नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको गण्डकी प्रदेश अधिवेशन र लोकसेवा आयोगका विभिन्न परीक्षाका कारण पछिल्लो हप्ता पोखराको पर्यटनमा राहत मिलेको छ । कोरोना कहरका कारण प्रभावित भइरहेको पोखराको पर्यटनलाई आन्तरिक पर्यटनले केही मात्रामा भए पनि भरथेग गरिरहेको अवस्थामा कांग्रेसको प्रदेश अधिवेशनमा आएका एघार सय भन्दा बढी प्रतिनिधिसँगै पर्यवेक्षक तथा कांग्रेसी कार्यकर्ता र लोकसेवाका विभिन्न पदका लागि परीक्षा दिन आएका परीक्षर्थीका कारण पछिल्लो हप्ता पोखराका होटेल भरिएका थिए ।
कांग्रेसको अधिवेशनमा एघार सय प्रतिनिधिका लागि लेकसाइडका होटेलमा बस्ने व्यवस्था मिलाइएको थियो । प्रतिनिधिसँगै सङ्घीय संरचनाअनुसार पहिलो पटक भएको अधिवेशन हेर्न ठूलै सङ्ख्यामा जिल्ला–जिल्लाबाट आएका पर्यवेक्षक एवं कार्यकर्ताले पोखरा भरिएको थियो । कांग्रेस अधिवेशन र लोकसेवाको परीक्षाले यहाँका होटेल व्यवसायीलाई ठूलै राहत पुगेको पश्चिमाञ्चल होटेल सङ्घ(हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अधिवेशन र परीक्षाका कारण पछिल्लो हप्ता साना तथा मझौला होटेलको क्षमताको ७० देखि ८० प्रतिशतसम्म भरिएका थिए । ठूला होटेलमा भने सोही अनुपातमा पर्यटक नभरिए पनि केही न केही राहत भने पुगेको उहाँले जानकारी दिनुभयो ।पोखरा पर्यटकीयस्थल हुनुका साथै गण्डकी प्रदेशको राजधानी भएका कारण राष्ट्रिय एवं प्रदेशस्तरका कार्यक्रमले यहाँको होटेल व्यवसायमा समय–समयमा सहयोग पुग्ने गरेको लेकसाइडस्थित होटेल एशियाका सञ्चालक धर्मराज पन्थीले बताउनुभयो ।
यो पनि – कांग्रेस बागमती प्रदेशका सभापतिमा बानियाँ
नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश अधिवेशनबाट सभापति पदमा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनबाट उहाँले एक हजार ८५ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी जगदिश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव काफ्लेले जानकारी दिनुभयो । १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि शनिबार सम्पन्न मतदानबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसक्नुभएपछि आइतबार पुनः मतदान भएको थियो । पहिलो निर्वाचनमा बानियाँले ९९२ मत प्राप्त गर्नुभएको थियो भने केसीले ८७७ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसको विधानमा कुनै पनि उम्मेदवारले कूल खसेका मतमा ५१ प्रतिशतभन्दा कम प्राप्त गरेमा पुनः निर्वाचन गर्नुपर्ने प्रावधान छ । आइतबार मतदान हुनुअघि सभापतिका अर्का उम्मेदवार भीमसेनदास प्रधानले आफ्नो समर्थन नेता बानियाँलाई रहेको घोषणा गर्नुभएको थियो ।



प्रतिक्रिया