कांग्रेसले कोरोना महामारीका बेलामा महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : सभापति देउवा

कांग्रेसले कोरोना महामारीका बेलामा महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : सभापति देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँले कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताउनुभएको हो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानबमोजिम एक पटक पुनः सभापतिमा उम्मेदवारी दिने बताउँदै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रह समेत गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री पनि रहेको र एक पटक पुनः सभापति जितेमा अझै राम्रो गर्ने उल्लेख गर्नुभयो ।आफू अहिले गठनबन्धनका तर्फबाट प्रधानमन्त्री रहेको अवस्थामा पुनः सभापति हुँदा पार्टी र सरकारले राम्रो गर्ने उहाँको भनाइ थियो । साथै उहाँले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको र त्यसपछि विधानले नै सभापति बन्न रोक्ने अवगत गराउनुभयो ।

प्रधानमन्त्री देउवाले फरक प्रसंगमा सत्ता गठबन्धन दलहरुबीच चुनावी गठनबन्धन तत्काल राष्ट्रियसभा सदस्य निर्वाचनसम्मका लागि तय भएको र बाँकी निर्वाचनमा के गर्ने भन्ने सम्बन्धमा छलफल हुन बाँकी रहेको बताउनुभयो ।

यो पनि – नेपालमा पनि ओमिक्रोन भेरियन्ट देखिए सँगै उच्च सतर्कता

काठमाडौँ, २० मङ्सिर (रासस) : नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नयाँ भेरियन्ट पुष्टि भएको देश हँुदै त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एकजनामा ओमिक्रोन भेरियन्ट देखिएको हो । दुवै जनाको प्रयोगशालाको जीन सिक्वेन्सिङ गर्दा ओमिक्रोन देखिएको हो । नेपालमा पहिलो पटक कोभिड–१९ को सङ्क्रमण २०७६ माघ ९ गते देखिएको थियो । चीनको वुहानबाट नेपाल आएका एक जनामा सङ्क्रमण देखिएको थियो ।

विदेशी नागरिकको सुरुमा नेपाल आउँदा पिसिआर गर्दा नेगेटिभ देखिएको र कोरोना भाइरस विरुद्धको खोपको मात्रा पूरा गरेको पाइएको थियो । त्यसपछि मङ्सिर ७ गते ती विदेशी र उनका नजिकको सम्पर्कमा आएका एक ७१ वर्षीय व्यक्तिको कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजेटिभ आएको थियो ।

“कोभिड–१९ पोजिटिभ आएकाको S–gene परीक्षण गर्नुपर्ने हालको नयाँ रणनीतिअनुरुप परीक्षण गर्दा दुवै जनाको नमूनामा S–gene फेला परेको थिएन”, उहाँले भन्नुभयो, “S–gene फेला नपरेका उक्त दुवै नमूनाको टेकु प्रयोगशालामा जीन सिक्वेन्सिङ गर्दा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको हो ।”

उहाँका अनुसार हाल दुवै जना सरकारले तोकेको मापदण्डानुसार आइसोलेसनमा रही स्वास्थ्यलाभ गरिरहेका छन् । ती दुई सङ्क्रमितमा कुनै लक्षण नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयले उक्त दुई व्यक्तिसँग सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङगमा रहेका ६६ जनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको छ ।

ओमिक्रोन रोकथामका प्रयास

नेपालमा ओमिक्रोन भेरियन्ट देखिएसँगै निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङगको कार्यलाई थप प्रभावकारी बनाइएको उहाँले बताउनुभयो । ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न प्रयास जारी राखेको छ । नेपालले अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगटिभ पिसिआर रिपोर्ट अनिवार्य गरेकोे छ ।

यस्तै खोपको विवरण लिने गरेको, लक्षण तथा चिन्हको जाँच गर्ने व्यवस्था गरेको तथा हवाई र स्थल नाका भई प्रवेश गर्ने पूर्णमात्रा खोप नलगाएका र शङ्कास्पद सबै यात्रुको एन्टिजेन परीक्षण गर्ने गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । एन्टिजेन परीक्षणमा पोजेटिभ फेला परेकाको नमूना सङकलन गरी पिसिआर गर्ने र शङ्कास्पद नमूनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको छ ।

यस्तै विगत एक महिना अगाडिदेखि पोजिटिभ भएका नमूनाको थप परीक्षण गर्ने गरिएको उहाँले बताउनुभयो । यही मङ्सिर १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन फैलिन नदिन दक्षिण अफ्रिका, बोत्सवाना, जिम्वाब्बे, नामिबीया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णयसमेत गरेको छ ।

ओमिक्रोन भाइरस सर्ने दर र सङक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यको खोज भइरहेको छ । ओमिक्रोन भेरियन्टमा धेरै सङ्ख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेका छन् ।

कोभिड–१९ का अरु भेरियन्ट जस्तै ओमिक्रोनको सङक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सवै मापदण्डको पालना (मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत रामो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकाले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागी हुन मन्त्रालयले अनुरोध गरेको छ ।

ओमिक्रोन भेरियन्ट विश्वका ३५ देशमा फैलिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ति देशमा ५७४ जना उक्त भेरियन्टबाट सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले गरेको प्रारम्भिक आकलनअनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको उल्लेख छ । दक्षिण एशियाका केही देशमा समेत ओमिक्रोन भेरियन्ट पुष्टि भइसकेको छ । भारतमा गत शुक्रबार मात्र सङ्क्रमण भएको पुष्टि भएको थियो ।