बबईको ठूलाचौर ः ‘वारि विद्यालय, पारि गाउँ’

बबईको ठूलाचौर ः ‘वारि विद्यालय, पारि गाउँ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङको बबई गाउँपालिका स्थित ठूलाचौर गाउँका विद्यार्थी वर्षात्का सयममा विद्यालयबाट बञ्चित हुन्छन् । यतिमात्रै होइन, गाउँमा कोही बिरामी परे कसरी अस्पतालसम्म लैजाने भन्ने चिन्ता हुन्छ । एक हिसाबले त्यो गाउँ नै बिरानो बस्तीजस्तै छ । “वारि विद्यालय छ, पारि गाउँ”, स्थानीयवासी गङ्गाराम विकले भन्नुभयो, “तर वारिबाट पारि हेर्नेमात्रै हुन्छ, पुग्न सकिँदैन ।”

उनीहरुको सम्बन्धविच्छेद हुने एउटा कारण हो, बर्खामा आउने खोलाको भेल । बबई –२ गाउँका नागरिक बर्खामा ट्वाङखोलामा आउने बाढीले गर्दा वारिपारि गर्न सक्दैनन् । विद्यार्थी पनि बर्खाभरि विद्यालय जान पाउँदैनन् । “ बर्खा लाग्छ, विद्यार्थी पनि विद्यालय जाँदैनन्, पारि विद्यालय छ”, स्थानीयवासी दिला विश्वकर्माले भन्नुभयो, “बर्खाभरि विद्यालय नगएर घरै बस्न बाध्य हुन्छन् ।” खोलामा पुल नुहुँदा यसरी वर्षेनी समस्या भोग्नुपरेको उहाँको भनाइ थियो । खोलामा आसपासमा पनि पुल छैनन् । मान्छे बिरामी परेमा पनि अस्पताल लैजान समस्या हुने गरेको उहाँको भनाइ छ । “खोला ठूलो आउँछ, मान्छे बिरामी प¥यो भने पनि कसरी अस्पताल लैजाने भन्ने समस्या हुन्छ”, उहाँले भन्नुभयो ।

पुल बन्न थालेपछि खुशी

सोही स्थानमा अब भने पुल बन्ने भएको छ । पुल बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । “हामीलाई सबैभन्दा ठूलो समस्या पुलकै थियो”, स्थानीय दिला विश्वकर्माले भन्नुभयो, “अब पुल निर्माण हुन्छ कि भन्ने आशा जागेको छ, यो बनेपछि हामीलाई धेरै सहज हुनेछ ।”

लुम्बिनी प्रदेश सरकारको लगानीमा उक्त पुल निर्माण हुन लागेको हो । यसका लागि सर्भेको काम भइसकेको छ । यसका लागि पहिलो चरणमा रु १५ लाख बजेट आएको जनाउँदै त्यसमा आवश्यकतानुसार थप्दै जाने प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री विमलाकुमारी खत्री (वली)ले जानकारी दिनुभयो । “अहिले पहिलो चरणमा रु १५ लाख बजेट आएको छ, यसमा अझै थप्नुपर्छ होला”, उहाँले भन्नुभयो, “त्यसका लागि पहल भइरहेको छ ।”

ठूलाचौर–घुरिन्डाँडा जोड्ने उक्त पुल करिब १३० मिटर हुनेछ । ठूलाचौरमा करिब २० घर छन् । त्यहाँका मात्रै करिब ३०÷३५ जना विद्यार्थी नियमित विद्यालय जाने गरेका छन् । सोही खोलाले खेतीयोग्य जग्गा कटान पनि गर्ने गरेको छ । यसको व्यवस्थापन आवश्यक रहेको स्थानीयवासी युवा यज्ञबहादुर वलीले बताउनुभयो । “वर्षेनी खेतीयोग्य जमिन कटान गर्ने समस्या छ, यसका लागि जाली लगाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।