आगामी सरकार कांग्रेसकै हुन्छ, त्यो मेरो जिम्मेवारी हो : सभापति देउवा

आगामी सरकार कांग्रेसकै हुन्छ, त्यो मेरो जिम्मेवारी हो : सभापति देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले मुलुकमा हुने आगामी निर्वाचनमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधनका क्रममा उहाँले आउँदो सरकार कांग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै उक्त जिम्मेवारी आफ्नो भएको विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “आफ्नो सरकार गठन हुनुअघि मुलुकमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भएलगत्तै जनताले ओली (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को शासनबाट मुक्ति पाए । पाएको मुक्ति बचाउने हो कि होइन महाधिवेशनले तय गर्नेछ । आउँदो सरकार कांग्रेसको हुन्छ त्यो मेरो जिम्मेवारी हो । आगामी निर्वाचनमा पार्टीमा कुनै समस्या नआओस् ।”

स्थानीय र सङ्घीय सरकार कांग्रेस कै हुने नेता कार्यकर्तालाई आश्वस्त पार्दै उहाँले त्यसका लागि एकपटक आफूलाई जिताउन आग्रह गर्नुभयो । “डर त्रास मुक्त शासन व्यवस्था ल्याइन्छ, ल्याइन्छ, मलाई साथ दिनुस्”, प्रधानमन्त्री देउवाले भन्नुभयो ।

यो पनि – कांग्रेस महाधिवेशन : सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्राथमिकता

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनसत्रमा शीर्ष नेताको सम्बोधन र तस्वीरले राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उच्च स्थान पाएका छन् । आमरुपमा राजनीतिक विषयमा चासो हुने नेपाली समाजमा बहुप्रतिक्षीत कांग्रेसको यस महाधिवेशनको उद्घाटनसत्रलाई मध्यान्हदेखि साँझसम्म नै विभिन्न राष्ट्रिय टेलिभिजन र अनलाइन सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए भने चिसो समयकाबीच भृकुटीमण्डपमा सहभागी प्रतिनिधि र कार्यकर्ता धैर्यपूर्वक अन्तिम समयसम्म बसेका थिए ।

यसअघि यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको नेकपा ९एमाले०को महाधिवेशनलाई पनि सञ्चारमाध्यमले उच्च महत्व दिएका थिए । यसबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सम्पन्न भइसकेकाले कांग्रेसको महाधिवेशनप्रति आम चासो बढेको थियो । पटकपटक मिति सर्दै आज उद्घाटन हुन सफल भएकाले पनि मुलुकको एक प्रमुख र पुरानो पार्टी कांग्रेसको महाधिवेशनलाई महत्वका साथ हेरिएको छ । सो पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गरिएको समारोहमा नेताका शुभकामनाका साथै बीचबीचमा सांस्कृतिक प्रस्तुति गरिएको थियो भने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले ‘बोल्ड’ शैलीमा कार्यक्रमको सञ्चालन गरेर स्वदेशी र विदेशी अतिथि एवं पाहुनालाई स्वागत गर्नुभएको थियो ।

समारोहमा महामानव विपी कोइरालाको ‘गाउँका जनताको हित नै समाजवाद…’ भन्ने ‘रेकर्डेड’ स्वर प्रस्तुतिसहित देखाएको नाटकको दृष्य फोटो पत्रकारका क्यामरामा कैद भएको थियो । सभापति देउवाले पार्टीभित्रको प्रतिस्पर्धाको मनोमालिन्यताबाट मुक्त रहेर आगामी निर्वाचनमा पार्टीले जित हासिल गर्ने र त्यसका लागि आफूलाई सभापतिमा पुनःविजयी गराउन आह्वान गर्दा कार्यकर्ताले पार्टीका पक्षमा नारावाजी गरेको दृष्य पनि हेर्न लायक थियो ।

उद्घाटनसत्रमा मुलुकका अधिकांश पूर्वप्रधानमन्त्री र केही समयअघि नेकपाबाट विभाजित कम्युनिष्ट पार्टीका नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल एकै मञ्चमा सहभागी हुनुभएको र उहाँहरूले एकापसमा कसरी अभिभावदन गर्नुभयो भन्ने हाउभाउ र तस्बिर पनि लोकप्रिय दृष्य हुन पुगेका छन् । विभाजित भए पनि सबै कम्युनिष्ट पार्टीका नेता तथा कांग्रेसका नेताले मुलुकका सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सवल बनाउनुको विकल्प नभएकामा समान मत व्यक्त गर्नुभयो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेलले राजतन्त्र फर्काउनुपर्ने प्रस्ताव गर्नुभयो ।

प्रमुख प्रतिपक्षमा रहेर पनि देशको विकास, राष्ट्रियता, लोकतन्त्र, न्याय र समानताका प्रश्नमा नेपाली कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको एमालेका अध्यक्ष ओलीको कथनलाई फरक महत्वका रूपमा सञ्चारमाध्यमले हेरेका छन् । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष दाहालको मञ्चमा उपस्थित पूर्वप्रधानमन्त्री एकले अर्कोलाई प्रधानमन्त्री बनाएका पूर्वप्रधानमन्त्री भएको र यसबाट नेपाली राजनीतिको फरक संस्कार सिक्न भातरीय पाहुना नेतालाई आग्रह गर्नुभयो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धी दलसँग प्रतिस्पर्धा गर्न सक्षम पार्टी बनाउन जोड दिँदै महाधिवेशन समयमा हुन नसकेको र पार्टीभित्र नीतिगत बहश नभई विधि पु¥याउने काम मात्रै भएको सन्दर्भलाई चुनौतीका रुपमा ब्याख्या गर्नुभयो ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको नेतृत्वमा सकेसम्म सहमति गर्न र अन्यथा आफू पनि उम्मेदवार रहेको जनाउ दिएका भनाइले समाचारमा स्थान पाएको छ । अर्का उपसभापति विजयकुमार गच्छदारले आफू र कांग्रेसको जीवनको आरोह अवरोहलाई स्मरणसहित भावुक हुँदै ‘जय नेपाल’ को अभिभावदन गर्दै कम्युनिष्टसँग मुकाविला गर्न पार्टीभित्रका शीर्ष नेतालाई एकताबद्ध हुन आह्वान गर्नुभएको विषयले पनि समारोहमा महत्व पायो ।

महामन्त्री डा शशाङ्क कोइरालाले भने पार्टीमा नीतिगत छलफल पनि हुनुपर्नेमा जोड दिँदै संविधानमा राखिएको ‘धर्मनिरपेक्ष’को साटो ‘धर्म स्वतन्त्र’ शब्दावली हुनुपर्ने आग्रह गरेको विषयले पनि स्थान पाएको छ । शुभकामना मन्तव्यकै क्रममा नेता कृष्णप्रसाद सिटौलाले आफ्नातर्फबाट युवा नेता प्रदीप पौडेललाई आगामी नेतृत्वमा अघि सारेको र कोषाध्यक्ष सीतादेवी यादवले आफू अब पार्टीमा कुनै पनि पदमा निर्वाचन नलड्ने घोषणाले पनि समाचारीय महत्व पाएको देखिएको छ ।
–––