नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले खेलाडीले देशको गरिमा बढाउने भएकाले खेलको विकास जरुरी रहेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाले आज आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलाडी देशका गहना भएको उल्लेख गर्नुभयो । अध्यक्ष बिजुक्छेँले खेलकुदमा लाग्ने खेलाडीले सामूहिक, समन्वय, सहयोग र सहकार्यको सदुपयोग गर्दै खेलको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाले विद्यार्थीको खेल जीवनलाई निरन्तरता दिने र उत्साहित गर्ने सराहनीय कार्य गरेको बताउनुभयो । बालबालिकाका लागि कोरोनाविरुद्धको खोप ल्याउन सरकारले ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता हासिल गरेको स्पष्ट पार्नुभयो ।
यही मङ्सिर २४ गतेसम्म हुने सो प्रतियोगितामा नगरपालिकाभित्रका ६० भन्दा बढी विद्यालयका एक हजार ८८५ खेलाडी सहभागी हुने नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक एवम् वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो, जिम्नाष्टिकलगायत खेलका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।
यो पनि – पाँचथरमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने
पाँचथरमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता आयोजना भएको छ । तमु ल्होसारको अवसरमा फिदिम नगरपालिका–७ रानीटारको रानीटार युनाइटेड क्लबले उक्त प्रतियोगिताको आयोजना गरेको हो । ‘प्रथम ल्होसार महिला गोल्डकप फुटबल प्रतियोगिता’ नाम दिइएको उक्त प्रतियोगितामा प्रदेश नं १ का आठ वटा महिला फुटबल टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
प्रतियोगितामा द सेभेन युथ क्लब धनकुटा, धरान युथ क्लब सुनसरी, कनकाई नगरपालिका फुटबल टिम झापा, कर्णसिंह स्मृति क्लब ताप्लेजुङ, पथरीशनिश्चरे वुमेन्स फुटबल क्लब मोरङ, जनता सेभेन क्लब इलाम, आठराई गाउँपालिका फुटबल क्लब तेह्रथुम र आयोजक रानीटार युनाइटेड क्लबले सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष टङ्क गुरुङले जानकारी दिनुभयो ।
आगामी पुस १२ गतेदेखि १५ गतेसम्म फिदिम–७ रानीटारस्थित बराजु खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । उक्त प्रतियोगिताका विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजार रकमसहित ट्रफी, मेडललगायत पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्ने तथा प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने आयोजक क्लबले जनाएको छ । खेलकुदमार्फत महिलाको सशक्तिकरण र फुटबलमा महिला र पुरुषको समान सहभागिताका सम्वद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका सचिव रुपेन्द्र तामाङले बताउनुभयो ।



प्रतिक्रिया