बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र

बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत यो सडकको ११ किलोमिटर खण्डको काम सुरु भएको हो ।

दुई वर्षमा कालोपत्रको काम सक्ने गरी सडक स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले धमाधम काम थालेको छ । चालु आर्थिक वर्षमा सम्झौता भएको सडकको पहिलो चरणमा फराकिलो बनाउने काम थालिएको निर्माण कम्पनी रौताहा खानी धुलिखेल जेभी कन्ट्रक्सनका साइड इञ्चार्ज खेमराज सुवेदीले जानकारी दिनुभयो । “अहिले छवटा मेसिनले काम गरिरहेका छन्, आवश्यक गिट्टी, कङ्क्रिट तयार गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “मजदुर आइपुगेका छन्, अब मजदुरले गर्ने काम सुरु हुन्छ ।” बरेङलाई सदरमुकाम र प्रदेश राजधानीसँग जोड्ने छोटो दूरीको सडक भएकाले समयमा निर्माणको काम सक्न दबाब छ ।

विसं २०५४ मा नक्साङ्कन गरिएको यो सडकको १५ वर्षअघि ट्याक खुलेको थियो । बागलुङको मालढुङ्गादेखि कुश्मीशेरा खण्डमा बिभिन्न क्लस्टरमा काम भइरहेको छ । कुश्मीशेरा, देवलधारा १० किमी खण्डको स्तरोन्नति तथा कालोपत्रेको काम म्याद सकिँदासम्म ३५ प्रतिशत सकिएको छ । म्याद थप भएकाले यो खण्ड र देवलधारादेखि नम्दुक हुँदै चित्रे खण्ड तयार हुँदा बरेङलाई सहज हुने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । “हामीले काममा आउने बाधामा सहजीकरण गरिरहेका छौँ, समयमा काम थाल्न र समयमा सक्न भनेका छौँ”, उहाँले भन्नुभयो, “यो बरेङका लागि अत्यावश्क सडक हो ।”

सडक फराकिलो र कालोपत्र हुँदा बरेङको आर्थिक विकासमा सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । प्रदेश सरकारको योजना भए पनि गाउँपालिकाले सडकको काममा चासो दिएको छ । गाउँपालिकाकै स्रोतमा बरेङ बजारमा गत आर्थिक वर्षमा कालोपत्र भएको सडकबाहेक यो सडकनै बरेङको पहिलो कालोपत्र सडक हुनेछ । चित्रेदेखि पालिका मुकाम रहेको सुदाला र पालिका मुकामदेखि छिमेकी जिल्ला गुल्मीको शान्तिपुरसम्मको सडक कालोपत्रका लागि समेत पहल भइरहेको छ । गत आर्थिक वर्षमा पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट गाउँपालिकाले पालिका मुकामदेखि शान्तिपुर सडकको केही खण्ड फराकिलो बनाएको थियो ।

यो पनि – इजाजत नलिई बैकिङ कारोबार गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय पुष्पराज तिमिल्सेना छन् ।

नेपाल राष्ट्र बैंकबाट मान्यता (इजाजत) प्राप्त रहेको भनी सर्वसाधारणलाई झुक्याउन सफल मेक्स मि इ–कमर्सले राम्रो ब्याज दिने संस्था रहेको भन्दै आर्थिक प्रलोभनमा पारेर निक्षेप सङ्कलन र ऋण प्रवाह गर्दै आइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तिमिल्सेना आफैँले नेपाल राष्ट्र बैंकको नक्कली इजाजत पत्र तयार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सञ्चालक तिमिल्सेनाविरुद्ध ठगीसम्बन्धी अपराधको जाहेरीसमेत परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

उनलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका तिमिल्सेनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम सात वर्ष कैद र रु ७० हजार जरिवान सजाय हुने कानूनी व्यवस्था छ ।