महिलाको सम्मान र रोजगारी सरकारको प्राथमिकता छ : मन्त्री श्रेष्ठ

महिलाको सम्मान र रोजगारी सरकारको प्राथमिकता छ : मन्त्री श्रेष्ठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौँमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राज्यका हरेक निकायमा महिलाको समान सहभागिता, मर्यादित रोजगारी र कार्यस्थलमा महिला हिंसा न्यूनीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले सङ्गठित तथा असङ्गठित क्षेत्रमा कार्यरत महिलालाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ । सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउँदै मन्त्री श्रेष्ठले ज्यालामा असमानता रहेको अनौपचारिक क्षेत्रमा महिला कामदार बढी रहेकाले उनीहरूका समस्या सम्बोधन गरिने बताउनुभयो ।

आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा सहभागी वक्ताहरूले विद्यमान ऐन–कानूनको प्रभावकारी कार्यान्वयनका साथै महिलामा आत्मविश्वास बढाउन, व्यावसायिक सीप तथा क्षमता विकास गर्नुका साथै हिंसा, शोषण र भेदभावको अन्त्य गरी कार्यक्षेत्र महिलामैत्री बनाउनुपर्नेमा जोड दिएका थिए ।

यो पनि – तीन दशकदेखि बन्द विमानस्थल पुनः सञ्चालनको तयारीमा

बैतडी, २२ मङ्सिर (रासस) ः करिब तीन दशकदेखि बन्द अवस्थाको बैतडी–दार्चुला सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको काम थालिएको छ । तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनःनिर्माणको काम थालिएको हो । केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल पुनः निर्माण गरिरहेको छ ।

विमानस्थलमा स्काइभेटर प्रयोग गरेर घाँस उखेल्ने काम गरिसकिएको र अहिले कटिङ गर्ने काम र फिलिङका लागि विमानस्थलमा निर्माण सामाग्री ढुवानी गर्ने काम भइरहेको कम्पनीका साइट इन्चार्ज राजेन्द्र ऐरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ अहिले विमानस्थलमा माटो भर्ने (फिलिङ) काम भइरहेको छ, एक वर्षमा फिलिङ र ग्याबिनको काम सम्पन्न हुनेछ ।”

गोकुलेश्वरमा रहेको विमानस्थल पुनःसञ्चालनमा आए यहाँको पर्यटन विकासका साथै यातायात सेवा सहज हुने स्थानीयवासी सुरेश श्रेष्ठले बताउनुभयो । विमानस्थल सञ्चालनमा आए दार्चुलाका साथै बैतडी र बझाङ जिल्लाका नागरिकलेसमेत सेवा पाउने छन् । उहाँले भन्नुभयो,“विमानस्थलले विकट क्षेत्रका रुपमा रहेको दार्चुलाको यातायात सेवा सहज बनाउनेछ यसका साथै समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

विसं २०४६ सालदेखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल २०५० साल मङ्सिर २२ गते देखि पूर्णरूपमा बन्द भएको थियो । अहिले हवाई यातायातको सुविधा नहुँदा प्रदेश राजधानीबाट झण्डै ३५० किलोमिटर सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । यसका साथै आकस्मिक रूपमा रेफर गर्नुपर्ने बिरामीले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ ।

विमानस्थल बन्द हुँदा यसअघि गौचरन र खेलमैदानका रुपमा परिणत भएको थियो । द्वन्द्वका बेला तत्कालीन माओवादीले विमानस्थलमा रहेको टावर, टर्मिनल भवन, साइट अफिसलगायतमा आगजानी गरेपछि त्यसयता भवन पुनःनिर्माण हुनसकेको छैन । द्वन्द्वकालदेखि विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाको आर्थिक विकास र पर्यटन प्रवद्र्धन हुन नसक्दा ठूलो घाटा बेहोर्नु परेको छ ।

बन्द रहेको विमानस्थल नेताको सभा, सम्मेलन गर्ने थलो, स्थानीयवासीको लागि खेलमैदान तथा बस्तुभाउको चरन क्षेत्रका रूपमा परिणत भएको दार्चुलाको एकमात्र गोकुलेश्वर विमानस्थलमा अहिले प्रारम्भिक चरण अन्तर्गत फिलिङ र ग्याबिनको कार्य भइरहेको छ ।

विमानस्थल सञ्चालनको लागि तयारी थालिनुले खुसी लागेको स्थानीयवासी जिज्ञासु खत्रीको भनाइ छ । उहाँले भन्नुभयो,“गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याउन सकेमा जिल्लाको व्यापारिक, सामाजिक एवं रोजगारीका हिसाबले सम्भावना बढ्ने कुरा त छदैछन्, सँगसँगै दार्चुलाका धार्मिक एवं पर्यटकीय अपी बेस क्याम्प, मालिकार्जुनको शैल्यशिखरधाम, व्यास गुफा, छाङरू, तिङ्कर भञ्ज्याङ्, दुँहुमा निर्माण भइरहेको बन्जीजम्पिङसहित पासा दह, सिद्धटोपी, उकुको महल जस्ता गन्तव्यको प्रवद्र्ध्न एवं विस्तारमा निश्चय नै यस विमानस्थलको सञ्चालनले थप टेवा पुग्नेछ ।” साथै देशभित्र तथा बाह्य पर्यटकका लागि समेत दार्चुला नेपालको उत्कृष्ट गन्तव्य बन्न सक्ने कुरामा आफू ढुक्क रहेको उहाँको भनाइ छ ।

विमानस्थल सञ्चालनमा आएमा यहाँको आर्थिक अवस्था सुधार हुने गोकुलेश्वरका व्यापारी हेम विष्टको विश्वास रहेको छ । पर्यटन क्षेत्रको विकासका लागि टेवा पुग्ने होटेल व्यवसायी भुवन भण्डारीको भनाइ रहेको छ । यहाँ थुप्रै पर्यटनको सम्भावना रहेको विमानस्थल सञ्चालनमा आए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुनेछ । स्थानीयवासी सुरेश श्रेष्ठले भन्नुभयो,“ काम समयमै पूरा होस, बजेट थोरै भयो, थप बजेट बिनीयोजन गरेर काम संतोषजनक गर्नु आवश्यक छ, अनुगमनकारी निकायले समय समयमा अनुगमन पनि गरोस । ”