काठमाडौँ महानगरपालिका–१६ पकनाजोलबाट अवैध ला.गुऔषधसहित आज चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनीहरुबाट करिब २५० ग्राम पोल्यान्ड, करिब ६० ग्राम गाँजा, जरायोको सिङको एक भाग र १ थान खुकुरी बरामद गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–११ का २२ वर्षीय बुद्ध लामा, २७ वर्षीय विक्रम तामाङ, १८ वर्षीय किशोर तामाङ र काठमाडौँ महानगरपालिका–१७ डल्लु बस्ने काभ्रे तिमाल गाउँपालिका–६ का मानदेव भन्ने ३३ वर्षीय दोर्जे तामाङ रहेका छन् ।
पकनाजोलस्थित उनको कोठामा लागुऔषध बिक्रीका लागि लुकाइराखेको छ भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त लागुऔषध र सामान फेला पारेको थियो । कार्यालयका अनुसार उता सुनसरी, धरान उपमहानगरपालिका–२ भानुचोकबाट नियन्त्रित लागुऔषध डाइजेपाम, लुपिजेसिक र फेनारगन गरी जम्मा २३ एम्पुल, ५० एम्पुल नाइट्राजेपाम, १९ ट्याब्लेट स्पास्मो प्रोक्सिभोनसहित सोही उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय मिलन तामाङलाई पनि आजै पक्राउ गरिएको छ ।
यस्तै मोरङको उर्लाबारी नगरपालिका–३ नमूना टोल बस्ने बाबुराम थारु र सोही ठाउँ बस्ने ३१ वर्षीय सन्तोष तामाङलाई एक ग्राम १७० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर र रु ११ हजारसहित प्रहरीले आज पक्राउ गरेको जनाइएको छ ।
यो पनि – मोटरसाइकल चोरीका गिरोह पक्राउ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गिरोहलाई नियन्त्रणमा लिइ आज सार्वजनिक गरेको छ । महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँका विभिन्न स्थानमा विशेष ‘अपरेसन’ सञ्चालन गरी मोटरसाइकल चोरी गर्नै समूहका सात जनालाई पक्राउ गरेको हो । टोलीले रौतहट चन्द्रनिगाहापुर– ९ सन्तपुर घर भई हाल कीर्तिपुर बस्ने वर्ष १९ को नरकुमार पुडासैनीलाई गत वर्षका माघमा बानेश्वरबाट हराएको प्र ३–०२–०१३प ३६६० नं को २२० सिसिको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरिएको थियो ।
उनीमाथिको थप अनुसन्धानका क्रममा न्यूरोडबाट जुम्ला सिञ्जा गाउँपालिका– ६ घर भई हाल कीर्तिपुर बस्ने वर्ष २० को पुन्दलाल बुढालाई मोटरसाइकलसहित पक्राउ गरिएको जनाइएको छ । यही ८ गते बत्तीसपुतलीबाट हराएको बा प ०२÷०२२प ६५१८ नम्बरलाई परिवर्तन गरी बा प्र–०२–०२५ प १३९१ प्रयोग गरिरहेका बेला बुढा पक्राउ परेका हुन् ।
कीर्तिपुर क्षेत्रबाट काठमाडौँका सन्तोष महर्जनसहित रौतहट घर भई सानोभ¥याङ बस्ने वर्ष ३४ को ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा घर भई हाल बानेश्वर बस्ने वर्ष ३२ को रविकुमार कुशवाहा, उदयपुर घर भई हाल कीर्तिपुर बस्ने कमलबहादुर बस्नेत र बारा गढीमाई घर भई कीर्तिपुर बस्ने वर्ष २२ को रञ्जीतप्रसाद गुप्तालाई पनि पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
पक्राउ परेका चौधरी पटक–पटक मोटरसाइकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी र कुशवाहा मोटरसाइकल चोरी गिरोहका मुख्य व्यक्ति रहेकोसमेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी कीर्तिपुरबाट पक्राउ परेका रञ्जीतप्रसाद गुप्ताले चोरी गरी ल्याएका मोटरसाइकललाई ग्यारेजमा सुरक्षित राख्ने, सामान फेरबदल गर्ने गरेको पाइएको छ ।
गुप्ता कीर्तिपुरमा रहेको रञ्जित मोटरसाइकल वर्कसपका सञ्चालकसमेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ । पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहक खोज्ने र सस्तो मूल्यमा मोटरसाइकल किनबेच गर्ने मुख्य भूमिका खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएकोछ । उनीहरुले इञ्जिन तथा विभिन्न भाग काटेर टुक्रा पारेको अवस्थामा यही असोजमा ताहाचलबाट हराएको बा–प्र–०२–०१९प ९४९८ नं को मोटरसाइकलसमेत बरामद गरिएको महाशाखले जानकारी दिएको छ । पक्राउ गरिएको मोटरसाइकल र चोरीमा संलग्नलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तमा पठाइएको छ ।



प्रतिक्रिया