पर्वतमा विपन्नलाई न्यानो कपडा वितरण अभियान

पर्वतमा विपन्नलाई न्यानो कपडा वितरण अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिसो मौसमबाट प्रभावित परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको छ । जिल्लामा सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउट ट्रपको संयुक्त आयोजनामा न्यानो कपडा वितरण गर्न थालिएको हो । शुक्रबारदेखि बजारका उद्योगी, व्यवसायी तथा अन्य बासिन्दासँग पुराना र सफा कपडा सङ्कलन गर्ने र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्ने अभियान थालिएको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल निर्जनले बताउनुभयो ।

शुक्रबार पहिलो दिन झण्डै चार बोरा कपडा सङ्कलन गरिएको छ । सिरक, डसना, स्वीटर, ब्लाङ्केट, टाउजर, ट्रयाकसुट, जुत्ता, मोजालगायत लगाउने र ओढ्ने ओछ्याउने कपडासमेत सङ्कलन गरिएको छ । सङ्कलित कपडा आज सदरमुकामको मैत्रीचोकस्थित मेघा बैंक नजिकैबाट वितरण गरिने भएको छ ।

जो आफैँ किनेर न्यानो लुगा लगाउन र न्यानो ओछ्यानमा सुत्न सक्दैनन् उनीहरुका लागि यो अभियानले ठूलो सहयोग पुग्ने कुश्मा नगरपालिका–७ का अध्यक्ष सुवासचन्द्र पौडेलले बताउनुभयो । यो अभियानमा उक्त वडाको पनि सहकार्य रहेको छ । जाडो महिना सुरु भएपछि विपन्न, दलित, र मजदुरका परिवार प्रभावित हुने गरेका छन् ।

न्यानो कपडा सङ्कलन तथा वितरण अभियान जाडो यामभरि निरन्तर सञ्चालन गरिने भएको छ । पहिलो चरणमा सदरमुकाम र त्यसपछि पालिकास्तरमा पुगेर सङ्कलन तथा वितरण गरिने भएको छ । अभियानमा उद्योगी, व्यवसायी तथा बजारवासी नागरिकले स्वतःस्फूर्तरुपमा पुराना तथा सफा र पुनः प्रयोग गर्न सकिने कपडा सहयोग गरेको क्लबले जनाएको छ ।

यो पनि – दुई वर्षपछि अन्तुपोखरीमा डुङ्गा सञ्चालन

पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालनमा आएको छ । दुई वर्षदेखि रोकिएको डुङ्गा सञ्चालन पुनः सुरु गरिएको हो । कोरोना महामारीसँगै नगरपालिका र डुङ्गा सञ्चालकबीच केही समस्या उत्पन्न भएपछि अन्तु पोखरीमा डुङ्गा सञ्चालन हुन् छोडेको थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पोखरीमा पहिलोपटक नगरपालिका आफैँले डुङ्गा सञ्चालनमा ल्याएको हो । श्रीअन्तु पुगेपछि सूर्योदय र सूर्यास्तको दृश्यसँगै आन्तरिक तथा बाह्य पर्यटकको अर्को रोजाइ डुङ्गा सयर हुने गरेको छ ।

हाल पोखरीमा तीनवटा डुङ्गा सञ्चालन थालिएको नगर प्रमुख रणबहादुर राईले बताउनुभयो । बाहिरबाट आउने पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गरिएको बताउँदै नगरप्रमुख राइले भन्नुभयो, “अन्य पर्यटकीयस्थलसँगै अन्तुपोखरीमा डुङ्गा पनि थप गरिएको छ ।”

प्रमुख राईका अनुसार पर्यटनका विभिन्न क्षेत्रको पूर्वाधार विकास गर्ने क्रममा नगरपालिकाले पोखरीमा डुङ्गा सञ्चालनमा रकम विनियोजन गरिसकिएको छ । पर्यटकबाट एक पटक डुङ्गामा चढेर पोखरी फन्को लगाएको रु ५० शुल्क लिइने छ । डुङगा चढ्नलाई १५ थान लाइफ ज्याकेट पनि व्यवस्था गरिएको छ ।