नेपाली कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने १४औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ । हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले राससलाई जानकारी दिनुभयो । महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने उहाँले बताउनुभयो ।
“चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङको तयारी गरेका छौँँ”, पाण्डेले भन्नुभयो । समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गर्न लागेको छ ।“अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ”, संयोजक पाण्डेले भन्नुभयो । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिएको छ ।
यो पनि – कांग्रेस प्रदेश नं १ का सभापतिमा थापा
नेपाली कांग्रेस प्रदेश नं १ का सभापति पदमा उद्धव थापा निर्वाचित हुनुभएको छ । हालै सम्पन्न अधिवेशनमा १४ जना सदस्य निर्वाचित हुनुभएको छ । निर्वाचित हुने सदस्यमा बिमल आचार्य, भूमिराज राई, हुकुमसिंह राई, राजकुमार बराइली, रेगिना भट्टराई, चन्द्रकुमारी खड्का, प्रकाश कार्की, टेकबुहादुर खुजुम लिम्बू, फुलवति राजवंशी, शोभा श्रेष्ठ, मीरा खड्का र किरण भट्टराई निर्वाचित भएको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईंले बताउनुभयो ।
“सभापतिसहित धेरै नै सदस्य झापाबाट आउनुभयो प्रदेशमा” उहाँले भन्नुभयो,“अब जिल्लाबाट एक जना केन्द्रीय महामन्त्रीसहित सातजना सदस्यको उम्मेद्वारी तय भएको छ केन्द्रीय महाधिवेशनमा । सबै जितिन्छ भन्ने आशा छ ।”उहाँका अनुसार जिल्लाबाट महामन्त्रीमा विश्वप्रकाश शर्माले र सदस्यमा सुधीर शिवाकोटी, महेन्द्र सुब्बालगायत सात जनाले उम्मेद्वारी दिने तयारी गर्नुभएको बताइएको छ ।
प्रतिक्रिया