गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको घोषणा गर्नुभएको हो । बिपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको उहाँको भनाइ छ ।
विसं २००५ जेठ ५ गते तनहुँको राम्चेमा जन्मनुभएका पोखरेलले मुलुकलाई अप्ठ्यारो परेको बेला निकास दिने कांग्रेस भएकाले अबको चुनावमा प्रष्ट बहुमत ल्याउने गरी महाधिवेशनपछि तयारी थाल्नुपर्ने बताउनुभयो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।
यो पनि – प्रजातन्त्रवादी चिकित्सक सङ्घको अध्यक्षमा डा कार्की निर्वाचित
प्रजातन्त्रवादी चिकित्सक सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित हुनुभएको छ । सङ्घको तेस्रो महाधिवेशनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका डा कार्कीको नेतृत्वमा ४३ सदस्यीय नयाँ समिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको केन्द्रीय उपाध्यक्षमा डा विक्रान्त ढकाल, बागमती प्रदेश संयोजक तथा उपाध्यक्षमा डा मनोरदी सैयद, महासचिवमा डा संयुक्त आचार्य, कोषाध्यक्षमा डा समाज गौतम, सहकोषाध्यक्षमा डा अजय साह, सचिवमा डा पवन हमाल र सुशील तिमिल्सिना निर्वाचित हुनुभएको छ ।
महाधिवेशनको नेपाली कांग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा चोपलाल भुसाल, डा अन्जनीकुमार झा, डा मुक्तिराम श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा शिवजी पौडेललगायत वक्ताले नेपालको स्वास्थ्य अवस्था र चिकित्सकको उचित सहभागिताका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष डा केदारनरसिंह केसी, निवर्तमान अध्यक्ष डा लक्ष्मीराज पाठकलगायतले बोल्नुभएको थियो । निर्वाचित अध्यक्ष कार्कीले चिकित्सकको अधिकारका लागि आफ्नो लडाइँ निरन्तर रहने बताउनुभयो ।
प्रतिक्रिया