प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासमा बस्ने नेपालीहरुले मातृभूमिप्रति हरेक दृष्टिकोणले माया भाव राखेको बताउनुभएको छ । जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विदेशमा बस्ने नेपालीहरुले देशलाई अत्यधिक माया गर्छन् भन्ने स्पष्ट रहेको बताउनुभयो । उहाँले जनसम्पर्क समितिको महाधिवेशनको सफलताको कामना गर्दै प्रतिनिधि चयनमा सहमति र सहकार्य कायम रहन सकोस् भन्नुभयो ।
जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको सभापतित्वमा मेरिल्यान्ड जनरल एसेम्ब्लीका डेलिगेट डा ह्यारी भण्डारी, एनआरएन अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, महासचिव मुनेन्द्र नेम्वाङ, वेद खरेल, गौतम दाहाल लगायतले कार्यक्रम सफलताको शुभकामन दिँदै आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । जनसम्पर्क समितिले नयाँ कार्यसमिति चयन गर्ने, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरुको समेत निर्वाचन गर्ने कार्यतालिका रहेको अध्यक्ष विष्टले जानकारी दिनुभएको छ ।
यो पनि – प्रदेश १ र २ का लागि खुल्यो एपिएफ स्कुल
सशस्त्र प्रहरी बलको एपिएफ स्कुलको सप्तरीस्थित नवनिर्मित छात्रावाससहितको विद्यालय भवनको आज उद्घाटन गरिएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियास्थित नवनिर्मित भवनको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आज एक समारोहबीच उद्घाटन गर्नुभयो ।कीर्तिपुर र कोहलपुरपछि सप्तरीको शम्भुनाथमा निर्माण गरिएको सशस्त्र प्रहरीको आवासीय विद्यालय प्रदेश १ र २ लाई पायक पर्ने गरी बनाइएको सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । खनालले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भए सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने र विकास हुने बताउनुभयो ।
सशस्त्र प्रहरी बललाई विद्यालय निर्माणका लागि नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले आठ बिघा ११ कट्ठा जग्गा उपलब्ध गराउनु भएको हो । “ढुङ्गा खोज्दा देउता मिल्यो”, महानिरीक्षक खनालले भन्नुभयो, “जग्गा खोजिरहेका बेला मनकारी भगतजीले चाँडो स्कुल बनाउने हो भने जग्गा दिन्छु भन्दै आउनुभयो ।”
कार्यक्रममा जग्गादाता भगत र उहाँकी श्रीमती ठाकोदेवी भगतलाई महानिरीक्षक खनालले प्रशंसापत्रसहित सम्मान गर्नुभयो । विद्यार्थी भर्ना गर्ने र शिक्षा दिने कार्य महत्वपूर्ण हो तर शिक्षाको वातावरण बनाइदिने महान् कार्य हो भन्दै खनालले भगत दम्पतीको प्रशंसा गर्नुभयो ।सम्मानित भगतले नवनिर्मित विद्यालय भविष्यमा क्याम्पस बन्ने सपना देखेको र सोका लागि थप दुई÷तीन बिघा जग्गा दान गर्ने मनमनै सङ्कल्प गरिसकेको बताउनुभयो ।
आगामी शैक्षिक सत्रदेखि विद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको जानकारी दिँदै विद्यालयका समादेशक सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनसिंह ठकुरीले १५ कोठाका प्रशासनिक र विद्यालय भवनका लागि रु छ करोड ५१ लाख खर्च भएको बताउनुभयो । यसैगरी उहाँले छात्रावास, मेस, ब्यारेकका लागि रु सात करोड ४९ लाखको काम भइरहेको जानकारी दिनुभयो ।
विद्यालयमा प्रहरी परिवारका बालबालिकाका साथै अशक्त, असहाय, गरिब सर्वसाधारण नागरिकका बालबालिकालाई समेत अध्ययन गराइने सशस्त्र प्रहरी गण ६ का सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो । सन् २००५ मा स्थापित नेपाल एपिएफ स्कुल प्रहरी बलअन्तर्गत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा विद्यालय सञ्चालन हुनेछ ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतम, बराह वाहिनी सुनसरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, प्रदेश नं २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगर, प्रधान कार्यालयको मानव स्रोत विभागका सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी उपरीक्षकहरु सशस्त्र प्रहरी नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझियाका रुपकुमार क्षेत्री, महोत्तरीका सुरेश सापकोटा, सप्तरीका राजु श्रेष्ठ, नेपाली सेनाका गणपति निरज भण्डारी, प्रहरी उपरीक्षक अविनारायण काफ्लेलगायत समाजसेवी, शिक्षक र सञ्चारकर्मीहरु सहभागी हुनुहुन्थ्यो ।
–––
प्रतिक्रिया