नवनिर्वाचित राप्रपा अध्यक्ष लिङ्देनको पदबहाली

नवनिर्वाचित राप्रपा अध्यक्ष लिङ्देनको पदबहाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धूम्रबराहीस्थित कार्यालयमा आज पदबहाली गर्नुभएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताले उहाँलाई स्वागत गरेका थिए । पदबहालीका क्रममा अध्यक्ष लिङ्देनले मुलुकमा हिन्दूराष्ट्र र विविधतालाई एकतामा जोड्ने राष्ट्रिय चरित्रको संस्थाका रुपमा संवैधानिक राजसंस्था कायम गर्न भूमिका निर्वाह गर्ने पार्टीको नीति रहेकाले त्यसतर्फउन्मुख रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

विगतमा नेतृत्वले पार्टीको एजेण्डालाई कार्यान्वयन गराउन प्रष्ट अडान नलिएकाले चुनावमा पराजय भोग्न परेको जिकिर गर्दै उहाँले पहिलेका कमी कमजोरीबाट शिक्षा लिएर महाधिवेशन प्रतिनिधिको भावनाअनुसार आगामी निर्वाचनमा आफ्नो दललाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराइने विचार व्यक्त गर्नुभयो ।

झापा क्षेत्र नं ३ बाट सङ्घीय प्रतिनिधिसभामा समेत निर्वाचित अध्यक्ष लिङ्दनले राप्रपाको आदर्श, इतिहास र गौरवलाई संरक्षण गर्न अग्रज नेतृत्वको सुझावका साथै अन्य नेतासँग समन्वयका आधारमा विधि र प्रक्रियाबाट पार्टी सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रजातान्त्रिक प्रणालीमा हुने निर्वाचनमा मतदाताको निर्णयलाई सर्वोच्च मान्नुपर्नेमा जोड दिँदै उहाँले हार जीतको परिणाम भनेको प्राविधिक विषय भएको र मततदाताको विवेकपूर्ण निर्णय सबैलाई मान्य हुनुपर्नेमा जोड दिनुभयो ।

यो पनि – नवनिर्वाचित राप्रपा अध्यक्ष लिङ्देन लोकप्रिय नेता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित हुनुभएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुनुहुन्छ । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मनुभएका उहाँले २०३६ देखि राजनीति सुरुआत गर्नुभएको हो । उहाँले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ विसं २०४८ मा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष बन्नुभएको थियो । जनताका बीचमा रमाउन चाहने यी विकासप्रेमी नेता स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस–३ बाट दुईपटकसम्म वडाध्यक्ष पनि बन्नुभएको हो । राजनीतिमा अनेकौँ दुःख र कष्ट भोग्नुभएका उहाँ विसं २०६०÷६१ मा तत्कालीन जिविस झापाको सभापतिसमेत बन्नुभएको थियो ।

उहाँ विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै झापा क्षेत्र नं ३ बाट सांसद निर्वाचित हुनुभएको हो । नवनिर्वाचित अध्यक्ष लिङ्देनले सिटौलालाई १३ हजार ४४३ मतान्तरले पराजित गर्नुभएको थियो । देशप्रेमी, विकासप्रेमी, भ्रष्टाचारविरोधी नेता अध्यक्ष लिङ्देन युवापुस्तामा प्रिय हुनुहुन्छ । उहाँको प्रभावकै कारण स्थानीय तहका निर्वाचनमा जिल्लाका तीन तह गौरीगञ्ज, हल्दिबारी र केचनकवल गाउँपालिकामा राप्रपाले अध्यक्ष जितेको थियो ।

पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उहाँले अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै बिताउनुभयो । पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, सङ्गठन विभाग प्रमुखलगायत जिम्मेवारी सम्हालिसक्नुभएका उहाँले एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यो पनि – राप्रपा अध्यक्षमा लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा उहाँले एक हजार ८१७ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम् प्रतिस्पर्धी कमल थापाले एकहजार ६१७ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा ५३१ मत बदर भएको पार्टीका नेता राजाराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यो पनि – कांग्रेस कर्णाली प्रदेश सभापतिमा शाही

नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजङ्ग शाही निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनबाट उहाँले प्रतिद्वन्द्वी भूपेन्द्रजङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो ।

निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजङ्गले ४२२, उहाँका प्रतिद्वन्द्वी भूपेन्द्रजङ्गले ३१७ र मोतीराज बमले सात मत प्राप्त गर्नुभएको थियो । सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजङ्ग दोस्रो संविधानसभामा सदस्य हुनुहुन्थ्यो ।

कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो । निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतले अन्य पदहरूको मतगणना जारी रहेको बताउनुभयो । कांगे्रसको विधानमा प्रदेश कार्यसमितिको पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री पुरुषतर्फ दुई र महिलातर्फ एक निर्वाचित हुने व्यवस्था छ ।

यो पनि – कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा

नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा उहाँ ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको हो । उहाँका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिनुभयो ।

निर्वाचनमा उपसभापति द्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्री द्वयमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित हुनुभएको छ । यसैगरी सहमहामन्त्रीमा कोपिला रानाभाट, सहमहामन्त्री खुलामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी बन्नुभएको निर्वाचन समितिले जनाएको छ ।