भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन थालिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले जिल्लामा उच्च सतर्कता अपनाउन निर्णय गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीको अध्यक्षता आज बसेको बैठकले उच्च सतर्कता अपनाउने र पूर्वतयारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । बैठकले यातायातका सवारी साधन र विद्यालय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै क्वारेन्टिन र आइसोलेसन निर्माण गरी स्थानीय तहले पूर्वतयारी अवस्थामा रहन अनुरोध गर्ने, झुलाघाट नाकाबाट भित्रिने नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ रिपोर्ट आएका सङ्क्रमितलाई राख्न सदरमुकामस्थित दशरथचन्द नगरपालिकालाई आइसोलेसन निर्माण गर्न अनुरोध गर्ने निर्णय भएको छ ।
जिल्ला अस्पताल बैतडीले अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक भवन निर्माण यथाशीघ्र गर्ने र मौज्दात रहेका अक्सिजन सिलिण्डरलाई तयारी अवस्थामा राख्ने, पठनपाठन सुचारु राख्दै कोभिड–१९ को स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालन गर्ने र सार्वजनिक सवारी सञ्चालनको लागि कोभिड–१९ जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र सञ्चालन गर्न यातायात व्यवसायीलाई पत्रचार गर्ने र सोको अनुगमनका लागि सुरक्षा निकायलाई अनुरोध गर्ने निर्णय भएको छ ।
भारतमा तीव्ररुपमा फैलिएको ओमिक्रोनको जोखिम बैतडीमा पनि रहेकाले पूर्वतयारी गर्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताउनुभयो । बैतडीमा हाल चार जना मात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ ।
यो पनि – ओमिक्रोनपछि स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ
मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको अध्यक्षतामा जिल्ला कोरोना व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था बारेमा समीक्षासहित विभिन्न निर्णय गरेको छ । बैठकले हाल कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिका, युरोप तथा एसिया लगायतका मुलुकहरुमा क्रमिक रुपमा फैलिँदै गइरहेको र नेपालमा समेत उक्त भेरियन्ट फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी सरकारी कार्यालय, शिक्षण संस्था, विद्यालय, उद्योग प्रतिष्ठान, निजी क्षेत्र लगायतमा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने निर्णय गरेको छ ।
धार्मिक कार्य, विवाह, व्रतबन्ध लगायतका कार्यक्रमहरु स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी गर्ने गराउने, मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा मापदण्डको सन्दर्भममा स्थानीय तहले प्रचारप्रसारको कार्यलाई थप प्रभावकारी बनाउने भएको छ । साथै कोभिड–१९ को सङ्क्रमण प्रभाव न्यूनीकरण र नियन्त्रण गर्न पूर्वतयारीका लागि जिल्लास्थित स्थानीय तहलाई अनुरोध गर्ने, भारतबाट आउने तथा लामो समय भारतमा बसी नेपाल फर्केका नेपाली नागरिकलाई सीमा नाकामा स्वास्थ्य हेल्थ डेस्कले अनिवार्य रुपमा ज्वरो लगायतका सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यकतानुसार ऐन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । यस्तै एन्टिजेन परीक्षणबाट पोजिटिभ आएका बिरामीलाई तत्काल आइसोलेसनमा बस्न लगााउने, सबै खालका सवारी साधनहरुमा यात्रुहरुले अनिवार्य मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न लगाउने र हाल भइरहेको विभिन्न राजनीतिक दलहरुको कार्यक्रमहरुमा मानिसहरुको अत्यधिक भीडभाडका कारण कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने हुँदा मास्क र स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी कार्यक्रम सञ्चालन गर्ने गराउने जस्ता बैठकले निर्णय गरेको छ ।
हाल कोभिड–१९ को सङ्क्रमण प्रदेश नं १ मा न्यून देखिए पनि नयाँ भेरियन्टको सङ्क्रमणको विषयलाई लिएर मानिसहरुमा निकै चिन्ता पनि देखिएको छ । केही मानिसहरु मास्क र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने र गराउनेतर्फ चेतना पनि अभिवृद्धि गरिरहेको पाइएको सो अवसरमा जानकारी दिइयो ।
यो पनि – पछिल्लो २४ घण्टामा थप ३१५ जनामा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख पाँच हजार २०५ पुगेको छ । निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, भक्तपुर, कास्की, पूर्व नवलपरासी, बाँके र कैलाली छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, सल्यान र मुगु छन् । नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा ६ हजार १३, संस्थागत आइसोलेशनमा ३३९, आइसियुमा १२३ र भेन्टिलेटरमा ३० जनाको उपचार हुँदैछ ।
कोरोनाबाट दुई जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४५ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २७ हजार ७५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म खोपको पहिलो मात्रा एक करोड ५ लाख चार हजार ७६४ जनाले र पूर्ण मात्रा ८७ लाख ८० हजार ४३३ जनाले लगाएका छन् ।
यो पनि -टर्कीमा कोरोनाको सङ्क्रमण बढ्दै, एकै दिनमा २० हजारमा संक्रमण
२१ मङ्सिर (रासस÷सिन्ह्वा) ः टर्कीमा कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको पाइएको छ । पछिल्लो समयमा टर्कीमा यसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । प्राप्त समाचारअनुसार यहाँ सोमबार मात्र २० हजार जनामा यो सङ्क्रमण देखिएको हो । टर्कीको स्वास्थ्य मन्त्रालयले सोमबार मात्र यहाँ २० हजार ३३ जनामा संक्रमण भएको देखिएको जनाएको छ । यहाँ सोमबार मात्र यो सङ्क्रमणबाट १८७ जनाको ज्यान गएको छ । यहाँ यो संक्रमणबाट अहिलेसम्म ७८ हजार जना भन्दा बढीको ज्यान गएको पाइएको छ ।
यो पनि – अमेरिकाले सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन ओलम्पिक कूटनीतिक बहिष्कार गर्ने
२१ मङ्सिर (रासस÷एएफपी) ः अमेरिकाले सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने सोमबार घोषणा गरेको छ ।चीनमा मानव अधिकारसम्बन्धी विषयबारे चिन्ताका कारण प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने ह्वाइट हाउसले जनाएको हो ।
तर उसले अमेरिकी खेलाडीहरु भने उक्त प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने बताएको छ ।गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताउनु भएको थियो ।ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमवार बहिष्कारको पुष्टि गर्दै अमेरिकी प्रशासनले ओलम्पिकको “उत्सव“ मा योगदान नगर्ने बताउनु भएको छ ।
यो पनि – जातीय दंगामा परी ४८ जनाको ज्यान गयो
२१ मङ्सिर (रासस÷सिन्ह्वा) ः सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । सोमबार यहाँको सो संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उक्त क्षेत्रमा २ दिनयता भएका यी जातीय हिंसामा परेर ती नागरिकको ज्यान गएको पाइएको छ ।
अधिकारीहरुले जनाएअनुसार ती क्षेत्रमा यहाँका स्थानीय जातिबीच झडप भएको थियो । यस झडपका क्रममा हतियारधारी उनीहरुले आपसमा हमला गरेका थिए ।दक्षिणी डारफोरको किरानीक भन्ने स्थानमा हतियारधारीहरुले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको र अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । सो संस्थाकाअनुसार मृत्यु हुने व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन । अरु कैयौँको ज्यान गएको पनि आशंका गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।
–––



प्रतिक्रिया