काठमाडौँ, १९ मङ्सिर (रासस) ः सर्वोच्च अदालतमा झन्डै डेढ महिनापछि न्यायाधिशरु इजलासमा बसी पूर्णरुपमा मुद्दाको सुनुवाइ गरी काममा फर्किनुभएको छ । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आज १० इजलास गठन गरिएको थियो । त्यसमा आठ संयुक्त र दुई एकल इजलास गरी ३३६ थान मुद्दा सुनुवाइ लागि तोकिएको थियो ।
न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि १३ मुद्दा तोकिएको थियो । पूर्णरुपमा सुनुवाइ भएर सबैमा आदेश भएको छ । न्यायाधीश दीपककुमार कार्की र बमकुमार श्रेष्ठको इजलासमा ३८ मुद्दा सुनुवाइका लागि तोकिएको थियो । त्यसमा नौ मुद्दामा फैसला र एक मुद्दामा आदेश भएको छ । अन्य इजलासमा पनि त्यस्तै प्रभावकारी सुनुवाइ भएको देखिएको छ । आज २३ मुद्दामा फैसला र ४० मुद्दामा फैसला भएको छ ।
सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ भएको छ । उक्त प्रक्रियाबाट पेसी तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ सङ्क्रमण र निमोनियाका कारण अस्पतालमा भर्ना हुनुभएको र कायममुकायम प्रधानन्यायाधीश नतोकिएको विवादका कारण बुधबार र बिहीबार प्रभावकारी रुपमा सुनुवाइ हुन सकेको थिएन । शुक्रबार पनि मुद्दामा राम्रो सुनुवाइ भएको थियो ।
सर्वोच्च अदालतमा गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफ, सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्र्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । बन्दी र निवेदनका मुद्दाबाहेक अरू मुद्दामा सुनुवाइ हुन सकेको थिएन । यही मङ्सिर १५ गतेदेखि न्यायाधीशहरु र नेपाल बार एसोसिएनका मागअनुसार गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ गर्ने काम प्रारम्भ भएको छ । आजदेखि न्यायाधीशहरु पूर्ण रुपमा काममा फर्कनुभएको छ ।
यो पनि – विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने ः अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानता नहटेसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज आयोजित दलित समुदायको वर्तमान अवस्था ः समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्नुहुँदै अध्यक्ष यादवले विकास र समृद्धिको बाधक जातीय भेदभाव, असमानता र विभेद रहेकोले मुलुकलाई समृद्ध बनाउन भेदभाव, असमानताको अन्त्य हुनुपर्ने बताउनुभयो । अध्यक्ष यादवले दलित समुदाय भूमिहीन, आर्थिकरुपमा कमजोर रहेकाले यस्तै अवस्था कायम रहे मुलुक समृद्ध बन्न नसक्ने बताउनुभयो ।
दलित समुदायको पेशा, कला, संस्कृति उजागर भए दलित समुदाय स्वतःसमृद्ध हुने र यसबाट अधिकांश समस्या समाधान भएर जाने बताउनुहुँदै अध्यक्ष यादवले त्यसतर्फ राज्यको ध्यान पुग्नुपर्ने बताउनुभयो । वैदेशिक सँस्कृति अपनाइरहेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने दावी गर्नुहुँदै अध्यक्ष यादवले यहाँका कला र सँस्कृति जोगाउनु सबैको दायित्व हो भन्नुभयो । सामाजिक विकास मन्त्रालय, दलित विकास समिति र इनोभेटिभ रिसर्च एण्ड डेभलपमेन्टको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साह, राष्ट्रिय योजना आयोगका डा उमाशंकर प्रसाद, प्रदेश लोकसेवा आयोगका सुरेन्द्र यादव, दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठालगायतले बोल्नुभएको थियो ।
दुई दिनसम्म चल्ने गोष्ठीमा प्रदेश–२ का दलित समुदायको अगुवाको सहभागिता रहेको इनोभेटिभ रिसर्च एण्ड डेभलपमेन्टका विनोदकुमार विश्वकर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया