नेपाली कांग्रेसका युवानेता पुष्पकुमार शाहीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेता शाहीले आज पत्रकार सम्मेलन गरी पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लागेको घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा उहाँले युवाको जोस, जाँगर, उत्साह र २१औँ शताब्दीको प्रविधिलाई समिश्रण गरेर पार्टीको नेतृत्वलाई अगाडि बढाउने उद्देश्यका साथ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।
उहाँले आफ्नो जीवनको महत्वपूर्ण समय नेविसङ्घलाई बलियो बनाउन खर्चिएको भन्दै अब कांग्रेस बलियो बनाउनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उल्लेख गर्नुभयो । नेता शाहीले आफू केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सबैको स्वामित्व स्थापित हुने कांग्रेस र सबैको सर्वोच्चता स्थापित हुने कांग्रेस बनाएर सु–सङ्गठित, गतिशील र बलियो कांग्रेस बनाएर निकट भविष्यमा हुने गइरहेको तीनवटै तहको निर्वाचनमा सबै तहको सरकार कांग्रेसको बनाउन लाग्ने उल्लेख गर्नुभयो ।
यो पनि – कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको उम्मेदवारबारे छलफल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफल गरेको छ । सो समूहका नेताको आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको बैठकले एकमात्र उम्मेदवार टुङ्याउन नसकेपछि बुधबार बिहान ९ बजे पुनः बैठक बस्ने निष्कर्ष निकालेको हो । बुधबारसम्म एकमात्र उम्मेदवार तय गर्ने सहमति भएको बैठकमा सहभागी केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।
बैठकमा सभापतिका उम्मेदवार वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा शेखर कोइरालाले आफ्नो दाबी प्रस्तुत गर्नुभएको थियो । नेताहरुले बुधबार बिहान आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिसँग रायपरामर्श गरी साँझसम्म एकमात्र उम्मेदवार घोषणा गर्ने तयारी गर्नुभएको उहाँले बताउनुभयो ।
दिउँसो १ देखि साँझ ७ बजेसम्म बसेको बैठकमा उहाँहरुसहित अरु नेताहरु सीतादेवी यादव, नेता डा रामशरण महत, बलबहादुर केसी, डा मीनेन्द्र रिजाल, दिलबहादुर घर्ती, डा चन्द्र भण्डारी, बद्री पाण्डे, धनराज गुरुङ जीवन परियारलगायत सहभागी हुनुहुन्थ्यो ।



प्रतिक्रिया