विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने ः अध्यक्ष यादव

विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने ः अध्यक्ष यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज आयोजित दलित समुदायको वर्तमान अवस्था ः समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्नुहुँदै अध्यक्ष यादवले विकास र समृद्धिको बाधक जातीय भेदभाव, असमानता र विभेद रहेकोले मुलुकलाई समृद्ध बनाउन भेदभाव, असमानताको अन्त्य हुनुपर्ने बताउनुभयो । अध्यक्ष यादवले दलित समुदाय भूमिहीन, आर्थिकरुपमा कमजोर रहेकाले यस्तै अवस्था कायम रहे मुलुक समृद्ध बन्न नसक्ने बताउनुभयो ।

दलित समुदायको पेशा, कला, संस्कृति उजागर भए दलित समुदाय स्वतःसमृद्ध हुने र यसबाट अधिकांश समस्या समाधान भएर जाने बताउनुहुँदै अध्यक्ष यादवले त्यसतर्फ राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो । वैदेशिक सँस्कृति अपनाइरहेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने दावी गर्नुहुँदै अध्यक्ष यादवले यहाँका कला र सँस्कृति जोगाउनु सबैको दायित्व हो भन्नुभयो । सामाजिक विकास मन्त्रालय, दलित विकास समिति र इनोभेटिभ रिसर्च एण्ड डेभलपमेन्टको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साह, राष्ट्रिय योजना आयोगका डा उमाशंकर प्रसाद, प्रदेश लोकसेवा आयोगका सुरेन्द्र यादव, दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठालगायतले बोल्नुभएको थियो । दुई दिनसम्म चल्ने गोष्ठीमा प्रदेश–२ का दलित समुदायको अगुवाको सहभागिता रहेको इनोभेटिभ रिसर्च एण्ड डेभलपमेन्टका विनोदकुमार विश्वकर्माले जानकारी दिनुभयो ।

यो पनि – प्रकृतिलाई बिगारेर होइन सिँगारेर विकास गर्नुपर्दछ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर होइन सिँगारेर मुुलुकको विकास गर्नुपर्दछ भन्ने भावना नीतिनिर्माणका सबै तहमा गहिरोसम्म स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज यहाँ आयोजना गरेको राष्ट्रिय कार्यक्रममा उहाँले मानव र प्रकृति एकअर्कासँग जोडिएको उल्लेख गर्दै हाम्रो अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “यसलाई गहिरोसँग आत्मसाथ गर्दै जलवायु परिर्वतनले ल्याउने चुनौतीको सामना गर्न समुदायस्तरदेखि नै गरिने प्रयासमा महासङ्घजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहन्छ ।”

राष्ट्रपति भण्डारीले वनजङ्गलको संरक्षणद्वारा प्रकृतिलाई जोगाउने कार्यभार र अर्काेतिर महिला हिंसा उन्मूलनलगायत विविध सामाजिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकामा महासङ्घलाई धन्यवाद दिनुभयो । उहाँले वनको दिगो व्यवस्थापनका माध्यमबाट गरिने जनताको जीविकोपार्जनजस्ता कार्यले वातावरण र जैविक विविधताको संरक्षणका साथै जलवायु अनुकूलन र न्यूनीकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा विभिन्न चेतनामूलक सामाजिक कार्यक्रम सञ्चालन गरेकामा खुशी व्यक्त गर्र्दै राष्ट्रपति भण्डारीले अभियानमा सक्रिय भई सभ्य समाज निर्माण गर्ने कार्यमा सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो । उहाँले उक्त अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक सङ्घसंस्थालाई आह्वानसमेत गर्नुभयो ।

समाजमा अझै पनि लैङ्गिकंिहंसा विभिन्नरूपले अस्तित्वमा रहिरहनु चिन्ताको विषयभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “एकातिर छाउपडी, बोक्सी, दाइजोजस्ता कुप्रथा निर्मूल गर्न सङ्घर्ष गर्नुपरेको छ भने अर्काेतिर कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणाका नयाँ रूप प्रकट भइरहेका छन् । यी विकृतिको अन्त्य गर्न नीति र कानूनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकातर्फ सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराउँदछु ।” राष्ट्रपति भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको उत्तिकै सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष भारती पाठकले लैङ्गिक हिंसा उन्मूलनका लागि कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकाय र सामाजिक संस्था जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताउनुभयो । नगरपालिका सङ्घका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यञ्जुले महासङ्घले वन संरक्षणका साथै सामाजिक सशक्तिकरणमा पनि योगदान गरेकामा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष घनश्याम पाण्डे, सचिव ठाकुर भण्डारीलगायतले महासङ्घले नाङ्गा डाँडालाई वनजङ्गल संरक्षणमार्फत हरियाली बनाउने काम मात्र नभई आर्थिक, समाजिक तथा सचेतनामूलक कार्यसमेतमा विभिन्न कार्य गर्दै आइरहेको जानकारी गराउनुभयो ।