‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

‘श्रमका क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आफू प्रतिनिधिसभामा निर्वाचित भएपछि तीन वर्षको अवधिमा धेरै काम भएको उल्लेख गर्नुभयो ।

“साढे तीन वर्षको अवधिमा विकास निर्माणको कामले छलाङ मारेको छ, तर त्यसबाट म सन्तुष्ट छैन”, मन्त्री श्रेष्ठले भन्नुभयो, “जति गर्नुपर्ने हो त्यति गर्न सकिएन, अझै पनि विकास निर्माणलाई तीव्रता दिन्छौँ ।” मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा तनहुँमा नेकपा (एकीकृत समाजवादी)ले जित्ने दाबी गर्नुभयो ।

“तनहुँमा हाम्रो पार्टीको प्रभाव शून्य छ भनेर हल्ला फैलाइएको छ, आगामी निर्वाचनबाट थाहा हुन्छ, कसको पार्टीको हैसियत के छ भनेर”, उहाँले भन्नुभयो । उहाँले मादी–मस्र्याङ्दी, डुम्रे–चाम्बास सडकको बोलपत्र भइसकेको र काम सुरु भएको बताउनुभयो । मन्त्री श्रेष्ठले करिब दुईतिहाइको मत प्राप्त गरे पनि नेकपा (एमाले) नेतृत्व सरकारले त्यसको सदुपयोग गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले पार्टी फुटाउने रहर नभई बाध्यता भएको उल्लेख गर्दै अब पार्टीको सङ्गठन विस्तारमा जोड दिइने चर्चा गर्नुभयो ।

मन्त्री श्रेष्ठले श्रम तथा रोजगार क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको बताउनुभयो । उहाँले विदेश जाने अधिकांश युवा अदक्ष हुने गरेकाले उनीहरुलाई दक्ष बनाउन तालिम केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको जानकारी गराउनुभयो । सीप र क्षमताका आधारमा सबै युवालाई रोजगारी दिइने मन्त्री श्रेष्ठको भनाइ थियो ।

यो पनि -होटल व्यवसायीका समस्या समाधान गर्न पहल गर्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटल व्यवसायीका समस्या समाधानका लागि आफूले पहल थाल्ने बताउनुभएको छ ।एकता होटल तथा गेष्टहाउस व्यवसायी सङ्घ नेपालको नवौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पछिल्लो समय होटल तथा गेष्टहाउस व्यवसायीलाई पर्यटन विभागमा दर्ता प्रक्रियादेखि अन्य विभिन्न समस्या भएकाले ती समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको हो ।

पर्यटन क्षेत्रलाई प्रोत्साहित गर्न होटेल तथा गेष्टहाउस सञ्चालकको अहम् भूमिका रहेकाले होटल व्यवसायीलाई परेका समस्या र साह्रोगाह्रोलाई पर्यटन मन्त्रालय तथा होटल व्यवसायी सङ्घ दुवै पक्ष मिलेर समाधान गर्नतिर लाग्नुपर्ने मन्त्री आलेको भनाइ थियो ।होटल तथा गेष्टहाउस व्यवसायीले पर्यटन ऐन २०३५ लाई संशोधनका लागि पहल गर्नुपर्ने तथा पर्यटन विभागमा होटल दर्ता गर्न पहिले ५० बेडको व्यवस्था थियो त्यसलाई परिमार्जन गरी २५ बेडमा झारेकाले त्यसले गर्दा अधिकांश साना तथा मझौला होटल त्यो मापदण्डमा नपर्दा दर्ता हुन सम्भव नभएकाले २५ बेडको मापदण्डलाई संशोधनका लागि पहल गर्न माग गरेका थिए ।

होटल तथा गेष्टहाउस व्यवसायीलाई पर्यटन ऐन २०३५ र पर्यटन विभागमा होटल दर्ता गर्ने प्रक्रियाले भइरहेका समस्याका विषयमा उचित पहलकदमी चाल्ने मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन ऐन २०३५ संशोधन गर्ने कुरा म एक्लैले गर्न सक्ने कुरा होइन, तर त्यसको समाधानका लागि के गर्न सकिन्छ म सकारात्मकरूपमा लाग्ने छु ।”

उहाँले आफू पवित्र उद्देश्य बोकेर मन्त्रालयमा मन्त्रीका हैसियतामा आएकाले नागरिक तथा पर्यटन व्यवसायीसहित देशलाई फाइदा हुने र सकारात्मक हुने कामका लागि आफू कहिले पनि पछि नहट्नेसमेत बताउनुभयो । मन्त्री आलेले मन्त्रालय तथा मातहतका निकायमा हुने गलत प्रवृत्तिका कामलाई निरुत्साहित गर्दै आफूले सही र जनहितका कामलाई उच्च प्राथमिकता दिएको जिकिर गर्नुभयो ।

यसैगरी मन्त्री आलेले नेपालका होटल तथा गेष्टहाउस व्यवसायीले पर्यटक भित्र्याउन आफूले सक्ने सहयोग गर्नेसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा जतिसक्दो बढी पर्यटक भित्र्याउन सके यहाँको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा विकास हुनेछ, त्यसका लागि तपाईँहरूको पनि सहयोग आवश्यक छ ।” विदेशी पर्यटक तथा नेपाली नागरिकका बीचमा हवाई भाडामा पनि एकरुपता कायम गर्न आफूले पहल चालिरहेको मन्त्री आलेले सो कार्यक्रममा जानकारी दिनुभयो ।

कोरोना भाइरसदेखि अन्य विभिन्न समस्याले होटल तथा गेष्टहाउस व्यवसायी समस्यामा परेका र त्यसैमाथि पर्यटन ऐन २०३५ तथा पर्यटन विभागमा होटल दर्ता गर्न पनि समस्या भएकाले त्यसको चाँडो समाधानका लागि पहल गरिदिन मन्त्री आलेसँग होटल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशका महासचिव दामोदर नेपालले आग्रह गर्नुभएको थियो ।