राप्रपाका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ

राप्रपाका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सम्पन्न एकता महाधिवेशमा निर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् ।आज यहाँ आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्षसहित नवर्निवाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गर्नुभयो ।

महाधिवेशनबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्रीत्रयमा धवल शमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीसहित १४९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।राष्ट्रियता, प्रजातन्त्र र उद्धारबादको नीतिअनुसार अघि बढेको राप्रपाले यो महाधिवेशनमार्फत नेतृत्वमा पुस्ता हस्तान्तरण गर्न सफल भएको छ ।

यो पनि – कांग्रेस उपसभापति निधिद्वारा राप्रपा अध्यक्ष लिङ्देनलाई बधाई

नेपाली कांंग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा विजयी हुनुभएका राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
उपसभापति निधिले आज विज्ञप्तिमार्फत राप्रपाको यस महाधिवेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यप्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा लिङ्देन नेतृत्वको राप्रपाले सहयोग पु¥याउने विश्वासका साथ सफल कार्यकालको कामना गर्नुभएको हो ।

यो पनि- नवनिर्वाचित राप्रपा अध्यक्ष लिङ्देन लोकप्रिय नेता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित हुनुभएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुनुहुन्छ । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मनुभएका उहाँले २०३६ देखि राजनीति सुरुआत गर्नुभएको हो । उहाँले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ विसं २०४८ मा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष बन्नुभएको थियो । जनताका बीचमा रमाउन चाहने यी विकासप्रेमी नेता स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस–३ बाट दुईपटकसम्म वडाध्यक्ष पनि बन्नुभएको हो । राजनीतिमा अनेकौँ दुःख र कष्ट भोग्नुभएका उहाँ विसं २०६०÷६१ मा तत्कालीन जिविस झापाको सभापतिसमेत बन्नुभएको थियो ।

उहाँ विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै झापा क्षेत्र नं ३ बाट सांसद निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष लिङ्देनले सिटौलालाई १३ हजार ४४३ मतान्तरले पराजित गर्नुभएको थियो । देशप्रेमी, विकासप्रेमी, भ्रष्टाचारविरोधी नेता अध्यक्ष लिङ्देन युवापुस्तामा प्रिय हुनुहुन्छ । उहाँको प्रभावकै कारण स्थानीय तहका निर्वाचनमा जिल्लाका तीन तह गौरीगञ्ज, हल्दिबारी र केचनकवल गाउँपालिकामा राप्रपाले अध्यक्ष जितेको थियो ।

पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उहाँले अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै बिताउनुभयो । पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, सङ्गठन विभाग प्रमुखलगायत जिम्मेवारी सम्हालिसक्नुभएका उहाँले एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यो पनि – राप्रपा अध्यक्षमा लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा उहाँले एक हजार ८१७ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम् प्रतिस्पर्धी कमल थापाले एकहजार ६१७ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा ५३१ मत बदर भएको पार्टीका नेता राजाराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यो पनि – कांग्रेस कर्णाली प्रदेश सभापतिमा शाही

नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले प्रतिद्वन्द्वी भूपेन्द्रजङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो ।

निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजङ्गले ४२२, उहाँका प्रतिद्वन्द्वी भूपेन्द्रजङ्गले ३१७ र मोतीराज बमले सात मत प्राप्त गर्नुभएको थियो । सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजङ्ग दोस्रो संविधानसभामा सदस्य हुनुहुन्थ्यो ।

कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो । निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतले अन्य पदहरूको मतगणना जारी रहेको बताउनुभयो । कांगे्रसको विधानमा प्रदेश कार्यसमितिको पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री पुरुषतर्फ दुई र महिलातर्फ एक निर्वाचित हुने व्यवस्था छ ।

यो पनि – कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा

नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा उहाँ ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो । उहाँका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिनुभयो ।

निर्वाचनमा उपसभापति द्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्री द्वयमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । यसैगरी सहमहामन्त्रीमा कोपिला रानाभाट, सहमहामन्त्री खुलामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी बन्नुभएको निर्वाचन समितिले जनाएको छ ।