गत शनिबार सम्पन्न भएको नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक गरिएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको छ । बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी हुनुभएको हो । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित हुनुभएको छ ।
यसैगरी, महामन्त्रीमा कन्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी हुनुभएको छ । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो । यस्तै महिलातर्फकोे सहमहामन्त्रीमा जीवन डङ्गोल विजयी हुनुभएको छ । जसमा निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङको उम्मेदवारी थियो ।
यसैगरी खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी हुनुभएको छ उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो । जसमा बिरबहादुर तामाङ, महेन्द्र थिङ, राजकुमार पाठक, जगन्नाथ धिमाल र जयनारायण सापकोटा मतसहित पराजित हुनुभएको छ । कांग्रेस बागमतीको सभापतिमा भने ईन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ ।
यो पनि – माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयनमा सकस
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई यहाँका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले यहाँका पाँच पालिकामध्ये तीनवटामा अझै नेतृत्व चयन गर्न सकेको छैन । मादी र रुपा गाउँपालिका कमिटीमा नेतृत्व चयन गरिए पनि भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरसहित अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा अध्यक्षका आकाङ्क्षीबीचमा सहमति नजुट्दा नेतृत्व चयन गर्न अप्ठ्यारो परेको हो ।
माओवादीको सबै पालिका कमिटीमा नेतृत्वका लागि एकभन्दा बढीको दाबी छ । पार्टीले सर्वसम्मत नेतृत्व चयनलाई पहिलो प्राथमिकतामा राखे पनि कसैले पनि आफ्नो दाबी नछाड्दा सहमति बन्न सकेको छैन । नेतृत्व चयन हुन बाँकी पालिकामा पालिका कमिटीका सदस्यहरूको टुङ्गो लागे पनि अध्यक्ष र पदाधिकारी चयन बाँकी छ ।
माओवादीका जिल्ला संयोजक बखानसिंह गुरुङले नेतृत्व चयन हुन बाँकी पालिकाका अध्यक्षलगायत पदाधिकारी सहमतिका आधारमा टुङ्गो लगाउने प्रयास जारी रहेको बताउनुभयो । मङ्सिर २५ गते हुने प्रदेश अधिवेशनअघि सबै पालिकामा नेतृत्व चयन गरिसक्ने लक्ष्यअनुसार आकाङ्क्षीहरूका बीचमा बसेर छलफल गरिएको र निचोडमा पुग्ने दाबी उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेतृत्व चयन गर्न बाँकी पालिकामा प्रदेश अधिवेशनअगावै नेतृत्व चयन गर्ने गरी छलफल भइरहेको छ । सहमतिका लागि अधिकतम प्रयास गर्छौँ । सहमति नबने विधानमा भएको व्यवस्थाअनुसार निर्वाचन प्रक्रियाका माध्यमबाट समेत नेतृत्व छनोट गर्नेछौँ ।”
पोखरा महानगरको बुधबार कमिटीको बैठक बसेर नेतृत्व चयनको प्रयास गरिने माओवादीले जनाएको छ । माछापुच्छ«े र अन्नपूर्णमा पनि छिट्टै प्रक्रियामा लगिने बताइन्छ । नेतृत्वका आकाङ्क्षीहरूले आफ्नो दलिल पेश गर्नु जायज रहे पनि लचकता अपनाउन पार्टीले आग्रह गरेको संयोजक गुरुङले बताउनुभयो ।
नेतृत्वका आकाङ्क्षीहरूले भने लामो समय पार्टी कमिटीलाई अनिर्णको बन्दी नबनाउन पार्टी नेतृत्वसँग आग्रह गरेका छन् । माछापुच्छ«े गाउँ कमिटीमा अध्यक्षका आकाङ्क्षी सुनिल दाहालले छिटो निर्वाचन प्रक्रिया सम्पन्न गर्न आग्रह गर्नुभयो । लामो समय नेतृत्व टुङ्गो नलाग्दा नेता, कार्यकर्तामा उत्साह कम हुँदै जाने भएकाले छिटो गर्न भनिएको उहाँले बताउनुभयो । पालिका अधिवेशनअन्तर्गत माओवादीले जिल्लाको मादी गाउँपालिकामा तोरण गुरुङ, रुपामा नवराज बराल र मजदुर विशेष शाखामा टङ्क पौडेलेका अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
आगामी पुसमा राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले वडा र पालिका अधिवेशन सम्पन्न गरेको छ । यही मङ्सिर २५ गते माओवादीले देशका सातवटै प्रदेशमा एकै दिन प्रदेश अधिवेशन गर्न लागेको छ ।



प्रतिक्रिया