।
उहाँले संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्य गर्दै आइरहेको जनाउँदै यस वर्ष आश्रममा रहेका ५० वृद्धवृद्धालाई ज्याकेट वितरण गरेको बताउनुभयो । वृद्धाश्रमका सहकोषाध्यक्ष श्रीनाथ आचार्यले जाडोमा ज्येष्ठ नागरिकलाई सम्झेर न्यानो ज्याकेट वितरण गरेकामा संस्थालाई धन्यवाद दिनुभयो ।
संस्थाले स्थापना दिवसकै अवसरमा आज बिहान आयोजना गरेको रक्तदान कार्यक्रममा प्याराग्लाइडिङ कम्पनीका सदस्य र टेकअफ ल्याण्डिङमा कार्यरत श्रमिकको सहभागितामा ६५ युनिट रगत सङ्कलन भएको संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार टेकअफ तथा ल्याण्डिङको फोहर व्यवस्थापनका लागि चार थान आधुनिक गार्वेज र सो क्षेत्रमा कार्यरत ४० मजदुरलाई समेत ज्याकेट वितरण गरिएको थियो । सोको व्यवस्थापन ‘ना’ पोखरा र कर्मा फ्लाइट नेपालको संयुक्त आयोजनामा गरिएको थियो ।
यो पनि- रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छु : मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताउनुभएको छ ।
श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धार्मिक र सांस्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरका रूपमा रहेको रामजानकी मन्दिरलाई जतिसक्दो छिटो विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आफूले भरपूर कोसिस गर्ने बताउनुभएको हो ।
विश्वभरका हिन्दूको आस्थाको केन्द्रका रूपमा रहेको प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल भइरहे पनि त्यसले मूर्तरूप लिनसकेको छैन । मैथिल सभ्यताका अगुवाहरूले जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन लामो समयदेखि पहल गर्दै आइरहेका छन् ।
रामजानकी मन्दिरमा भगवान् श्रीरामको जन्मका अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सवलगायत विविध सांस्कृतिक कार्यक्रम हुँदै आएको छ । यही मङ्सिर २२ गते विवाह पञ्चमी परेको छ । तीन वर्ष अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विवाह पञ्चमीका दिन जानकी मन्दिरको पूजाअर्चना गर्नुभएको थियो ।
द्वापार युगमा अयोध्याका राजकुमार श्रीराम र मिथिलाका राजा जनककी सुपुत्री जानकीको विवाह भएको दिनलाई विवाह पञ्चमीका रूपमा धुमधामका साथ मनाइन्छ । विवाह पञ्चमीका दिन जनकपुरधाममा विशेष मेला लाग्ने गर्छ । विवाह पञ्चमीका दिन भारतबाट लाखौँ भक्तजन जनकपुरको जानकी मन्दिर दर्शनका लागि आउने गरेका छन् ।
मन्त्री आलेले हजारौँ वर्ष पुरानो मिथिला सभ्यता कला, सङ्गीत, भाषा, बेषभूषाका रूपमा निकै धनी रहेको उल्लेख गर्दै रामजानकी मन्दिरको संरक्षण र विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “रामजानकी मन्दिरको सौन्दर्यकरण, संरक्षण र विकास निर्माणमा संस्कृति मन्त्रालयको पूर्ण सहयोग रहन्छ”, उहाँले भन्नुभयो ।
सो अवसरमा मन्त्री आलेले मिथिला संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न व्यक्तिलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा समाजका पदाधिकारीले प्रदेश नं २ का पर्यटकीय गन्तव्यको पहिचान गरी प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरेका थिए ।



प्रतिक्रिया