नयाँ विचार विकास गर्न लागिपरेका छौँ ः अध्यक्ष दाहाल

नयाँ विचार विकास गर्न लागिपरेका छौँ ः अध्यक्ष दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको ध्यान नयाँ विचारको विकास गर्दै देशलाई एकताबद्ध गर्नमा रहेको बताउनुभएको छ । खुमलटारमा आज आयोजित पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उहाँले मुलुकलाई नयाँ गति दिने गरी विचारको विकास गर्न लागिएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “त्यसकारण अहिले यो पटक देशैभरि बलियो पार्टी बनाउनुपर्छ भनेर हामी लागेका छौँ । हाम्रो ध्यान अब समाजवादी क्रान्तिको कसरी विकास गर्ने भन्नेमा छ ।” उहाँले मधेसकै पहिचान र अधिकारका निम्ति आफूहरुले लडाइँ लडेको बताउनुभयो । उहाँले भन्नुभयो, “बीचमा मधेसी जनतामा भ्रम दिने पनि काम भयो । तर अहिले मधेसमा माओवादी केन्द्रप्रति लहर आएको छ । म मधेसका विभिन्न जिल्लाका कार्यक्रममा जाँदा मैले जनतामा माओवादीप्रति उत्साह देखेको छु ।”

मधेसी जनताको मुक्ति र अधिकारको कुरा गर्ने र उनीहरुलाई अगाडि बढाउने हो भने माओवादी केन्द्रबाहेक अरू कसैको पनि विचार त्यहाँका जनताको पक्षमा नभएको उहाँको दाबी थियो । उहाँले भन्नुभयो, “हाम्रो पहिचान र अधिकारको निम्ति लड्ने पार्टी त माओवादी नै हो रहेछ भन्ने चेतना अहिले बिस्तारै आउँदै गएको छ ।” एकअर्को प्रसङ्गमा अध्यक्ष दाहालले आफूले नेपालको समाजवाद कस्तो हुने भन्नेमा बहस गर्ने र नेपाली जनतालाई अझ माथि कसरी उठाउने भन्ने बारेमा प्रतिवेदन लेखिरहेको बताउनुभयो ।

उहाँले पार्टीमा पुनः जोडिन आएका नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त पनि व्यक्त गर्नुभयो । पार्टी प्रवेश गर्ने विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले माओवादी मधेसका जनताको वास्तविक हक अधिकारका लागि लड्ने पार्टी भएको बताउनुभएको थियो । झन्डै दुई दर्जन नेता तथा कार्यकर्ता एमाले र जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

यो पनि – ओलीले एमाले सिध्याएर नारायणी नदीमा तिलाञ्जली दिए : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले समाप्त पारेर केपी शर्मा ओलीले नारायणी नदीमा तिलाञ्जली दिएको बताउनुभएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकामा आज पार्टीको १ नम्बर प्रदेशस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले ओलीवादले एमाले समाप्त भइसकेकाले पार्टीभित्र रहेका नेता कार्यकर्ताको कन्तबिजोग हुने दिन छिट्टै आउने बताउनुभयो । अहिले एमालेभित्र रहेका नेता कार्यकर्तालाई समस्या भइरहेको भन्दै उहाँले एमाले नछोडे उनीहरुको समस्या झन् बढ्दै जाने बताउनुभयो ।

एमालेको राष्ट्रिय भेलालाई कुम्भ मेलाको संज्ञा दिँदै अध्यक्ष नेपालले एमालेको हविगतका कारण पार्टीको झण्डा बोक्ने कार्यकर्तासमेत नहुने ठोकुवा गर्नुभयो । चितवनमा गैँडालाई थमाइएको पार्टीको झण्डा छिट्टै अब बाँदरले बोक्ने दिनसमेत आउने उहाँको भनाइ थियो । ओलीको एमालेभन्दा आफ्नो पार्टी देशभर सदृढ बन्दै गएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईसहितका पार्टीका सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

यो पनि – न्यायालय सुधार्ने विषयमा कुनै आपत्ति छैन : एमाले अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले न्यायालय सुधार्ने विषयमा आफ्नो कुनै आपत्ति नरहेको बताउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोग लगाउन माग गर्दै आज आन्दोलनरत नेपाल बार एसोसिएसनको टोली बालकोटस्थित ओली निवास पुगेपछि उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “न्यायालय सुधार्ने विषयमा हाम्रो कुनै आपत्ति छैन, जहाँनिर कमी छ, त्यसलाई हटाएर जानुपर्छ भन्ने हो तर तपार्इंहरुले उठाएको विषय २० प्रतिशत मात्रै छ, त्यसलाई पूर्णता दिएर १०० प्रतिशत बनाएर अगाडि बढौँ ।” अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले गजेन्द्र हमाल कांग्रेसको कोटाबाट मन्त्री भएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि उहाँ त कांग्रेसको कोटाबाट हो चोलेन्द्रको कोटा होइन भनेको भन्दै लेनदेन भएकै होइन भनिरहेको अवस्थामा महाअभियोग दर्ता नै नहुने बताउनुभयो ।

ओलीले अहिले न्यायालय स्वच्छ र निष्पक्ष नभएको भन्दै प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट मात्रै न्यायिक सुधारको सुरुआत नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “महाभियोग लगाउन हामी निर्णायक होइनाँै, हामीसँग दुई तिहाइ पनि छैन, हामी निर्णायक होइनाँै, यहाँ कोही पनि एक्लै निर्णायक छैन, यहाँ तपार्इंहरुलाई हामी बाधक हौँ भन्ने लाग्या छ, यहाँ केही साथीहरु डबल गेम खेलिरहेका छन्, राजनीतिक दलहरु तपाईंहरुसँग छन् जस्तो मात्रै गरेका छन्, तपार्इंहरुसँग छैनन् ।”

उहाँले आफू प्रधानमन्त्री हुँदा आफूविरुद्ध परेका मुद्दाको अदालतमा लिखित जवाफ पठाउन मात्रै ५६ हजार हस्ताक्षर गरेको भन्दै हरेक माइन्युट अदालत लिएर जानुपर्ने यस्तो कानूनी र प्रक्रियागतरूपमा सच्याउनुपर्ने बताउनुभयो । उहाmँ् अदालतले कसैप्रति पनि जवाफदेही हुनु नपर्ने स्थिति आएको भन्दै आफ्नो पालामा अदालतसँग कुनै लेनदेन नगरेको दाबी गर्नुभयो ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले एमालेको सहयोगबिना महाअभियोग पारित हुँदैन भन्दै सघाउन आग्रह गर्नुभयो । सबै दल नमिल्दा महाअभियोग पास नहुने अवस्था आएको भन्दै उहाँले जिम्मेवार प्रतिपक्षको नेता र विगतमा पनि न्यायपालिकाभित्र विसङ्गतिका विषयमा गलत हुँदा आवाज उठाएको नेता भएकाले भेटेरै सहयोग माग्न आएको बताउनुभयो । कानून व्यवसायीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन ओलीको सहयोग मागेका थिए ।

ओलीसँगको भेटमा वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्वाध्यक्ष शम्भु थापाले विगतका कतिपय मुद्दा बिर्सेर अहिलेकोे आन्दोलनलाई सघाउन ओलीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंले लडाइँ लडेर जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउनुभएको छ, विगतमा कतिपय मुद्दामा संवैधानिक दृष्टिले व्याख्या, विश्लेषण गर्ने सन्दर्भमा फरक भयौँ होला तर भ्रष्टाचारको विषयमा हामी तपार्इंसँग सधैँ छौँ, तपाईंले सहयोग गर्नुस्, हामीलाई तपार्इंबाट आशा छ ।”

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणालाई हटाउन माग गर्दै एमाले अध्यक्ष ओलीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । बारले कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सृजना गरेको लगायतका विभिन्न १७ वटा आरोप लगाएर महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ । बालकोटमा अध्यक्ष ओली, उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेलसँग नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, पूर्वाध्यक्ष शम्भु थापा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठलगायतको टोलीले ज्ञापनपत्र बुझाएको हो ।