४७ करोड ९३ लाखमा भ्यूटावर निर्माण सम्झौता

४७ करोड ९३ लाखमा भ्यूटावर निर्माण सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती प्रदेश राजधानी हेटाँैडामा रु ४७ करोड ९३ लाख लागतमा भ्यूटावरसहितको व्यापारिक भवन निर्माण गर्नेबारे आज हेटौँडामा सम्झौता भएको छ । हेटाँैडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा निर्माण हुने सो भवनका लागि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई तथा बानियाँ निर्माण कम्पनीका प्रबन्धक ऋषिराज बानियाँबीच सम्झौता भएको हो । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको उपस्थितिमा सम्झौता भएको उक्त भवन उपमहानगरपालिकाद्वारा निर्माण गर्न लागिएको हो । १२ तल्ले उक्त भवनको नाम हेटौँडा बहुद्देश्यीय व्यापारिक भवन रहेको छ । भवन तीन वर्षभित्र निर्माण हुने बताइएको छ । हुप्राचौरको दक्षिणतर्फ रहेको वासुदेव सभागृहलाई भत्काएर भ्यूटावरसहितको व्यापारिक भवन निर्माण हुने बताइएको छ ।

उपमहानगरपालिकाका इन्जिनियर सत्यनारायण शाहका अनुसार एक बिघा छ कट्ठा जमिनमा भवन निर्माण गरिने छ । छैटौँ तल्लासम्म व्यापारिक सटर हुनेछ भने छैटौँ तल्लामाथि भ्यूटावर रहने बताइएको छ । सो अवसरमा उपमहानगरपालिका प्रमुख महतले भवन समय अवधिमा पूरा गर्नुपर्ने बताउँदै हेटौँडाको गरिमालाई अगाडि बढाउन मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

यो पनि – नारायणी नदी तटबन्धनका लागि रु पाँच अर्ब जुटाइँदै

विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकैपटक रु पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुनसकेको थिएन ।

नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजना भरतपुरमार्फत काम हुँदै आएको छ । यस आयोजनाले नारायणी नदीको तटबन्धलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको छ । बजेटको अभावले सोचेजस्तो काम हुन भने सकेको छैन । नारायणी नदीले चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका एवं विनयत्रिवेणी गाउँपालिका प्रभावित हुँदै आएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तररूपमा लागिपरेको बताउनुभयो । उहाँका अनुसार नदी तटबन्धनका लागि गुरुयोजना तयार भएको छ । गुरुयोजनालाई सिँचाइ विभागले स्वीकृत गरी अर्थ मन्त्रालय पठाएको छ । जसमा चितवन र नवलपरासीतर्फ तटबन्धनका लागि रु २३ अर्ब ५८ करोड ४३ लाख खर्च लाग्ने प्रस्तावित लागत आएको उहाँले जानकारी दिनुभयो । जसमध्ये पहिलो चरणमा रु पाँच अर्बको कामका लागि बहुवर्षीय खरिद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल रहेको छ । मन्त्रालयबाट केही दिनमा नै स्वीकृति हुने जानकारी आफूले प्राप्त गरेको उहाँले बताउनुभयो ।

वर्षात्को समयमा ठूलो जोखिम निम्तिने गरेपछि महानगरपालिकाले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै आएको थियो । केही दिनअघि सोही क्षेत्रका सांसद एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा अर्थमन्त्री र सचिवले सार्वजनिक कार्यक्रममा तटबन्धको काम तत्काल अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको प्रमुख दाहालले बताउनुभयो ।

महानगरपालिकाले विकास बहस नाम दिएर गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको समेत उपस्थिति रहेको थियो । नारायणी नदी तटबन्ध गरिएसँगै पश्चिम चितवनको धेरै भाग सुरक्षित हुने र बगरमा परिणत भएको धेरै जमिन उपयोगमा ल्याउन सकिने प्रमुख दाहालको भनाइ छ । बहुवर्षीय आयोजनाका रूपमा सो रकम सुनिश्चित भएसँगै आउँदा वर्षमा थप रकम निकासा गराउन सहज हुने र गुरुयोजनाअनुसार काम सम्पन्न गर्न सकिने उहाँले जानकारी दिनुभयो । गुरुयोजनाअनुसार काम हुँदै गर्दा भरतपुर महानगरपालिकाको नारायणी नदीतर्फको सबै भू–भाग सुरक्षित हुने छ । अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भएलगत्तै बहुवर्षीय खरिद कार्य गर्न तयारी गरेको नारायणी नदी व्यवस्थापन आयोजनाले जनाएको छ । आयोजना प्रमुख रवीन्द्रबहादुर थापाले एक दुई दिनमा अर्थ मन्त्रालयले बजेट सुनिश्चितताको पत्र दिने जानकारी आफूले पाएको बताउनुभयो ।

कार्यालयका सिनियर डिभिजनल इञ्जीनियर दिनेश पौडेलका अनुसार गुरुयोजनाअनुसार चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ । चितवनका लागि रु नौ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ । यस वर्ष रु पाँच अर्बबाट चितवनतर्फ भरतपुर महानगरपालिकामा छ दशमलव २७४ किलोमिटर तटबन्ध गरिने योजना रहेको छ भने नवलपरासीतर्फ चार दशमलब २४६ किलोमिटर तटबन्ध गरिने उहाँले जानकारी दिनुभयो ।

हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरिसकिएको छ । चालु आर्थिक वर्षमा भरतपुर महानगरमा रु आठ करोड ६५ लाख र नवलपरासीका विभिन्न स्थानमा रु नौ करोड ३५ लाख बराबरको तटबन्ध गर्नका लागि काम अघि बढाइसकिएको छ । आयोजनाका अर्का सिनियर डिभिजनल इञ्जीनियर शिवजी शाहका अनुसार गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्षरुपबाट लाभान्वित हुने छन् । चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने छ । नारायणी नदीमा धेरै बाढी आउँदा १४ हजार ४०३ क्यूविक मिटर प्रतिसेकेण्ड पानीको वहाब रहने गरेको अध्ययनले देखाएको शाहले जानकारी दिनुभयो ।