नेपाली कांग्रेसका महामन्त्री डा शशाङक कोइरालाले पार्टीका सैद्धान्तिक लडाईँ सकिएकाले मुलुकमा ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति अवश्यक रहेको बताउनुभएको छ । कांग्रेस १४औँ महाधिवेशनको उद्घाट्न समारोहमा आज उहाँले धर्म निरपेक्षता र सापेक्ष नभई स्वतन्त्र हुने बताउँदै आगामी दिनमा कृषिमा बजेट विनियोजन बढाउँदै मुलुक समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अर्का महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसको नेतृत्वमा जारी भएको संविधानअनुसार पार्टीको विधान बनाई सङ्घीय संरचना अनुसारका पार्टीको तहको निर्वाचन सम्पन्न भइ महाधिवेशनसम्म आइपुगेको बताउनुभयो ।
विगतको सरकारले गरेका लोकतान्त्रिक र संविधान विपरितका क्रियाकलापलाई सुधार गरी संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आइपुगेको उहाँको भनाइ थियो । उहाँले आगामी छ महिनापछि हुने तीन तहका निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
कोषाध्यक्ष सितादेवी यादवले विपीजस्ता महामानव र गणेशमान सिँहजस्ता त्यागीको इतिहास रहेको नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई एकताको महाधिवशेन बनाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “एकता र उत्साहपूर्वक सम्पन्न गर्ने पार्टी कार्यकताको भावना अनुरूप यस पटक कुनै पदमा उम्मेदवारी नदिने तर पार्टी र जनताका सेवामा म निरन्तर लागि रहने छु ।” नेताहरूको सम्बोधन गर्ने क्रम जारी छ ।
यो पनि –
कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक हो ः सहमहामन्त्री डा महत
नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक भएको बताउनुभएको छ ।पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै डा महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्नका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभएको हो । “लोकतान्त्रिक मूल्य मान्यतालाई कांग्रेसले जीवनपद्धतीका रुपमा अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।
सहमहामन्त्री डा महतले जनताको हक अधिकारका लागि लडेको पार्टीको १४औँ महाधिवेशनले नयाँ ऊर्जा कांग्रेसलाई दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्र भएको कमी कमजोरीलाई सच्चाएर अगाडि बढाउनुपर्ने बताउनुभयो ।अर्को सहमहामन्त्री सुनिलबहादुर थापाले समृद्ध नेपाल कांग्रेसको नेतृत्वमा मात्र सम्भव भएकाले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेको बताउनुभयो । “कांग्रेसको चारतारे झण्डामुनी बसेर समाजवाद खोज्न म कांग्रेस भएको हुँ”, उहाँले भन्नुभयो ।
उहाँले मुलुकमा हुन लागेको तीनै तहको निर्वाचनमा कांग्रेसलाई सुविधाजनक बहुमत दिलाउनका लागि सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । राजधानी काठमाडौँबाट फर्केलगत्तै गाउँगाउँमा पुगेर कांग्रेस बलियो बनाउन सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया