नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा उहाँ ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो । उहाँका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिनुभयो ।
निर्वाचनमा उपसभापति द्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्री द्वयमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । यसैगरी सहमहामन्त्रीमा कोपिला रानाभाट, सहमहामन्त्री खुलामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी बन्नुभएको निर्वाचन समितिले जनाएको छ ।
यो पनि – कांग्रेस कर्णाली प्रदेश सभापतिमा शाही
नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले प्रतिद्वन्द्वी भूपेन्द्रजङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो ।
निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजङ्गले ४२२, उहाँका प्रतिद्वन्द्वी भूपेन्द्रजङ्गले ३१७ र मोतीराज बमले सात मत प्राप्त गर्नुभएको थियो । सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजङ्ग दोस्रो संविधानसभामा सदस्य हुनुहुन्थ्यो ।
कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो । निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतले अन्य पदहरूको मतगणना जारी रहेको बताउनुभयो । कांगे्रसको विधानमा प्रदेश कार्यसमितिको पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री पुरुषतर्फ दुई र महिलातर्फ एक निर्वाचित हुने व्यवस्था छ ।
प्रतिक्रिया