अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच

अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

छायाँनाथ रारा नगरपालिका–१ मुगु गमगढीका अग्निपीडितलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आयोजनामा सोमबार उनीहरूलाई एकदिने निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरको निर्देशनमा प्रहरी निरीक्षक डा शत्रुघन बहारदार नेतृत्वको मेडिकल युनिटको टोली औषधि सामग्रीसहित विकट जिल्ला मुगुमा पुगेर निःशुल्क स्वास्थ्य जाँच गरेको प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । यही कात्तिक २९ गतेको भीषण आगलागीपीडित भएका २१ घरपरिवारका ८० जनालाई निःशुल्क स्वास्थ्य जाँच गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

अग्निपीडित, सर्वसाधारण र प्रहरी कर्मचारीका परिवार गरेर २६९ जनालाई निःशुल्क स्वास्थ्य जाँच गरिएको प्रहरी निरीक्षक डा शत्रुघन बहरदारले जानकारी दिनुभयो । विकट जिल्लाका भूपू, अशक्त र बहालवाला प्रहरी कर्मचारीका परिवार, अग्निपीडित सर्वसाधारणलगायतलाई प्रत्यक्षरूपमा निःशुल्क स्वास्थ्य जाँच गर्ने र औषधि दिने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रहरी निरीक्षक डा बहरदारले बताउनुभयो ।

“शिविरमा श्वासप्रश्वास, हाडजोर्नी तथा मांसपेशी, पाठेघर, छाला तथा खानपिनबाट लाग्ने रोगको बिरामी भेटिए”, उहाँले भन्नुभयो, “हामीले स्वास्थ्य जाँचसहित उहाँहरूलाई निःशुल्क औषधि वितरण गरेका छौँ ।” उहाँका अनुसार निःशुल्क स्वास्थ्य शिविरबाट १४७ महिला, १०१ पुरुष र २१ जना भूपू, असक्त र कार्यरत प्रहरी कर्मचारीका परिवारले निःशुल्क उपचार सेवा लिएका छन् । त्यस्तै प्रहरी निरीक्षक जगदीश भट्टको नेतृत्वमा यही मङ्सिर २३ गते कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यो पनि- पुरस्कार पाएपछि दङ्ग लोपोन्मुख समुदायका प्रधान किसान

मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका लोपोन्मुख समुदायका ५६ वर्षीय प्रधान किसान सोमबार ‘उत्कृष्ट कृषि पुरस्कार’ पाएपछि दङ्ग पर्नुभयो । उहाँलाई लाल भागिरथा बानियाँ प्रतिष्ठानले नगद रु ३१ हजारसहित सम्मान गरेको थियो । दुई वर्षअघि स्थापना भएको प्रतिष्ठानले प्रत्येक वर्ष उत्कृष्ट किसानसहित सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्ने व्यक्तिहरूलाई पुरस्कृत गर्दै आएको छ ।

आमा ठेक्री किसान र बुवा रामचरण किसानको दोस्रो सन्तानका रूपमा विसं २०२२ मा झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीमा जन्मनुभएका प्रधान सानै उमेरदेखि खेती किसानीमा लाग्नुभयो । तर उहाँलाई खेतीपाती गर्ने मान्छेले पुरस्कार पाउँछ भन्ने कहिल्यै लागेन । उहाँ भन्नुहुन्छ, “जीविका चलाउन अग्र्यानिक तरकारी खेती गर्थेँ आज त पुरस्कार पो पाएँ । पुरस्कारले उहाँलाई थप ऊर्जा मिलेको बताउनुभयो ।

विसं २००७ तिर उहाँको बुवाआमा बाहुनडाँगीमा बसाइँ सरेर आउनुभएको थियो । अर्काको खेतीमा कमाइ गरेर जीविका चलाउँदै आएको परिवारमा पढ्ने अवसर सम्भव थिएन । अर्काको जग्गामा अधियाँ र ठेक्का गरेर खेती लगाउने उसबेलाको चलन थियो । विसं २०४७ तिर प्रधान किसानले भारतको नक्सलबाडी बजार गएर भारु ४० को बर्मेली मुलाको बीउ किनेर ल्याउनुभयो । त्यसको साग प्रतिमुठ्ठा रु दुईका दरले बेच्नुभयो । भरु ४० को बीउको साग बेच्दा रु दुई हजार ४८० आम्दानी भयो । यो नै उहाँले पहिलो व्यावसायिक तरकारी खेती र त्यसको कमाइ भएको बताउनुभयो ।

अर्काको खेती कमाउँदा वर्षभरि हातमुख जोड्न मुस्किल हुने भएको हुँदा उहाँले तरकारी खेतीमा मन र धन लगाउन थाल्नुभयो । पहिलो कमाइको रु एक हजार ९०० हालेर एउटा पाडो किनेको सुनाउनुभयो । घरमै भएको गोरु बेचेको पैसाले अर्को पाडो किनेपछि उहाँले परिवारका सबै सदस्यलाई तरकारी खेतीमै लगाएको बताउनुभयो ।

उहाँले नजिक रहेको धिमाल गाउँमा सब्जी खेती गरेको देखेर व्यावसायिक तरकारी खेती गर्न सुरु गरेको बताउनुभयो । विसं २०५८ मा उहाँले भूमिसुधार कानुनबमोजिम १९ कठ्ठा मोही हकमार्फत जग्गा प्राप्त गरेपछि व्यावसायिक तरकारी खेती गर्न सजिलो भएको अनुभव सुनाउनुभयो । “आफ्नै जग्गा १९ कठ्ठा र भाडा (लिज)मा लिएको १८ कठ्ठा जग्गामा तकारी खेती गर्दै आएको छु”, उहाँ भन्नुहुन्छ, “मेरो परिवार धान्ने गरी कमाइ भएको छ ।” उहाँको बारीमा अहिले बैगुन, बन्दाकोभी, फुलकोभी, बडकाउली, टमाटर, खुर्सानी, धनियाँ, बोडी, घिरौला, झिङ्गनी, फर्सी, लौका, करेला, रायो साग, मुला, काक्रा, सुप, लाफासाग आदि तरकारी लहलह फस्टाएको छ ।

किसान जाति नेपालको अल्पसङ्ख्यक जातीय समुदाय हो । करिब ५०० को हाराहारीमा उहाँहरूको बसोबास झापामा मात्र भएको मानिएको छ । सरकारले लोपोन्मुख समुदायको संरक्षण गर्न मासिकरूपमा सामाजिक सुरक्षा भत्तासमेत प्रदान गर्दै आएको छ । शिक्षा, रोजगारी, स्वास्थ्य, उद्यम आदिमा पछाडि पारिएको यो समुदायमा प्रधान किसान उदाहरणीय भएको महसुस गरेर प्रतिष्ठानले पुरस्कार प्रदान गरेको संस्थाका अध्यक्ष हरिचरण बानियाँले बताउनुभयो ।

लोपोन्मुख समुदायका प्रधान किसानले अनेक प्रतिकूलताका बीच व्यावसायिक तरकारी खेतीमा देखाएको लगाव, मेहेनत र प्रतिफल समाजमा हरेक सुविधा र अवसरमा पहुँच राख्ने अन्य समुदायका लागि समेत अनुकरणीय हुने अध्यक्ष बानियाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “किसान समुदायमा त उहाँ जत्तिको प्रगतिशील र जागरुक अर्को परिवार नै भेटिएन ।”

उहाँकै छिमेकी सामाजिक अभियानकर्मी रमा भण्डारीले उहाँले जे काम पनि मन लगाएर गर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “उहाँले लगाएको खेतको आलीमा कमिला पनि चिप्लिन्छ भन्ने गाउँमा आहानै छ ।” उहाँले आफैँले गाई, राँगा, बाख्रा र कुखुरा पालेर त्यसको मल खेतीमा प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । उहाँले फलाएको तरकारी विषादिरहित भएको हुँदा किन्नेहरूको बारीमै भीड लाग्ने गर्छ । उहाँले तरकारी खेतीबाट वार्षिक रु दुई लाख मुनाफा गर्दै आएको बताउनुभयो । तरकारी खेतीबाटै बाँस, काठ र खरको पुरानो झुपडीको ठाउँमा उहाँले अहिले इँटा र सिमेन्टको एकतले पक्की घर बताउनुभयो ।

प्रधानसँगै आज प्रतिष्ठानले उत्कृष्ट चिकित्सकका रूपमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवं न्यूरो सर्जन डा गोपाल सेडाईँ र मेचीनगर–७ गोमनसरीकी गृहिणी ज्ञानु खड्कालाई असल गृहणीका रूपमा नगद रु ३१ हजारसहित सम्मानपत्रले सम्मान गरेको छ । विभिन्न क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहन र सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले दुई वर्षअघि स्थापना भएको प्रतिष्ठानले रु १० लाखको अक्षयकोष नै सञ्चालन गरिरहेको छ ।