लगानीको अभावमा विदेश पुगेका नेपाली विदेशबाट फर्केर उद्यममा जोडिनेको लहर नै छ । नेपालमा लगानी जुटाउन नसकेका युवा विदेशमा गएर केही अर्थ उपार्जन गरेपछि भने नेपालमा फर्केर लगानी गर्न थाल्नुभएको छ । लामो समय बेलायतमा बस्नुभएका गलकोट नगरपालिका–३ हटियाका नरबहादुर भण्डारीले विगत ९ वर्षदेखि गलकोटमा आफ्नै उद्यम थाल्नुभएको छ । उहाँले गलकोट नगरपालिका–३ सिमखेतमा साढे पाँच रोपनी जग्गामा व्यावसायिक तरकारी खेती, पुष्प खेती, रेष्टुराँ र पार्टी प्यालेस व्यवसाय गर्दै आउनुभएको छ । सिमखेतमा उहाँले २०६९ सालदेखि कृषि पेसा थाल्नुभएको हो । पछि उहाँले रेष्टुराँ र पार्टी प्यालेस पनि सञ्चालन गर्नुभयो । सुरुआतमा भण्डारी रोजगारीका लागि भारत जानुभयो । डेढ दशक भारतमा बिताउनुभएका उहाँ त्यहीँबाट केन्या पुग्नुभयो । केन्यामा ११ वर्ष काम गर्नुभएका भण्डारी पुनः बेलायत फर्किनुभयो ।
तीन दशकको वैदेशिक यात्रा टुङ्ग्याएर भण्डारीले गाउँमै उद्यम थाल्नुभएको छ । उहाँले रु दुई करोड ५० लाखको लगानी गरिसक्नुभएको छ । श्रीमती लोक कुमारी, छोरा भगवान र बुहारी राधिकाको सहयोगमा भण्डारीले विभिन्न उद्यम गर्दै आउनुभएको छ । उहाँले तीन जनालाई रोजगारी प्रदान गर्नुभएको छ । भण्डारीले थप तरकारी खेतीका लागि तीन रोपनी जग्गा भाडामा लिनुभएको छ ।
“पुष्प खेती गरेको छु, रेष्टुराँ र पार्टी प्यालेसलाई चाहिने सामग्री आफँै उत्पादन गर्छु”, उहाँले भन्नुभयो । वैदेशिक यात्राका क्रममा निकै दुःख भोग्नु परे पनि स्वदेशमा फर्केर परिवारसँग रमाउन पाउँदा आनन्द महसुस भइरहेको भण्डारी बताउनुहुन्छ ।
यो पनि – विदेशबाट फर्केका युवा कुखुरापालनमा
शुक्लाफाँटा नगरपालिका–३ का २५ वर्षीय जयराम चौधरी गतिलो कमाईका लागि दुई पटक विदेश पुग्नुभयो । पाँच वर्ष विदेश बसे पनि उहाँले मनग्य पैसा आर्जन गर्न सक्नुभएन् । विदेशबाट कमाएको पैसाले घरमै व्यवसाय गर्ने चौधरीको ठूलो धोको थियो । तर थोरै पैसा मात्रै बचत गर्न सकेपछि उहाँले व्यवसाय गर्न ऋण काढ्नतर्फ लाग्नुभयो । ऋण नपाएपछि चौधरी कतार उड्नुभयो ।
कतार पुगेपछि कोराना महामारी फैलियो । “निषेधाज्ञाका कारण खासै कमाइ भएन,” उहाँले भन्नुभयो, “घर फर्किए पनि कोरोनाकै त्रास थियो । त्रासमै बस्नुपर्ने अवस्था आयो ।” विदेशबाट कमाएको रु तीन लाखले चौधरीले कुखुरापालनको सुरुआत गर्नुभयो । दुईवटा फार्म बनाएर उहाँले कुखुरापालन गर्न थाल्नुभयो । “फार्म, दानापानी र औषधोपचारमा धेरै खर्च हुन थाल्यो । विदेशबाट दुःख गरेर ल्याएको पैसा सिद्धिएर घाटा हुने हो कि भन्ने चिन्ता भयो,” उहाँले भन्नुभयो, “तर पहिलो लट्मै रु पाँच लाखको कुखुरा बिक्री भयो ।”
फार्म निर्माण, दानापानी र औषधोपचारमा लागेको खर्च कटाएर रु एक लाख ५० हजार नाफा भएको चौधरीले बताउनुभयो । दुई फार्ममा उहाँले सात हजार कुखुरा पाल्दै आउनुभएको छ । हालसम्म चौधरीले रु २० लाख नाफा आर्जन गर्नुभएको छ । “विदेशमा जति परिश्रम गरे पनि महिनाको रु ३५ हजार रकम मात्रै मासिक रुपमा हात पथ्र्याे । यहाँ विदेशको भन्दा चार गुणा बढी आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । विदेशमा भन्दा घरमै गतिलो आम्दानी हुन थालेपछि चौधरी खुशी हुनुहुन्छ ।



प्रतिक्रिया