छिमेकी मुलुक भारतका विभिन्न दलका नेताहरुले नेपाल–भारतबीच धार्मिक सांस्कृतिक मात्र नभई मन र हृदयबीच गहिरो सम्बन्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै भारतीय कङ्ग्रेस आइका महामन्त्री मुकुल वासिकले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र जनताबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ र घनिष्ट तुल्याउन आफू र आफ्नो पार्टीले सक्दो योगदान पु¥याउने विश्वास दिलाउनुभयो । नेपाली कांग्रेस र भारतीय कांग्रेस पार्टीका नेताबीच पनि ऐतिहासिक सम्बन्ध रहेको उहाँको भनाइ थियो । उहाँले आपसी भाइचारा र मित्रताको सम्बन्धले दुई देशबीचका केही प्रश्नको पनि हल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भारतीय जनता पार्टीका नेता डा हर्षवद्र्धनले नेपालमा कुनै दुःख पर्दा भारत सरकार र भारतीय जनताको पनि मन दुख्ने गरेको बताउनुभयो । उहाँले विगतमा नेपालमा गोरखाको भूकम्पका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा तत्कालै उद्धार, राहत र सहयोग पु¥याएको घटना स्मरण गर्दै कोभिड–१९ विरुद्धका लडाईमा पनि भारतले औषधि, भेन्टिलेटरलगायतका सक्दो सहयोग गरेको उल्लेख गर्नुभयो । नेता हर्षवद्र्धनले नेपालका दलबीचको सौहार्दपूर्ण सम्बन्ध विश्वमै उदाहरणीय रहेको आफूले पाएको जनाउँदै यस्तो सम्बन्ध सधैँ रहिरहोस् भन्ने कामना पनि गर्नुभयो । महाधिवेशनको उद्घाटन समारोहमा नेताहरुको सम्बोधन गर्नेक्रम जारी छ ।
यो पनि-नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भव्य समारोहबीच भृकुटीमण्डपमा उद्घाटन
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन गर्नुभएको छ । काठमाडौँको भृकुटीमण्डप प्राङ्गणमा आयोजित भव्य समारोहका बीच उहाँले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । समारोहको मुख्य मञ्चमा कांग्रेसका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका प्रमुख तथा विदेशबाट आउनुभएका अतिथिहरु उपस्थित हुनुहुन्छ । कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएको भए पनि पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्तरुपमा आएका सहभागीले भृकुटीमण्डप भरिभराउ छ ।
उद्घाटन अघि पार्टीका संस्थापक र अग्रज नेताका तस्वीरमा माल्यार्पणका साथै मुलुकमा लोकतन्त्र स्थापनाका लागि बलिदान दिने ज्ञातअज्ञात शहीदको सम्मानमा मौनधारण गरियो । सहभागीलाई सजिलोका लागि मञ्चका गतिविधि बाहिर देखिने गरी भृकुटीमण्डपबाहिर पाँच ठूला डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मुख्य मञ्चको दाहिनेतिर छुट्टै स्टेज बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ । यस महाधिवेशनमा ‘उत्साह, एकता र रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन’ नारा तय गरिएको छ ।
मञ्चको पृष्ठभूमिमा नेपालको नयाँ नक्साभित्र पार्टीका संस्थापक एवं नेता बिपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिर अङ्कित प्रचार लोगो राखिएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दलको महाउत्सवलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ ।
महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ । महाधिवेशनमा विभिन्न जातजाति वेषभूषा झल्कने नृत्यसहितका झाँकी प्रदर्शन गरिएको छ । सो क्रममा धिमे नाँच, मगर, गुरुङ, लिम्बू, थारु, भोजपरी, मैथली, खस आर्यका नाच प्रदर्शन गरिएको छ ।
यसैगरी महाधिवेशनका उम्मेदवारका व्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । महाधिवेशनमा भूपू सैनिक सङ्घका स्वयंसेवकले सहभागीको भीड व्यवस्थापन गरेका छन् । नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।
महाधिवेशनस्थलमा उम्मेदवारले आफ्नो प्रचारका लागि भिजिटिङ कार्ड, पम्पलेट वितरण गर्नुका साथै मतदातालाई आफ्नो पक्षमा आकर्षण गर्न विभिन्न कार्यक्रम गरिहेको देखिन्छ । नेता कार्यकर्तामा हार्दिकता साटासाटा गरेको देखिन्छ । प्रवेशद्वार नजिकै स्वास्थ्य समिति र मिडिया सेन्टर स्थापना गरी आवश्यक सेवा प्रदान गरिएको छ । प्रदर्शनी क्षेत्रमा नेता तथा कार्यकर्ता र शुभचिन्तकको भिडले खचाखच भरिएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रम सञ्चालन गरिरहनुभएको छ । महाधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस एक भएर अघि बढेको हेर्न चाहेको प्रतिक्रिया दिनुभएको छ । यसअघि समारोहमा कांग्रेस काठमाडौँका सभापति कृष्ण बाँनिया (सवुज)ले महाधिवेशनमा आउनुभएका नेता तथा कार्यकर्ता र पाहुनालाई स्वागत अभिवादन गर्नुभएको थियो । उहाँले नेपाली कांग्रेस जुन उद्देश्यले स्थापना भएको त्यो लक्ष्य प्राप्तिमा यस महाधिवेशनले शक्ति प्रदान गर्ने उहाँले बताउनुभयो ।
यसैबीच, महाधिवेशनको बन्द सत्र शनिबार भृकुटीमण्डपको हलमा हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते विहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते विहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।



प्रतिक्रिया