विभिन्न राजनीतिक पार्टीका नेताहरूले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा नभएको जिकीर गरेका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सात राजनीतिक पार्टीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेताहरूले एमसिसीमा उल्लेख गरिएका प्रावधान नेपालको पक्षमा नभएको दाबी गरेका हुन् । राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले एमसीसी पारित गर्न नहुने बताउनुभयो । उहाँले एमसीसी सम्झौतामा भएका प्रावधान नेपाली जनताको हितमा नभएको जिकीर गर्नुभएको हो ।
राजमो सुर्खेतका अध्यक्ष गोविन्द सुवेदी र नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश समिति इन्चार्ज शिपी शर्मा, नेकपा (मसाल) कर्णाली प्रदेश प्रतिनिधि मोहन थापा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एटम बिसी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी कर्णाली प्रदेश समिति संयोजक श्याम कुँवर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका कर्णाली प्रदेश समिति अध्यक्ष दीपकबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माले)का कर्णाली प्रदेश समिति सचिव बलबहादुर कुँवरलगायतले एमसीसी देशको हितमा नभएको बताएका छन् ।
यो पनि – कांग्रेस महाधिवेशन उद्घाटन समारोह : कम्युनिष्ट नेताहरू ओली, दाहाल र नेपाल एउटै मञ्चमा
राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली कांग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ । पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेका मुलुकका ठूला बामपन्थी दलका नेताहरू आज कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै मञ्चमा देखिएका छन् । खासगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन र त्यसपछि नेकपा (एमाले)को विभाजनपछि कम्युनिष्ट पार्टीका नेताबीच मनोमालिन्य बढेको छ ।

पार्टी विभाजनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकअर्कालाई आलोचना गर्दै आएका छन् । केही दिनअघि मात्र चितवनमा सम्पन्न एमालेको १०आँैँ महाधिवेशनमा पनि अध्यक्ष नेपाललाई बोलाइएको थिएन भने अध्यक्ष दाहाल जानु भएन ।
एउटै मञ्चमा रहनु त परै जाओस् एक अर्काप्रति गालीगलौज र लान्छना लगाउन उद्दत नेतालाई एउटै मञ्चमा रहने सुवर्ण अवसर कांग्रेसले जुटाइदिएको भन्न सकिन्छ । सङ्घीय संसद् विघटन गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको कदमपछि पार्टीभित्र गम्भीर मतभेदका कारण तत्कालीन नेकपा भित्र पुष्पकमल दाहाल र माधवकुमार नेपालले सडक आन्दोलनमा उत्रनुभएको थियो ।

सर्वाेच्च अदालतले सदन पुनःस्थापनको निर्णय सुनाएपछि बेग्लावेग्लै पार्टीका अध्यक्ष बन्न पुगेका नेताहरू यसबीचमा एक अर्कालाई खुइल्याउन नै व्यस्त रहेका कारण एउटै मञ्चमा रहने बस्ने अवसर मिलेको थिएन । कांग्रेसका यस महाधिवेशनले ती बामपन्थी नेतालाई एउटै मञ्चमा रहने अवसर जुटाएको छ । कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा ती तीनै जना नेता एकसाथ मञ्चमा देखिँदा धेरैले चासोका साथ हेरेका थिए ।

यसैगरी मञ्चमा पछिल्लो पटक विभाजन भएको जनता समाजवादी पार्टी नेपालका नेताहरू पनि एकै मञ्चमा देखिनुभएको छ । जसपा नेपालबाट विभाजित भएर बनेको दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि एकै मञ्चमा देखिँदा सहभागीले चासोका साथ हेरेका थिए । संयोग भन्नुपर्छ कांग्रेस महाधिवेशन उद्घाटनको दिन अन्तर्राष्ट्रिय मानवाधिकार दिवससमेत परेको छ ।
यो पनि – पार्टीको एप सार्वजनिक गर्दै कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन
भृकुटीमण्डपमा आयोजित भव्य समारोहका बीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको एप ‘नेपाली कांग्रेस’ सार्वजनिक गर्दै कांग्रेसको १४औँ महाविधेशनको उद्घाटन गर्नुभएको छ । प्रविधिमैत्री एवं डिजिटल कांग्रेस बनाउने अभियानका साथ कांग्रेसले एप तय गरेको हो । एपमा पार्टीका सबै गतिविधि समेटिएको छ ।
यस्तै दिवङ्गत कांग्रेस नेता खुमबहादुर खड्काको स्मरणमा तयार पारिएको पुस्तकसमेत उद्घाटन सत्रमा सार्वजनिक गरिएको छ । ‘उत्साह, एकता र रुपान्तरण’ भन्ने नाराका साथ कांग्रेसले महाधिवेशनको आयोजना गरेको हो । हजाराँै नेता तथा कार्यकर्ताको उपस्थितिमा सभापति देउवाले महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशाङ्क कोइराला र पूर्णबहादुर खड्कालगायत कांग्रेसका केन्द्रीय नेताको सहभागिता छ । महाधिवेशनको सफलताको शुभकामना दिनका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेल उपस्थित हुनुहुन्छ ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पनि महाधिवेशनस्थलमा उपस्थिति छ । भारतबाट भारतीय जनता पार्टी र कङ्ग्रेस आईका प्रतिनिधि आउनुभएको छ । आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहितका पदाधिकारी र १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । कोषाध्यक्ष भने केन्द्रीय समितिले चयन गर्नेछ ।
यो पनि – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भव्य समारोहबीच भृकुटीमण्डपमा उद्घाटन
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन गर्नुभएको छ । काठमाडौँको भृकुटीमण्डप प्राङ्गणमा आयोजित भव्य समारोहका बीच उहाँले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । समारोहको मुख्य मञ्चमा कांग्रेसका शीर्ष नेतासँगै अन्य राजनीतिक दलका प्रमुख तथा विदेशबाट आउनुभएका अतिथिहरु उपस्थित हुनुहुन्छ । कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएको भए पनि पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्तरुपमा आएका सहभागीले भृकुटीमण्डप भरिभराउ छ ।
उद्घाटन अघि पार्टीका संस्थापक र अग्रज नेताका तस्वीरमा माल्यार्पणका साथै मुलुकमा लोकतन्त्र स्थापनाका लागि बलिदान दिने ज्ञातअज्ञात शहीदको सम्मानमा मौनधारण गरियो । सहभागीलाई सजिलोका लागि मञ्चका गतिविधि बाहिर देखिने गरी भृकुटीमण्डपबाहिर पाँच ठूला डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मुख्य मञ्चको दाहिनेतिर छुट्टै स्टेज बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ । यस महाधिवेशनमा ‘उत्साह, एकता र रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन’ नारा तय गरिएको छ ।
मञ्चको पृष्ठभूमिमा नेपालको नयाँ नक्साभित्र पार्टीका संस्थापक एवं नेता बिपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिर अङ्कित प्रचार लोगो राखिएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दलको महाउत्सवलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ ।
महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ । महाधिवेशनमा विभिन्न जातजाति वेषभूषा झल्कने नृत्यसहितका झाँकी प्रदर्शन गरिएको छ । सो क्रममा धिमे नाँच, मगर, गुरुङ, लिम्बू, थारु, भोजपरी, मैथली, खस आर्यका नाच प्रदर्शन गरिएको छ ।
यसैगरी महाधिवेशनका उम्मेदवारका व्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । महाधिवेशनमा भूपू सैनिक सङ्घका स्वयंसेवकले सहभागीको भीड व्यवस्थापन गरेका छन् । नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।
महाधिवेशनस्थलमा उम्मेदवारले आफ्नो प्रचारका लागि भिजिटिङ कार्ड, पम्पलेट वितरण गर्नुका साथै मतदातालाई आफ्नो पक्षमा आकर्षण गर्न विभिन्न कार्यक्रम गरिहेको देखिन्छ । नेता कार्यकर्तामा हार्दिकता साटासाटा गरेको देखिन्छ । प्रवेशद्वार नजिकै स्वास्थ्य समिति र मिडिया सेन्टर स्थापना गरी आवश्यक सेवा प्रदान गरिएको छ । प्रदर्शनी क्षेत्रमा नेता तथा कार्यकर्ता र शुभचिन्तकको भिडले खचाखच भरिएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कार्यक्रम सञ्चालन गरिरहनुभएको छ । महाधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस एक भएर अघि बढेको हेर्न चाहेको प्रतिक्रिया दिनुभएको छ । यसअघि समारोहमा कांग्रेस काठमाडौँका सभापति कृष्ण बाँनिया (सवुज)ले महाधिवेशनमा आउनुभएका नेता तथा कार्यकर्ता र पाहुनालाई स्वागत अभिवादन गर्नुभएको थियो । उहाँले नेपाली कांग्रेस जुन उद्देश्यले स्थापना भएको त्यो लक्ष्य प्राप्तिमा यस महाधिवेशनले शक्ति प्रदान गर्ने उहाँले बताउनुभयो ।
यसैबीच, महाधिवेशनको बन्द सत्र शनिबार भृकुटीमण्डपको हलमा हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते विहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते विहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया