पार्टीलाई भरोसाको केन्द्र बनाउन आन्तरिक लोकतन्त्र बलियो हुनुपर्छ ः वरिष्ठ नेता पौडेल

पार्टीलाई भरोसाको केन्द्र बनाउन आन्तरिक लोकतन्त्र बलियो हुनुपर्छ ः वरिष्ठ नेता पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक लोकतन्त्रलाई बलियो र संस्थागत गरेर लैजान सकिएमा मात्र कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सकिने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले नेता तथा कार्यकर्तामा लोकतान्त्रिक आदर्श, निष्ठा र नैतिक शक्ति अभिवृद्धि गरी स्वच्छ निर्वाचन र प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । वरिष्ठ नेता पाौडेलले भन्नुभयो, “के कारण कम्युनिष्टभन्दा कांग्रेसमा कमजोरी र पछाडि प¥यो त्यसको समीक्षा गरिनुपर्छ । निमुखाको न्याय हराएको छ, पार्टीमा भ्रष्टाचार, अनुशासन र नैतिकता कायम गर्न आवश्यक छ ।”

गौरवशाली इतिहास, सिद्धान्त र सङ्गठन भएको कांग्रेसले आफ्नो एजेण्डाका माध्यमद्वारा प्रतिपक्षीलाई आगामी निर्वाचनमा पराजय गर्न सकिने उहाँँले उल्लेख गर्नुभयो । वरिष्ठ नेता पौडेलले गाउँमै रोजगारी दिने विकासको मोडेल आवश्यक रहेको बताउँदै त्यसका लागि राजनीतिमा सुधारको खाँचो छ भन्नुभयो । हाम्रो भविष्यको बाटो तय गर्न र पार्टीलाई सफल बनाउन सबै लाग्नुपर्ने उहाँको जोड थियो । पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन आन्तरिक लोकतन्त्र आवश्यक रहेको नेता पौडेलको भनाइ थियो ।

यो पनि – संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको विजय आवश्यक छ ः उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा विजयी हुनुपर्ने बताउनुभएको छ ।  पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै आज उहाँले आगामी निर्वाचनमा कांग्रेसको एकमना सरकार बनाउन पार्टी बलियो हुनुपर्ने र त्यसका लागि नेतृत्व लाग्नुपर्नेमा जोड दिनुभयो । उपसभापति निधिले कांग्रेसको नेतृत्वमा मुलुकको द्वन्द्व समाधान भई शान्ति प्रक्रिया कायम भएको, राज्यको पुनसंरचना गरिएको र संविधानसभाबाट संविधान जारी गरिएको विषयलाई कांग्रेसले गौरवका साथ आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “१४औँ महाधिवेशनमा सकेसम्म सर्वसम्मतबाट नेतृत्व चयन गरौँ, नसके स्वच्छ प्रतिस्पर्धा गरौँ”, उहाँले भन्नुभयो ।

अर्का उपसभापति विजयकुमार गच्छदारले कांग्रेसभित्र मेलमिलाप र एकता भएन भने कम्युनिष्टसँग मुकाविला गर्न नसक्ने बताउनुभयो । उहाँले कांग्रेस एक भए मात्र आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीलाई परास्त गर्न सकिनेमा जोड दिनुभयो । उहाँले पार्टीका नेताबीच प्रतिशोधपूर्ण प्रतिस्पर्धा नभई एकता कायम हुनुपर्ने उल्लेख गर्नुभयो । “विगतमा कांग्रेस विभाजन भएसँगै मुलुकको प्रजातान्त्रिक व्यवस्था लथालिङ्ग र उथलपुथल बन्न पुग्यो, अब हामी एक भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र केन्द्रदेखि वडासम्म एकता कायम राख्नुपर्ने बताउनुभयो । उहाँले पार्टीमा भावनात्मक एकता र युवामा ऊर्जा निर्माण गर्नु आजको आवश्यकता रहको उल्लेख गर्नुभयो । “लोकतान्त्रिक शासन व्यवस्था र यसको मूल्यमान्यतामाथि चुनौती देखिएको छ, आगामी निर्वाचन कांग्रेस सरकारको नेतृत्वमा निष्पक्ष र स्वतन्त्र बनाएर विद्यमान चुनौतीलाई पन्छाउनुपर्छ, त्यसका लागि परिवर्तन र सुधार आफैँबाट गरेर जनतामा जानुपर्छ”,उहाँले भन्नुभयो ।

यो पनि – ‘तीन तहका निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री डा शशाङक कोइरालाले पार्टीका सैद्धान्तिक लडाईँ सकिएकाले मुलुकमा ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति अवश्यक रहेको बताउनुभएको छ । कांग्रेस १४औँ महाधिवेशनको उद्घाट्न समारोहमा आज उहाँले धर्म निरपेक्षता र सापेक्ष नभई स्वतन्त्र हुने बताउँदै आगामी दिनमा कृषिमा बजेट विनियोजन बढाउँदै मुलुक समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अर्का महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेसको नेतृत्वमा जारी भएको संविधानअनुसार पार्टीको विधान बनाई सङ्घीय संरचना अनुसारका पार्टीको तहको निर्वाचन सम्पन्न भइ महाधिवेशनसम्म आइपुगेको बताउनुभयो ।

विगतको सरकारले गरेका लोकतान्त्रिक र संविधान विपरितका क्रियाकलापलाई सुधार गरी संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आइपुगेको उहाँको भनाइ थियो । उहाँले आगामी छ महिनापछि हुने तीन तहका निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

कोषाध्यक्ष सितादेवी यादवले विपीजस्ता महामानव र गणेशमान सिँहजस्ता त्यागीको इतिहास रहेको नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई एकताको महाधिवशेन बनाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “एकता र उत्साहपूर्वक सम्पन्न गर्ने पार्टी कार्यकताको भावना अनुरूप यस पटक कुनै पदमा उम्मेदवारी नदिने तर पार्टी र जनताका सेवामा म निरन्तर लागि रहने छु ।” नेताहरूको सम्बोधन गर्ने क्रम जारी छ ।

यो पनि –

कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक हो ः सहमहामन्त्री डा महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस लोकतान्त्रिक आन्दोलनको बाहक भएको बताउनुभएको छ ।पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै डा महतले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्नका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने बताउनुभएको हो । “लोकतान्त्रिक मूल्य मान्यतालाई कांग्रेसले जीवनपद्धतीका रुपमा अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

सहमहामन्त्री डा महतले जनताको हक अधिकारका लागि लडेको पार्टीको १४औँ महाधिवेशनले नयाँ ऊर्जा कांग्रेसलाई दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्र भएको कमी कमजोरीलाई सच्चाएर अगाडि बढाउनुपर्ने बताउनुभयो ।अर्को सहमहामन्त्री सुनिलबहादुर थापाले समृद्ध नेपाल कांग्रेसको नेतृत्वमा मात्र सम्भव भएकाले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेको बताउनुभयो । “कांग्रेसको चारतारे झण्डामुनी बसेर समाजवाद खोज्न म कांग्रेस भएको हुँ”, उहाँले भन्नुभयो ।

उहाँले मुलुकमा हुन लागेको तीनै तहको निर्वाचनमा कांग्रेसलाई सुविधाजनक बहुमत दिलाउनका लागि सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । राजधानी काठमाडौँबाट फर्केलगत्तै गाउँगाउँमा पुगेर कांग्रेस बलियो बनाउन सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।