स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताउनुभएको छ । उहाँले दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो खोप लगाउन आग्रह गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) रोशी गाउँपालिका–६ को वडा भेलालाई आज सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गर्नुभएको हो । मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताउनुभयो । “कोरोनाको तेस्रो लहरको जोखिम बढिसक्यो, स्वास्थ्य मापदण्ड कायमै राख्नुस्, अनि खोप अनिवार्य लगाउनुहोला”, उहाँले भन्नुभयो ।
मन्त्री खतिवडाले हालसम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आगामी पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “खोप जत्ति पनि उपलब्ध भएकाले लगाउन स्वास्थ्य केन्द्र जान सबैमा आग्रह गर्छु ।”
मन्त्री खतिवडाले फरक प्रसङ्गमा निर्वाचनलगायत गतिविधिमा वामपन्थी एक भएर अघि बढ्ने जिकिर गर्नुभयो । “एमालेबाहेक हामी एकै ठाउँमा हुन्छौँ,” उहाँले भन्नुभयो । एमालेबाट कम्युनिष्ट आन्दोलन सम्भव नभएकाले अर्को दल खोल्नुपरेको उहाँको भनाइ थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक सह–इन्चार्ज मुकुन्द गौतम, जिल्ला सदस्यद्वय जगत तामाङ र विशाल तामाङ, रोशी गाउँपालिकाका इन्चार्ज लार्साङ तामाङ, रोशीका अध्यक्ष जगत शाह, उपाध्यक्ष राजेन्द्र तामाङलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यो पनि – कला संस्कृति संरक्षणमा जुटौँ : पर्यटनमन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला र संस्कृति देशका गहना भएकाले यिनको संरक्षण तथा प्रवद्र्धनमा सबै जुट्नुपर्ने बताउनुभएको छ ।कलाकार शिवराम कासुलाद्वारा लिखित ‘नृत्य सूत्र तथा लिपि’ नामक कृतिको आज यहाँ विमोचन गर्दै उहाँले अन्तर्राष्ट्रियरूपमै ख्याति कमाइरहेका नृत्यहरूले मानिसलाई प्रफुल्लित बनाउने मात्र नभई तत्कालीन समय बोध गराइरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “समग्र नेपाल संस्कृतिमा विशाल धनी छ, प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदा यहाँका सरलता र विशेषता हुन्, यहाँका नाचहरूले अन्तर्राष्ट्रियस्तरमा धेरै पुरस्कार प्राप्त गरेका छन्, ताण्डव र भैरवलगायत नृत्यले मान्छेको मनमात्रै प्रफुल्लित बनाएका छैनन् तत्कालीन समय बोध गराएका छन् ।”

पर्यटनमन्त्री आलेले साहित्य, संस्कृति, अध्यात्म, कला विज्ञान सबै जीवनका लागि भएको र जीवनमा चाहिने मनोरञ्जनात्मक नृत्यमात्रै होइन, त्यसका शब्दले धेरै कुरा बताएजस्तै पुस्तकले पनि अनगिन्ती कुरा बताइरहेको बताउनुभयो ।“सङ्गीतको तालमा शरीरको चाललाई हिँडाउने कुरा भए पनि यसले धेरै अर्थ बोकेको छ, सुखदुःखको भावलाई यसले बताउने छ, धर्म र संस्कृति, चाडबाड र विजयोत्सव मनाउन गरिने नृत्य आज विश्वव्यापी भएको छ”, उहाँले भन्नुभयो ।
उहाँले संस्कृतिलाई साक्षात देखाउने नृत्यबारेमा लेखिएको कृतिले नेपाली वृत्तलाई संसारभर पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटनमन्त्री आलले सातवटै प्रदेशमा लेखन हुने गरी मन्त्रालयले बजेट व्यवस्थापन गर्ने वचन दिनुभयो । पुस्तकको समीक्षा गर्दै जगदम्बा श्री पुरस्कार विजेता भैरवबहादुर थापाले नेपालको नृत्य विधालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नृत्य सूत्रले समेटेका विषयवस्तु स्तरीय रहेको कला र संस्कृतिको सम्वद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले नृत्य सूत्रसम्बन्धी बृहतरूपमा समेटिएको पुस्तक नेपालमै पहिलोपटक प्रकाशन भएको र यसले नेपालको नृत्य कलालाई विश्वबजारमा उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नमूना शर्माले नृत्य सूत्रसम्बन्धी अनुसन्धनात्मक कृतिले नेपालको नृत्य कलालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने बताउनुभयो । घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले कला र संस्कृतिको संरक्षण प्रवद्र्धन गर्न संस्था लागिपरेको बताउनुभयो । लेखक कासुलाले लामो अनुसन्धान र मेहेनतका साथ पुस्तक तयार गरेकाले नृत्य कलाका लागि सान्दर्भिक हुने बताउनुभयो ।
नृत्य सूत्र तथा लिपि पुस्तकमा ६४ अक्षरमा सूत्रबद्ध सङ्केत लिपि रहेको छ । नृत्य लिपि मञ्चन, चालचाली ऊर्जा, शिराकाश प्रणाम, नृत्य सूत्र, नृत्य विज्ञान, संचेली, नाचुली जयमामी, बब्नामी सयनामी, नउत्षङ्गना आदि विषयलाई विस्तृतरूपमा व्याख्या गरिएको छ ।



प्रतिक्रिया