वैध कमाईभन्दा बढी विलासी जीवन बिताएको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा अर्थ मन्त्रालयका एक पूर्वशाखा अधिकृतको गैरकानूनी सम्पत्ति फेला परेको छ । स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले लामो समय लगाएर अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाको छानबिन गरेको थियो । छानबिनका क्रममा रु एक करोड ६४ लाख ८९ हजार ७०० बराबरको सम्पत्तिको स्रोत फेला पर्न सकेन । आयोगका अनुसार विसं २०४० फागुन ६ गतेदेखि २०७५ चैत ३० गतेसम्म पदमा रहँदा थपलियाले रु एक करोड दुई लाख ८२ हजार २५८ बराबरको वैध आय गरेको देखिन्छ । उनले रु दुई करोड ६७ लाख ७१ हजार ९५८ बराबरको खर्च तथा लगानी गरेको पुष्टि भएको छ ।
सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यमार्फत गैरकानूनी आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्तको नाममा भएका घरजग्गा र बैंक खातामा जम्मा गरेको पाइएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग दाबी गर्दै थपलिया र उनका श्रीमती मुना पन्त थपलिया विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यो पनि – ‘पार्टी र सरकारमा महिला सहभागिता राम्रो हुँदै गएको छ’
सरकारका दुई महिला मन्त्रीले अहिले पार्टी र सरकारमा महिला सहभागिता राम्रो हुँदै गएको बताएका छन् । महिला सुरक्षा दबाब समूहले आज महिला मन्त्रीहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अझै पनि समावेशी सहभागिताका लागि धेरै गर्न बाँकी रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले पार्टीभित्र आन्तरिक सङ्घर्षबाट नेकपा माओवादी (केन्द्र)को विधानमा केन्द्रीय कमिटिमा ३७ प्रतिशत सुनिश्चित गरिएको बताउनुभयो । पदाधिकारीमा पनि महिला सहभागिता सुनिश्चित गर्न आवाज उठाइरहेको उहाँले बताउनुभयो । मन्त्रीपरिषद्मा रहेका सबै महिला मन्त्री महिला अधिकारका लागि आवाज उठाउन लागिपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अधिकार पाउनका लागि हामी सबैले आआफ्नो पार्टीमा सङ्घर्ष गर्नुपर्छ ।”
आफ्नो पार्टीले विगतमा भन्दा सरकार र संसदीय समितिमा महिला नेतृत्वलाई जिम्मेवारी दिन थालेको मन्त्री श्रेष्ठले बताउनुभयो । अहिले सरकारमा महिला सहभागीता बढ्नु आन्दोलनको बलले भएको उहाँको भनाइ छ । आफू समूहको स्थापना कालदेखि नै जोडिएपनि पहिले अभियानका रुपमा रहेकामा यसलाई संस्थाका रुपमा दर्ता गर्दा आफू सहमत नभएको उहाँले बताउनुभयो ।
मन्त्री झाँक्रीले प्रविधिको विकाससँगै महिला सुरक्षामा नयाँनयाँ जोखिम बढीरहेकाले यो विषय महत्वपूर्ण भएको बताउनुभयो । इन्टरनेटको प्रयोग गरेर हुने हिंसा समाजमा चुनौतीका रुपमा देखा परेको उहाँको भनाइ छ । सन्तानलाई सानैदेखि नै समान रुपमा हुर्काउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “छोरीलाई हिंसा सहनु हुँदैन भनेर र छोरालाई हिंसा गर्नु हुँदैन भनेर हुर्काउनुपर्छ ।”



प्रतिक्रिया