जिल्ला अस्पतालमा अब भेन्टिलेटरसहितको उपचार सेवा

जिल्ला अस्पतालमा अब भेन्टिलेटरसहितको उपचार सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लामो समयको प्रतिक्षापछि जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालन हुने भएको छ । अस्पतालका अनुसार गम्भीर प्रकृतिका बिरामीका लागि आइसीयू सेवा सुरु गर्न स्वास्थ्य सेवा विभाग तथा प्रसूति विभागले एनेस्थेसिया चिकित्सकसहित अन्य दुई प्रसूति विशेषज्ञ पठाएको छ ।

एनेस्थेसियोलोजिष्ट डा कौशल तामाङलाई स्वास्थ्य विभागबाट जिल्ला अस्पतालमा खटाकाले यसै हप्तादेखि सो सेवा सञ्चालन हुन लागेको जिल्ला अस्पतालका प्रमुख डा जीवनारायण मण्डलले बताउनुभयो । स्वास्थ्य सेवा विभागले तीन वर्षअघि नै भेन्टिलेटर सेवासहितको आइसीयू सेवा सञ्चालन गर्न रु एक करोड बजेट व्यवस्थापन गरेको थियो । दुई भेन्टिलेटर मेसिन खरिद गरेर ल्याएको भए पनि एनेस्थेसिया चिकित्सक नहुँदा दुई वर्षदेखि उक्त मेसिन अस्पतालको कोठामै थन्किएको थियो ।

पटक–पटक आफूहरूले सम्बन्धित निकायमा एनेस्थेसिया चिकित्सकको माग गर्दा बल्ल विभागले चिकित्सक पठाएपछि विसं २०३९ मा स्थापना भएको पहिलो अस्पतालमा आइसीयू सेवा गर्न लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियारले बताउनुभयो ।

अब दुई वर्षदेखि कोठामा थन्किएका करोडौँ मूल्यका दुई भेन्टिलेटर मेसिन सञ्चालन गरिने र गम्भीर प्रकृतिका बिरामीको उपचार हुने जिल्ला अस्पताल उदयपुरले जनाएको छ । रु तीन लाख ५० हजार जनसङ्ख्या रहेको उदयपुरमा हालसम्म पनि भेन्टिलेटरसहितको आइसीयू सेवा नहुँदा गम्भीर प्रकृतिका बिरामी उपचारका लागि लाखौँ खर्चेर उपचारका लागि बाहिर धरान, विराटनगर, जनकपुर तथा काठमाडौँ जान बाध्य हुँदै आएका थिए । जिल्लामै सेवा पाउने भएपछि जिल्लावासी खुशी भएका छन् ।

यो पनि – जाजरकोटमा थपिँदै स्वास्थ्य संस्था

स्वास्थ्य संस्थाहरूको सङ्ख्या थपिँदै गएपछि रुकुमपश्चिमका स्थानीयवासीको सहजरूपमा उपचार गर्ने स्थानीयवासीको पहुँच बढेको छ । वडैपिच्छे स्वास्थ्य संस्था र पालिकास्तरमा अस्पताल बनेपछि स्थानीयवासीले सहजै उपचार पाउन थालेका हुन् ।

अहिले एउटा वडामा कम्तीमा एक अहेव र एक अनमी छन् । स–सानो उपचारका लागि स्थानीयवासीले वडा छाड्नुपर्ने बाध्यता टरेको छ । आधारभूत स्वास्थ्य एकाइमार्फत सर्वसाधारणले वडा तहमै आधारभूत तहको स्वास्थ्य सेवा पाएका छन् । त्यस्तै गाउँपालिका र नगरपालिकामा स्थानीयवासीले चिकित्सकबाटै उपचार सेवा पाइरहेका छन् ।

जिल्लामा छ स्थानीय तह छन् । स्थानीय तह कार्यान्वयनमा आएसँगै स्वास्थ्य संस्थाको सङ्ख्या पनि बढेको हो । छ स्थानीय तहमा छवटा अस्पताल छन् । दुई अस्पताल पुराना हुन् भने चार स्थानीय तहले आफैँ चिकित्सकसहितको अस्पताल सञ्चालनमा ल्याएका छन् । मुसीकोट नगरपालिकामा जिल्ला अस्पताल र चौरजहारीमा चौरजहारी अस्पताल पहिल्यै थिए । आठबीसकोट नगरपालिकाले ९ नं वडाको राडीमा नगर अस्पताल सञ्चालन गरेको छ । चौरजहारीले १० नं वडाको खोलागाउँ, सानीभेरीले ७ नं वडाको छोटेबगर र त्रिवेणीले ३ नं वडाको खारानेटामा अस्पताल सञ्चालन गरेका छन् ।

आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले स्थानीय तह भनेको सङ्घीयता कार्यान्वयनको मुख्य आधार भएको बताउनुभयो । आधारभूत आवश्यकता पूर्तिमा स्थानीय सरकार केन्द्रित भएको उहाँको भनाइ छ । छवटै स्थानीय तहले हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेका छन् । कुनै वडामा त दुई वटासम्म स्वास्थ्य केन्द्र स्थापना गरिएको मुसीकोट नगरप्रमुख देवीलाल गौतमले बताउनुभयो । अहिले स–साना स्वास्थ्य समस्या वडामै निदान भइरहेको चौरजहारी नगरपालिका–१२ कालीबहादुर ओलीले बताउनुभयो । “वडा बनेपछि स्वास्थ्यचौकी पनि वडामै बन्यो र सेवा पाइरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिले खोप सेवा, परिवार नियोजन सुविधा र सामान्य उपचार घर नजिकै पाइरहेका छौँ ।”

जिल्लाका चार स्थानीय तहले बनाएका अस्पतालले मात्रै करिब ६२ हजार बिरामीको उपचार गरेका छन् । चौरजहारी नगरपालिकाका स्वास्थ्य संयोजक डन्डप्रसाद शर्माले नगरपालिकाले स्थापना गरेको अस्पतालबाट सर्वसाधारणले नजिकै सेवा पाइरहेको बताउनुभयो ।