भारतीय बजारप्रतिको नेपाली मोह

भारतीय बजारप्रतिको नेपाली मोह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, २१ मङ्सिर (रासस) : कोरोनाको सन्त्रास हटेपछि नेपाली उपभोक्ताको अहिले बाँके जिल्लाको सीमापारि रुपैडिहा बजारमा थामिनसक्नुको घुइँचो छ । भारतीय बजारमा सामान सस्तो पाइन्छ भन्ने मान्यताका उपभोक्ताले रुपैडिहाको सबै पसल भरिभराउ भएको पाइन्छ । यता नेपालगञ्ज बजारका पसलेलाई भने उपभोक्ता पर्खाइले सधैँ पिरोल्ने गर्छ । आमउपभोक्ताले रुपैडिहा बजारबाट घरायसी र व्यक्तिगत प्रयोजनका सामान दिनहुँ भन्सार नतिरेरै ल्याउने गर्छन् । यही कुराले नेपालगञ्जमा व्यापारीलाई सधैँ चिमोटने गर्छ । भन्सार तिर्न नपरेपछि रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड त्यहाँका व्यापारीका लागि थेगी नसक्नुहुन्छ भने नेपालगञ्जका व्यापारी पसलमा ग्राहक पर्खी बस्नुपर्ने विडम्बनापूर्ण स्थिति छ ।

नेपालगञ्जभन्दा सीमापारि भारतीय बजार रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने बाँकेलगायत छिमेकी बर्दिया, सुर्खेत, दाङलगायत जिल्लाका आमउपभोक्ताको बुझाइ रहेको पाइन्छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्य भन्नुहुन्छ, “यो नै गलत बुझाइ हो । बहुराष्ट्रिय कम्पनीका सामान रुपैडिहाभन्दा नेपालगञ्जमा सस्तो पाइन्छ, भारतीय उत्पादन पनि हामीले थोकमा ल्याएर यहाँ बिक्री गर्दा रुपैडिहाभन्दा यही सस्तो पर्न जान्छ तर वर्षौंदेखि सीमापारि सस्तो पाइन्छ भन्ने आमउपभोक्ताको सोच परिवर्तन हुन सकेन ।”

केही महिनाअघि नेपालगञ्ज भन्सार कार्यालयले रु एक हजारभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने उर्दी गरेपछि बीचमा केही समय रुपैडिहा जानेको सङ्ख्यामा कमी आएको थियो । यो निर्णय दीर्घकालीन हुन् नसक्दा अहिले फेरि रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या ह्वात्तै बढेको छ । चर्को घाम, समयको बर्बादी, रिक्सा, टाँगा र माइक्रोबसमा कोचिएर, भन्सार र एसएसबीको हेपाइ सकेर किन नेपाली रुपैडिहामा सामान लिन जान्छन् त ? उपभोक्ता भन्छन्, “नेपालगञ्जभन्दा सीमापारि रुपैडिहामा सामान सस्तो पाइन्छ र भन्सार पनि तिर्नु पर्दैन ।”

घरको करेसाबारीलाई बाँझो राखेर खुर्सानी, लसुन, बेसारसम्म किन्न रुपैडिहा जानेको भीडले गर्दा भारतीय व्यापारी मालामाल भइरहेका छन् । रुपैडिहामा दैनिक कति नेपाली किनमेलमा जान्छन् भन्ने यकिन तथ्याङ्क नभए पनि त्यहाँ दैनिक रु पाँच करोडभन्दा बढीको कारोबार हुने नेपाली व्यापारीको दाबी छ । अझ चाडपर्वका बेला त यो सङ्ख्या र रकम दोब्बर हुने अनुमान गरिन्छ ।

नेपालगञ्ज बजार सुक्ने र रुपैडिहा चम्किने गतिविधि अहिलेको नयाँ भने होइन । मानिसको दिमागमा रुपैडिहामा सस्तो पाइन्छ भन्ने छाप बसेकाले पनि यस्तो भइरहेको र यो भ्रमलाई उद्योग व्यापार सङ्घ वा नेपाली व्यवसायीले चिर्न नसकेका कारण सीमापारि जानेको भीड कम हुन नसकेको सम्बद्ध क्षेत्रका जानकारको बुझाइ छ । भन्सार नियममा रु १०० भन्दा बढीको सामान ल्याउने जो कोहीले पनि भन्सार तिर्नुपर्छ तर यो नियम व्यावहारिक हुन सकेको छैन । नेपालगञ्जका एक व्यापारी भन्छन्, “नियम कडाइका साथ पालन गराइएको छैन ।”

नेपालगञ्ज र रुपैडिहाबीचको यो व्यापारिक लडाइँ नयाँ भने होइन । दशकौँदेखि यही युद्ध दुवै पक्षबीच चलिरहेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले पनि यो विषय धेरै पटक सल्टाउन खोज्यो तर नतिजा ‘हात लाग्यो शून्य’ छ । “दिनहँु हाम्रै आँखा अगाडि सयौँ उपभोक्ता भन्सार नतिरेरै सामान ल्याउँछन् । भन्सार कार्यालयले शून्य सहनशीलतामा काम गर्नुपर्छ, यही कुरा हामीले बारम्बार भन्दै आएका छौँ”, सङ्घका पूर्वअध्यक्ष वैश्यको भनाइ छ ।