यस्तो छ कांग्रेसको निर्वाचन प्रक्रिया

यस्तो छ कांग्रेसको निर्वाचन प्रक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । आज बिहान भृकृटीमण्डपमा १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय गरिएको छ । मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट कांग्रेसले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ ।

कांग्रेसको महाधिवेशन शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन भएको थियो । गएराति नै सुरु भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश भई बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ । –

यो पनि – कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार मनोनयन दर्ता हुँदै

काठमाडौँ, २५ मङ्सिर (रासस) ः नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ ।

मनोनयन दर्ता गर्न सभापतिका लागि रु ३० हजार, उपसभापति र महामन्त्रीका लागि रु २५ हजार, सहमहामन्त्रीका लागि रु २० हजार र केन्द्रीय सदस्यको १० हजार दस्तुर निर्धारण गरिएको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो । मनोनयनका लागि लाग्ने रकम महाधिवेशन स्थल भृकुटीमण्डपमा नै प्रभु बैंक अस्थायी रुपमा स्थापना गरेर समितिको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते विहान ८ बजेदेखि हुनेछ ।

पार्टीको संस्थापन समूह र संस्थापन इतर समूहले प्यानलगत रुपमा उम्मेदवारी दिने बताइएको भए पनि अहिलेसम्म प्यानल घोषणा गरिएको छैन् । हालसम्म केन्द्रीय सभापतिमा प्रधानमन्त्री एवं वतर्मान पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महमन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइराला मुख्य आकांक्षी देखिनुभएको छ । अन्य पदाधिकारी तथा सदस्यमा भने नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

मतदान भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुने जनाइएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने विधानको व्यवस्था छ ।

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधीको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो । यस अघि शुक्रबार भृकुटीमण्डपमा भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन भएको थियो । उद्घाटन सम्पन्न भएपछि शुक्रबार नै राति ९ बजे भएको बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेश गरिएको थियो ।