‘लगानीमैत्री नीति बनाऔँ’

‘लगानीमैत्री नीति बनाऔँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा अर्थतन्त्रको विकासका लागि लगानीमैत्री नीति बनाउन सरकारसँग आग्रह गनुभएको छ । उहाँले विकसित मुलुकले लगानीलाई महत्व दिएकै कारण अर्थतन्त्रमा अब्बल बनेको धारणा राख्नुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ६८औँ वार्षिक साधारणसभाको आज बुटवलमा उद्घाटनपछि वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्र लक्षित नीति बनाउँदा सरोकारवालाको सुझाव सल्लाह लिन आग्रह गर्दै उहाँले यसो गर्दा त्यसमा निजी क्षेत्रको पनि अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने भनाइ राख्नुभयो । उहाँले बुटवलको बमघाट–वसन्तपुर केबुलकार निर्माण सम्पन्न भएपछि बुटवलसँगै यस क्षत्रको पर्यटन उद्योग फस्टाउने विश्वास व्यक्त गर्नुभयो ।

सभामा सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले स्थापनाको समयदेखि हालसम्म यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सङ्घले खेलेको भूमिकाको चर्चा गर्नुभयो । कोरोना महामारीले मुलुकको अर्थतन्त्रलाई तहसनहस बनाएको बताउँदै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई व्यवसायमैत्री हुन आग्रह गर्नुभयो । प्रदेश संरचना स्थापना र प्रदेशको स्थायी राजधानीका लागि सङ्घले आफ्नो भवन सरकारलाई उपलब्ध गराएको स्मरण गर्दै स्थायी राजधानी कायम हुन नसके पनि बुटवल प्रदेशको आर्थिक केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा व्यवसायीमैत्री, लगानीमैत्री र रोजगारमैत्री वातावरण बन्दै गएको बताउनुभयो । निजी क्षेत्रसँगको सहकार्यबिना विकास सम्भव नभएको बताउँदै उहाँले बुटवलले निजी क्षेत्रलाई अगाडि लगाएर विकासका पाइला चालेको दाबी गर्नुभयो ।

नेपाली कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले विकास निर्माणका कार्यमा बुटवल पछाडि परेको आरोप लगाउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले स्वदेशी पूँजी स्वदेशमै परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै, महासङ्घका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सामाजिक सुरक्षा कोष कार्यान्वयनमा देखिएका समस्या समाधानमा गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो ।

यसैबीच, बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले तीनजना चिकित्सकलाई सम्मान गरेको छ । कोभिड महामारीको समयमा सङ्घले सञ्चालन गरेको कोभिड हेल्पडेस्कमा बसेर स्वास्थ्य परामर्श गरेका चिकित्सक द्वारिका प्रधान, सुशील श्रेष्ठ र सुशान्त श्रेष्ठलाई सम्मान गरिएको हो ।
–––