कांग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

कांग्रेस महाधिवेशन : प्रदेश नं २ मा अनिश्चित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन् ।

मतदाता नामावली प्रकाशन हुन नसक्दा अन्य निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको अधिकृत गौतमले जानकारी दिनुभयो । सर्लाहीका चार, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नं ४ र रौतहटको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन ।प्रदेश २ को सबै जिल्लाका प्रतिनिधि छनोट भएपछि कूल मतदाता एक हजार ८८८ पुग्ने छन् । निर्वाचन हुन बाँकी रहेका जिल्लाको प्रदेश अधिवेशनमार्फत छनोट हुने प्रतिनिधिको नामवली समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने निर्वाचन नभएका जिल्लाका नेता कार्यकर्ताको माग छ ।

जनकपुरधाममा रामजानकी विवाहमहोत्सव प्रारम्भ भइसकेको र पार्टीको महाधिवेशनको मूलसमारोह आगामी २२ मङ्िसरमा रहेकाले प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि नै धकेलिने अनुमान गरिएको छ । निर्वाचन प्रक्रिया अन्योलमा परेपछि आज पार्टी उपसभापति बिमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेता जनकपुरमा छलफलमा जुट्दै हुनुहुन्छ ।

छलफलपछि औपचारिक रुपमा निर्वाचन प्रक्रियाबारे सूचना जारी गर्ने निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो । यस अगावै प्रदेश सभापतिका लागि रौतहटका कृष्णा यादव र प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

यो पनि – डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व

नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत समाजवादीले सङ्गठन विस्तार गर्ने क्रममा ति पालिकामा नयाँ नेतृत्व चयन गरेको हो । नौमध्ये ६ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । दिपायल सिलगढी र शिखर नगरपालिका तथा पूर्वीचौकी, केआइसिंह, जोरायल र बडिकेदार गाउँपालिकामा कमिटी गठन गरिएको छ ।

दिपायल सिलगढीमा शैलेन्द्र खड्काको अध्यक्षतामा ३३ सदस्यीय, पूर्वीचौकीमा गोरखबहादुर बोगटीको अध्यक्षमा ५१ सदस्यीय, बडिकेदारमा लालबहादुर मन्नीको अध्यक्षतामा २७ सदस्यीय, जोरायलमा रोहित बोहराको अध्यक्षतामा ५१ सदस्यीय, शिखरमा जगन्नाथ बलायरको अध्यक्षतामा ३९ सदस्यीय तथा केआइसिंहमा पुष्पराज जोशीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको बोगटीले बताउनुभयो ।