२४ मङ्सिर (रासस÷सिन्ह्वा) ः भारतमा हिजो बिहीबार आठ हजार ५०३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । हिजो देखिएको यस सङ्क्रमितहरुमा चार हजार १६९ केरला राज्यका रहेका प्राप्त समाचारमा जनाइएको छ । यसैसँगै कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ७४ हजार ७४४ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अझै पनि ९४ हजार ९४३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।
भारतमा हाल देखिएको सक्रिय सङ्क्रमित १ प्रतिशत भन्दा कम रहेको जनाइएको छ । हाल रहेका सक्रिय सङ्क्रमति कूल सङ्क्रमतिको ०.२९ प्रतिशत मात्र रहेका जनाइएको छ । बिहीबार कोरोना सङ्क्रमणबाट ६२४ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार ७३५ पुगेको छ ।
गएको २४ घण्टामा भारतमा सात हजार ६७८ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख ५ हजार ६६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ३२ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३१ करोड १८ लाख डोज खोप लगाइएको जनाइएको छ ।
यो पनि – इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ४३ पुग्यो
२४ मङ्सिर (रासस÷एएफपी) ः इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ४३ पुगेको छ । ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएका यहाँँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ । ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धारको गर्ने स्थानमा अँध्यारो र बादलले ढाकिएको हुनाले बिहीबारको उद्धार प्रक्रिया रोकिएको व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारी बताउनुभएको छ ।
गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ । प्रभावित क्षेत्रबाट करिब ६ हजार व्यक्तिलाई १२१ ओटा अस्थाई वासस्थानमा सारिएको छ । जाकार्ता समयानुसार गत शनिबार दिउँसो ३ः१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।



प्रतिक्रिया