नेपाली कांग्रेसको १४औँ महाधिवेशन: मतगणना आज दिउँसोबाट हुने

नेपाली कांग्रेसको १४औँ महाधिवेशन: मतगणना आज दिउँसोबाट हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा हिजो सम्पन्न भएको प्रदेश नं १ को निर्वाचनको मतगणना आज दिउँसो १ बजेबाट सुरु हुने जनाइएको छ । बिहान ८ बजेदेखि भनिएको मतदान अपरान्ह २ः१५ देखि सुरु भई राति ८ बजेसम्म विराट नर्सिङ होम अस्पताल पूर्वतर्फको खाली चौरमा बनाइएको मतदान केन्द्रमा मतदाताले मतदान गरेका थिए । मतदान केन्द्रमा प्रदेशका सबै जिल्लाको छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको र कुनै पनि अप्रिय घटना नभएको बताइएको छ ।

कूल एक हजार ७७० मतदातामा एक हजार ७५२ मत खसेको थियो । प्राविधिक कारणले मतगणना सुरु हुन ढिलो भएको नेपाली कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो । हिजोको मतदान निकै उत्साहपूर्वक र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको बताइएको थियो ।

यो पनि – कांग्रेस महाधिवेशन : १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको राससलाई जानकारी दिनुभयो । “सर्लाहीको चार निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन अधिकृत खटाइसकेका छौँ, सप्तरी निर्वाचन क्षेत्र नं ४ मा आज निर्वाचन हुँदैछ”, उहाँले भन्नुभयो । महोत्तरी क्षेत्र नं ४ को अधिवेशन सम्पन्न भइसकेको तर निर्वाचनको नतिजाका क्रममा केही विवाद रहेकाले त्यहाँको निर्णय गर्न बाँकी रहेको उहाँको भनाइ थियो ।

कांग्रेस महाधिवेशनका लागि ६३ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । यस्तै सात प्रदेशमध्ये छ प्रदेशको अधिवेशन सुरु भइसकेको र केही प्रदेशको नतिजासमेत आइसकेको उहाँले बताउनुभयो । प्रदेश नं २ बाहेक सबै प्रदेशको अधिवेशन प्रारम्भ भइसकेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पदाधिकारीको नतिजा आइसकेको छ भने प्रदेश नं १ र लुम्बिनी प्रदेशको मतगणना भइरहेको र बागमती प्रदेशको सभापति पदमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत नकटाएकाले पुनः मतदान हुने निर्वाचन संयोजक घिमिरेले बताउनुभयो ।ंग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।

यो पनि – कांगे्रस कर्णाली प्रदेश सभापतिमा शाही

नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले प्रतिद्वन्द्वी भूपेन्द्रजङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो । निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजङ्गले ४२२, उहाँका प्रतिद्वन्द्वी भूपेन्द्रजङ्गले ३१७ र मोतीराज बमले सात मत प्राप्त गर्नुभएको थियो । सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजङ्ग दोस्रो संविधानसभामा सदस्य हुनुहुन्थ्यो ।

कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो । निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतले अन्य पदहरूको मतगणना जारी रहेको बताउनुभयो । कांगे्रसको विधानमा प्रदेश कार्यसमितिको पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री पुरुषतर्फ दुई र महिलातर्फ एक निर्वाचित हुने व्यवस्था छ ।