रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिनुभयो ।
उहाँले बढी आवतजावत हुने जिल्लाको बेलहिया नाकालगायतका अन्य विभिन्न नाकामा पनि उच्च सर्तकता अपनाउन सम्बन्धित पालिकालाई पत्राचार गरिएको समेत जानकारी दिनुभयो । “विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ” उहाँले भन्नुभयो ।
बेलहिया नाकाबाट भारतलगायत, अष्टे«लिया, नेदरल्याण्ड, चीनलगायतका मुलुकबाट पर्यटक नेपाल भित्रिने गर्छन् । स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीले सीमा क्षेत्रमा मास्क र सेनिटाइजरको प्रयोगलाई कडाइ गर्दै खोपको मात्रा पूरा भएको वा नभएकोसमेत निगरानीमा राख्न र शङ्कास्पद भए ‘रेपिड एन्टिजोन टेष्ट’ गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
उहाँले जनजीवनलाई सामान्य गर्दै विदेशी पर्यटकलाई लक्षित गरेर सचेतना अपनाउने विषयलाई प्राथमिकता दिइएको उल्लेख गर्दै बुटवल उपमहानगरापलिका, तिलोत्तमा र देवदह नगरपालिका, ओमसतिया र रोहिणी गाउँपालिकामा १८ वर्ष उमेर माथिकालाई खोपको दुई मात्रा दिइएको बताउनुभयो ।
उहाँले जिल्लाका अन्य ११ पालिकामा पनि आजबाट नै खोपाको दुई मात्रा दिइने जानकारी दिँदै अहिलेसम्म रुपन्देहीमा खोपको पहिलो डोज लगाउने ६० प्रतिशत र दोस्रो डोज लगाउने ५० प्रतिशत भएको बताउनुभयो । सीमा क्षेत्रमा शङ्कास्पद भेटिएको नागरिकमा रेपिड एन्टिजोेन टेष्ट पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय प्रयोगशालाको समन्वयमा उपचार गरिने बताइएको छ ।ओमिक्रोनलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ । जिल्लामा अहिलेसम्म कोभिड–१९ बाट ५५८ को मृत्यु भएको कार्यालयले जनाएको छ ।
यो पनि – खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु
कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गाैला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।
यो पनि – टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण
२१ मङ्सिर (रासस÷सिन्ह्वा) ः टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार मात्र २० हजार जनामा यो सङ्क्रमण देखिएको हो । टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ । यहाँ सोमबार मात्र यो सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको छ । यहाँ यो संक्रमणबाट अहिलेसम्म ७८ हजार जना भन्दा बढीको ज्यान गएको पाइएको छ ।
यो पनि – एक सय शय्याको अस्पताल हुनेले नर्सिङ पढाउन पाउँछः मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पार्नुभयो ।
आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एक सय शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएकाले मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउँछन् । अन्यको हकमा भने छलफल भइरहेको मन्त्री पौडेलको भनाइ थियो । मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको जानकारी दिँदै उहाँले पिसिएल नर्सिङ्को अध्ययन विसं २०८० देखि खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने पनि बताउनुभयो ।



प्रतिक्रिया