१९ मङ्सिर (रासस÷एएनआई) ः भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले देखाएको छ ।विगत केही दिनयता मृत्यु हुनेको सङ्ख्या ४०० को हाराहारीमा रहेको थियो । शनिबार एकैदिनमा दुई हजार ७९६ जनाको मृत्यु भएको यो संख्या बिहारमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको पूरानो संख्यालाई पनि मिलाइएको जनाइएको छ ।
यद्यपी हिजो एकै दिनमा केरलामा कोरोना सङ्क्रमणको कारण २६३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । आइतबार बिहानसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको कूल सङ्ख्या ४ लाख ७३ हजार ३२६ पुगेको छ । देशमा अहिले पनि ९९ हजार १५५ सक्रिय कोभिड–१९ सङ्क्रमित रहेका छन् । यो संख्या कूल सङ्क्रमतिको एक प्रतिशत भन्दा कम भएको समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ०.२९ प्रतिशत रहेको जनाइएको छ ।
गएको एक दिनमा ६ हजार ९१८ जना कोरोना मुक्त भएका छन् । हालसम्म ३ करोड ४० लाख ६० हजार ७७४ जना कोरोना निको भएका छन् । कोरोना मुक्ती यो दर ९८.३५ रहेको समाचारमा जनाइएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८९५ नयाँ सङ्क्रमित थपिएसँगै आइतबार देशमा कोभिड–१९ सङ्क्रमितको संख्या ३ करोड ४६ लाख ३३ हजार २५५ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ ।
भारत शनिबार एकै दिनमा १२ लाख २६ हजार ६४ जनाको कोरोना परिक्षण गरिएको थियो । यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म ६४ करोड ७२ लाख ५२ हजार ८५० जना कोरोना परिक्षण गरिएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३८ करोड ९५ लाख ३८ हजार ३० डोज खोप लगाइएको छ ।
यो पनि – बेलायतमा कोरोना भाइरसको संक्रमण घट्न सकेन, सतर्क रहन प्रधानमन्त्रीको आग्रह
१९ मङ्सिर (रासस÷सिन्ह्वा) ः बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अहिले पनि दैनिक ४० हजार जनाभन्दा बढी नै सङ्क्रमित हुने गरेका छन् । शनिबार मात्र पनि यहाँका ४२ हजार ८४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको बताइएको छ ।
यहाँ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप उपलब्ध गराइएको जनाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने संक्रमणमा दैनिक कमी नआएको बताएका छन् । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या १ करोड नाघेको जनाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा देखिएका सहित यहाँ यो भाइरसबाट अहिले सम्म १ करोड ४२ हजार जनाभन्दा बढीमा यो सङ्क्रमण देखिएको छ ।
बेलायतका स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा मात्र यहाँ यो सङ्क्रमणबाट व्यक्ति १२७ जनाको मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजार भन्दा बढीको मृत्यु भएको छ ।बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको र पछिल्लो पटक फेला परेको ओमिक्रोन भेरियन्ट पनि देखिएकाले सतर्क रहन भन्नुभएको छ ।



प्रतिक्रिया