बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पुरातात्विक सम्पदाको संरक्षण र विकास हुुनुपर्ने बताउनुभएको छ । बागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रम तथा गौ संरक्षण केन्द्र चितवनले आफ्नो स्थापनाको रजत वर्षका अवसरमा आज यहाँ आयोजना गरेको विचारगोष्ठीमा उहाँले सम्पदा नाश हुने अवस्था आउन नदिन प्रदेश सरकारले गम्भीर भएर काम गर्ने बताउनुभयो । उहाँले बागीश्वरीजस्ता आध्यात्मिक परिसरको संरक्षण र विकासका लागि प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
पूजापाठ हराउँदै गएपछि चितवनका पुरातात्विक सम्पदाको संरक्षणमा चुनौती थपिँदै गएको पुरातत्व विभागले जनाएको छ । पुरातत्व विभागका प्रवक्ता एवं पुरातत्वविज्ञ रामबहादुर कुँवरले पूजापाठ हुन छाडेका सम्पदाको संरक्षणमा चुनौती थपिँदै गएको बताउनुभयो । कुँवरले चितवन, नवलपुर र तनहुँमा रहेका पुरातत्विक सम्पदाका बारेमा गरिएको अध्ययनबारे जानकारी गराउँदै यस क्षेत्रमा १६औँ शताब्दीसम्मका पुरातात्विक सम्पदा फेला परेको जानकारी गराउनुभयो । उहाँले यस क्षेत्रका सम्पदाका बारेमा हुनुपर्ने जति अध्ययन नभएको भए पनि सामान्य अध्ययन भने गरिएको बताउनुभयो ।
उहाँले यस क्षेत्रमा पुरातत्विक सम्पदाहरुको संरक्षण र विकास गरी सांस्कृतिक पर्यटनको विकास गर्न सकिने सम्भावना रहेको सुनाउनुभयो । उहाँले चितवनका कतिपय सम्पदा नाश हुने अवस्थामा पुगेकामा चिन्ता व्यक्त गर्नुभयो । “पूजा परम्परा गर्न छाडिएका सम्पदाको संरक्षणमा चुनौती थपिँदै गएको छ”, उहाँले भन्नुभयो, “पूजापाठ भएका स्थानमा भने सरसफाइ र संरक्षण भएको पाइएको छ ।”
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले योगी नरहरिनाथ र बागीश्वरीलाई सरकारले त्यति प्राथमिकतामा नाराखेकामा दुःख व्यक्त गर्नुभयो । गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ दिनेशराज पन्त, पूर्व प्रशासक एवं लेखक सूर्यबहादुर सेन, पुरातात्विक सम्पदाका अध्यता डिआर पोखरेल, बागेश्वरी प्राकृतिक चिकित्सालयका प्रमुख डा हेमराज कोइरालालगायतले धारणा राख्नुभएको थियो । देवघाटको नजिक रहेको बागीश्वरीलाई देवघाट र बागीश्वरीको विकास एउटै गतिमा गर्नुपर्नेमा वक्ताहरुको जोड थियो ।
यो पनि – नेपाल हवाई खेलकुद संस्थाद्वारा वृद्धवृद्धालाई ज्याकेट वितरण
प्याराग्लाइडिङ तथा अल्ट्रालाइटहरूको व्यावसायिक संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले आफ्नो २०औँ स्थापना दिवसको अवसर पारेर आज ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाका पदाधिकारी र सदस्यसहितको एक टोलीले पोखरा महानगरपालिका–१७ महतगौडास्थित पोखरा वृद्धाश्रम पुगेर न्यानो कपडा वितरण गरेको संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो । “जाडो बढेको छ, विभिन्न परिस्थितिका कारण वृद्धाश्रम बस्नुभएका बुवाआमका लागि न्यानो मायाका रूपमा न्यानो कपडा वितरण गरेका हौँ”, उहाँले भन्नुभयो ।
उहाँले संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्य गर्दै आइरहेको जनाउँदै यस वर्ष आश्रममा रहेका ५० वृद्धवृद्धालाई ज्याकेट वितरण गरेको बताउनुभयो । वृद्धाश्रमका सहकोषाध्यक्ष श्रीनाथ आचार्यले जाडोमा ज्येष्ठ नागरिकलाई सम्झेर न्यानो ज्याकेट वितरण गरेकामा संस्थालाई धन्यवाद दिनुभयो ।
संस्थाले स्थापना दिवसकै अवसरमा आज बिहान आयोजना गरेको रक्तदान कार्यक्रममा प्याराग्लाइडिङ कम्पनीका सदस्य र टेकअफ ल्याण्डिङमा कार्यरत श्रमिकको सहभागितामा ६५ युनिट रगत सङ्कलन भएको संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार टेकअफ तथा ल्याण्डिङको फोहर व्यवस्थापनका लागि चार थान आधुनिक गार्वेज र सो क्षेत्रमा कार्यरत ४० मजदुरलाई समेत ज्याकेट वितरण गरिएको थियो । सोको व्यवस्थापन ‘ना’ पोखरा र कर्मा फ्लाइट नेपालको संयुक्त आयोजनामा गरिएको थियो ।



प्रतिक्रिया