नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आम एकताको खाँचो रहेको बताउनुभएको छ । आज यहाँ आयोजना गरिएको कार्यक्रममा नेता सिटौलाले राजनीतिलाई ईमान्दारिताको वाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताउनुभएको हो ।
“पार्टीभित्र आम एकता आवश्यक छ, आम जनतालाई कांग्रेससँग गाँस्न सक्नुपर्छ, कांग्रेसलाई व्यक्ति केन्द्रीत होइन पार्टी केन्द्रीत गराएर अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । राजनीति आफ्ना लागि होइन जनताका लागि हो भन्ने विश्वास दिलाउनुपर्ने उहाँको भनाइ थियो ।
नेता सिटौलाले आफूसँग जोडिएका व्यक्तिलाई १४औँ महाधिवेशनमा स्थापित गराएर छाड्ने बताउनुभएको छ । “अभाव, सङ्कट र दुःखमा साथ दिने साथीहरुका लागि उचित सम्मानका लागि मैले पहल गर्नेछु”, उहाँले भन्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य एवम् खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले पार्टीभित्रका गलत प्रवृत्तिको अन्त्य गर्दै पार्टीलाई थप बलियो र मजबुद बनाउनका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल, शिवप्रसाद हुमागाईँलगायतले समयसापेक्ष विचार अगाडि बढाउन सकेमात्र कांग्रेस अगाडि बढ्न सक्ने बताउनुभयो । उहाँहरुले पार्टीको १४औँ महाधिवेशनमा पार्टीलाई शक्तिशाली बनाएर अगाडि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभएको थियो । प्रदेश १ का नवनिर्वाचित सभापति उद्धव थापाले पार्टीको १४औँ महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउने उल्लेख गर्नुभयो ।
यो पनि – कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, तीन प्रस्ताव पारित
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रबारदेखि सुरु हुन लागेको कांग्रेसको १४औँ महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदन पारित गरेको छ । बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखासम्बन्धी प्रतिवेदन र नीति तथा अनुसन्धानसम्बन्धी प्रतिवेदनलाई पारित गरेको हो ।
बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकपछि विधान सम्बन्धमा जतिपनि निर्णय भएका छन् तिनलाई पनि केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारीलगायत विषयमा छलफल भएको जानकारी प्रवक्ता शर्माले दिनुभयो । प्रवक्ता शर्माले महाधिवेशनमा भारतीय जनता पार्टी र कङ्ग्रेस आईका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको जानकारी दिनुभयो । उहाँले शुक्रबार महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थितरुपमा सम्पन्न गर्नेगरी तयारी भएको जानकारी पनि दिनुभयो । आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित हुनुभएको बुझिएको छ ।



प्रतिक्रिया