भक्तपुरका चार नगरमा नेकपा (माओवादी केन्द्र)ले नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका भक्तपुर, चाँगुनारायण, मध्यपुरथिमि र सूर्यविनायक नगरको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जिल्ला कमिटीका अध्यक्ष देवीप्रसाद ढकालका अनुसार भक्तपुर नगर कमिटीको अध्यक्षमा राकेश सुवाल, उपाध्यक्षमा राजेश्वरी शिल्पकार, श्रीराम सुवाल र नारायण त्वयना, सचिवमा कृष्णप्रसाद ह्याङ्गो, सहसचिवमा विकास कोजु र कोषाध्यक्षमा कृष्णमान वनमाला सर्वसहमत चयन हुनुभएको छ ।
यस्तै चाँगुनारायण नगर कमिटीको अध्यक्षमा नरेश खड्का, उपाध्यक्षमा रामकुमार तामाङ, विनोद लामिछाने र सुमन दाहाल, सचिवमा चण्डिका लामिछाने, सहसचिवमा श्याम श्रेष्ठ र कोषाध्यक्षमा जगन्नाथ खत्रीलाई चयन गरिएको छ । मध्यपुरथिमि नगर कमिटीको अध्यक्षमा विजयकृष्ण श्रेष्ठ, उपाध्यक्षमा राजन आलेमगर, भरत द्योँ र विकेश श्रेष्ठ, सचिवमा शिव श्रेष्ठ, सहसचिवमा कृष्णमान प्रजापति र कोषाध्यक्षमा जगतमाया प्रजापतिलाई सर्वसम्मत चयन गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
यसैगरी सूर्यविनायक नगर कमिटीको अध्यक्षमा सानुकान्छा आलेमगर, उपाध्यक्षमा जोवन तामाङ, राजेन्द्र कार्की र जुजुभाइ राजथला, सचिवमा सनिश लागेजु, सहसचिवमा नरेश वाइवा र कोषाध्यक्षमा मीना कार्कीलाई चयन गरिएको छ । पार्टीको विधानअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्षसहित ६५ जनाको कार्यसमिति गठन गरिएको बताइएको छ ।
यो पनि – एकीकृत समाजवादी बैतडीका छ पालिकामा नेतृत्व चयन
नेकपा (एकीकृत समाजवादी)ले यहाँ सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म छ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष महादेव भट्टले जानकारी दिनुभयो ।
हालसम्म दोगडाकेदार, सुर्नया गाउँपालिका तथा पाटन, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको जनाइएको छ । पाटनको अध्यक्षमा लोकेन्द्र विष्टसहित ५५ सदस्यीय, दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७, पुर्चौडीमा रमेश बोहराको अध्यक्षतामा ६१ र मेलौलीमा भीम भट्टको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।
गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेका पालिकामा पनि मङ्सिरभित्र नेतृत्व चयन गरिने सो पार्टीले जनाएको छ । एमालेसँग विभाजन भएपछि सो पार्टीले सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । तीन महिनासम्म जारी रहने उक्त अभियानमा सबैस्तरमा कमिटी गठन गरिने जनाइएको छ । मङ्सिरमा सबै पालिकामा सङ्गठन विस्तार गरिने र त्यसपछि सङ्गठन सुदृढीकरणको कामलाई अगाडि बढाइने दशरथचन्द नगरपालिकाका अध्यक्ष दिनेश ठगुन्नाले बताउनुभयो ।
एमाले रहँदा यसअघि रहेको समानान्तर जिल्ला कमिटी पनि एकीकृत समाजवादीमा समाहित गरिएको थियो । जिल्ला अध्यक्ष भट्ट रहेको १५१ सदस्यीय उक्त समानान्तर कमिटी समाजवादीमा समाहित गरिएको हो ।
यो पनि – कांग्रेस बागमती प्रदेशको मतदान सुरु
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनमा मतदान आज अपराह्न ४ बजे सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा तोकिएको भन्दा केही ढिलो मतदान सुरु भएको हो । सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले निर्वाचन सुरु भएको एक घण्टापछि मतदान गर्नुभएको छ ।
त्यस्तै सभापति पदका उम्मेदवार जगदीश्वरनरसिंह केसी र भीमसेन दास प्रधान पनि मतदानस्थलमा पुगिसक्नुभएको छ । उहाँहरूले केहीबेरमा मतदान गर्ने जनाइएको छ । मतदान चाँडै सम्पन्न गर्न १० वटा केन्द्रको स्थापना गरिएको छ । कम मतदाता भएका तीन जिल्लाका लागि एउटा, काठमाडौँका लागि तीन र अन्य जिल्लाका लागि एक÷एक मतदान केन्द्र स्थापना गरिएको हो ।
मतदानस्तल वरपर टाँसिएका उम्मेदवारका प्रचार सामग्री हटाइएको छ । अधिवेशनमा एक हजार २४५ केन्द्रीय महाधिवेशन प्रतिनिधि, ८७६ प्रदेश प्रतिनिधि र १६ केन्द्रीय सदस्य गरी जम्मा दुई हजार १३७ जनाले नयाँ नेतृत्व चयनका लागि सहभागिता जनाउँदै छन् ।
यो पनि – राप्रपाः नयाँ कार्यसमितिका लागि मतदान सुरु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतदान सुरु भएको छ । यही मङ्सिर १५ देखि सुरु भएको महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । सभागृहमा शुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।
अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिनुभएको छ । बाँकी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनीत गर्ने व्यवस्था छ । उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला हुनुपर्ने व्यवस्था गरिएको छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ । निर्वाचनका लागि देशभरबाट करिब चार हजार ७०० प्रतिनिधि छनोट भएका छन् ।
पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो पक्षको नेतृत्व चयनका लागि मतदातासँग आग्रह गरेका छन् । निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि विद्युतीय मतदानको व्यवस्था छ । अध्यक्ष पदको परिणाम आउन केही समय लाग्ने भए पनि विद्युतीय मतदानको परिणाम आजै रातिसम्म आउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया